• १४ बैशाख २०८१, शुक्रबार
  • ०४:४१:४६

Now:

Next: शुभारम्भ धुन

प्रविधिले खोसियो बर्खे रोजगारी

मिनीटेलरको प्रयोगले देखिन छोडे हलो बोक्नेहरु

असारको अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो । ठुलो फाँट, धेरै उपभोक्ता भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको फाँटमा नारिन्थे । तर अहिले दम्कको फाँटले कमै गोरु हलीको मुख देखेको छ । दम्कको फाँटमा एक हल गोरुमात्रै नारेर हिलो पार्नहुन्न भन्ने मान्यता छ ।

केहि बर्ष पहिला खुलेको कालीगण्डकी करिडोरको ट्रयाकले पहिलो पटक दम्कको फाँट जोतेर जिवन गुजार्ने किसानको भाग खोस्यो । गोरु पाल्नेहरुले दैनिक ज्याला लिएर गोरु दिन्थे, हली जानेले ज्याला पाउँथे । कालीगण्डकी करिडोरको ट्रयाक खुलेपछि गोरुको काम आधुनिक ट्रयाक्टरले गर्न थाले ।

हलीको काम गर्ने ड्राईभर भए । हिजो काँधमा हलो राखेर दैनिक ज्यालाका लागि हिँड्नेहरु अहिले कोदाली बोकेर हिँड्छन् । दम्कको फाँट मात्रै होईन जिल्लाका सबै ठुला फाँटहरुमा गोरु नारेर जमिन कोतर्ने काम लगभग देख्नै छोडिएको छ । पश्चिमका केही स्थानीय तहबाहेक घर–घरमै गोरु पालेर खेती गर्ने परिपाटीमा परिवर्तन आएको बलेवाका स्थानीय भवानी प्रसाद शर्मा बताउँछन् ।

बडिगाड गाउँपालिका–९ काभ्रेखर्कका पुर्नराम लम्साल बर्षाको सिजनमा मात्रै ४५ दिनसम्म हलो बोक्थे, खेत जोत्नमा माहिर उनले दश बर्ष पहिलासमेत दिनको एक हजार ज्याला लिने गरेको स्थानीय राम सुवेदीको अनुभव छ । उनी त अहिले बुढ्यौलीले काम गर्न नसक्ने भए तर उनीजस्तै हलोको सहारामा जीवन गुजारेकाहरुको भने आधुनिक प्रबिधिले रोजगारी खोसेको छ ।

बागलुङका बलेवा, गलकोट, खौलारा, बेलबगरजस्ता केही फाँटहरुमा ट्याक्टरको प्रयोग हुने गरेको छ । साना र साँघुरा खेतबारीका पाटासमेत जोत्न मिल्ने मिनीटेलर हलोको प्रयोग बढेकाले परम्परागत खेती प्रणालीमा आवश्यक गोरु र हलीको माग घटेको कृषि प्राबिधिक रबिन्द्र शर्मा बताउँछन् ।

कृषिमा आधुनिक प्रबिधि भित्रिएसँगै परम्परागत प्रबिधिमा आधारित किसानहरु सोहीअनुसार परिवर्तित हुनुपर्ने उनको सुझाव छ । जिल्लामा कति जना गोरु नारेर जिविका चलाउने पेशामा आवद्ध छन् भन्ने तथ्यांक भने कसैसँग छैन् । जिल्लामा झण्डै चार सय मिनीटेलर वितरण भैसकेको अनुमान कृषि ज्ञान केन्द्र पर्वतको छ ।

चालु आर्थिक बर्षको पछिल्लो महिनाको काम चलिरहेकाले अहिले नै तथ्यांक आईनसके पनि ४ सयभन्दा धेरै किसानले हलो प्रयोगमा ल्याएको ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए । बिभिन्न पकेट, व्लक कार्यक्रम, कृषि आधुनिकीकरण कार्यक्रम र स्थानीय सरकार तथा कृषक समुह आँफैले खरिद गरेरसमेत मिनीटेलरको प्रयोग बढाएको उनले बताए । मिनीटेलरको प्रयोग बढेसँगै गोरु पाल्नेहरुको संख्यामा पनि कमि आएको ज्ञान केन्द्रको बुझाई छ । मिनीटेलरले जोत्दा धेरै जमिन एकै दिनमा जोत्न सकिने भएकाले पनि यसको प्रयोग बढेको हो ।

रोपाईको समयमा खेतको छेउकुना सबै बाँझो मेटेर हिलानुपर्छ । त्यसका लागि प्रसस्त बाउसेहरुको अवश्यकता हुन्थ्यो । तर, मेसिनको प्रयोगले छेउकुनाको बाँझोसमेत कम हुने भएकाले बाउसेको माग घटेको छ । ‘धेरै खेतीपाती हुने तर काम गर्ने मान्छे नभएकाले खेतीपाती नभएकालाई काम दिन्थे’ बागलुङ नगरपालिका–१४ नारायणस्थानका कृष्ण शर्माले भने ‘मेसिन आएपछि खेती नभएकाले सिजनमा पाउने रोजगारी खोसिएको छ ।’

हिउँदमा ज्याला मजदुरी गरी बर्षामा खेतीपातीको काममा लाग्ने मजदुर समुदाय सबैभन्दा धेरै प्रभावित भएका छन् । विकल्पको पहिचान गर्न नसक्दा र रोजगारीका प्रसस्त सम्भावना नभएका कारण आँफुहरु मर्कामा परेको कृषि मजुरहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै