• १२ बैशाख २०८१, बुधबार
  • १४:५९:०७

Now: संगित सरगम

Next: नेपाल खवर

तामानखोलामा अझैपनि सूचना आदानप्रदानको लागि कटुवालकै सहारा

बागलुङ । अहिले अधिकांश मान्छेको हात–हातमा मोवाइल पुगिसकेको छ । तर, बागलुङको दुर्गम तामानखोलावासीलाई भने अझै पनि पुरानै सञ्चारको तरिका अपनाइरहेका छन् । सञ्चार सुविधा पनि नभएको होइन । तर, सूचनाका लागि परम्परागत मुखिया र सूचना आदानप्रदानको लागि कटुवालकै सहारा लिने गरिन्छ ।

गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हट्न नसकेको स्थानीयको भनाइ छ । वर्षौंदेखि कटुवालको काम गरी रहेका स्थानीय रूपलाल बुढामगरले कटुवालप्रथाप्रति स्थानीयको बिश्वास बढेकाले छाड्न नसकेको बताउनुभयो ।

चार वर्ष पुगेपछि नयाँ कटुवाल चयन गर्ने गाउँलेकै नियम छ । कटुवालको मुख्य काम भनेको सूचना प्रवाह गर्ने हो । रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेको कान–कानमा सूचना पुर्‍याउने गर्दछन् ।

सार्वजनिक सूचना दिनको लागि गाउँको डाँडामा पुगेर कराउने गरिन्छ । त्यसैको आधारमा गाउँलेहरू कार्यक्रम, बैठक र सभाहरूमा सहभागी हुन्छन् । तमान गाउँमा ३ सय ७४ घरधुरी छन् । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउनुहुन्छ ।

मुखियाले दिएको आदेश अनुसार नै कटुवालले गाउँलेलाई सूचना दिने गरेका छन् । ललित घर्ती मगर अहिले गाउँका मुखिया चुनिएका छन् । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा कटुवाल पनि खुसी छन् । कटुवालले वर्षभरी सूचना प्रवाह गरे बापत एक घरबाट २ सय रुपैयाँ प्राप्त गर्छन् । ३ सय ७४ घरधुरी रहेको तमान गाउँबाट कटुलालले हरेक वर्ष ७४ हजार ८ सय रुपैयाँ कमाउँछन् ।

तमान गाउँका गाउँलेहरूले चुनेर बनाएको व्यक्ति हो मुखिया । मुखियाले गाउँको नेतृत्व गर्छ । गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको लागि काम गर्छ । तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगरले तमान गाउँका ३ सय ७४ घरधुरीको अगुवाइ गरेका छन् । जनप्रतिनिधि जस्तै काम गर्ने भएकाले उनले भने कुनै पारिश्रमिक लिने गरेका छैनन् ।

गाउँमा भएका विसङ्गतीलाई हटाएर सू–सुचित गाउँ निर्माणमा मुख्य भूमिका हुने मुखियाको कार्यकाल ४ वर्षको हुन्छ । पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले मुखियाले पनि गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै