• १३ बैशाख २०८१, बिहीबार
  • २३:४३:०४

Now:

Next:

बन्जी खुलेपछि अकासियो जग्गाको मुल्य

बागलुङ । भीरको छेउछाउ घाँसदाउरा गर्न पनि डर लाग्ने बाँझो । खेती लगाए पनि बाँदरले सिध्याउने उस्तै डर । बागलुङ नगरपालिका–१४ का नेपाने, कैया, नारायणस्थान अनि कालीगण्डकी नदी छेउका भीरपाखामा अचेल जग्गाको मूल्य अकासिएको छ ।

‘टाढाबाट आएर महँगो तिर्न तयार हुन थालेकाले धमाधम जग्गा खरिदबिक्री भइरहेको छ,’ स्थानीय मधुदेवी बस्नेतले भनिन्, ‘पहिला रोपनीको १ लाख नआउने ठाउँमा अहिले आनाकै ४ लाखमा बिक्री भइरहेको छ ।’ यहाँ नेपालकै अग्लो झोलुंगे पुल बनेको छ । बागलुङ र पर्वतका व्यवसायीले यान्त्रिक पुल बनाएका छन् ।

गत वर्षदेखि नेपानेकै डिलमा बन्जीजम्प चलेको छ । बन्जीजम्प चलाएको द क्लिफ कम्पनीले नेपानेमा मात्रै झन्डै एक सय रोपनी जमिन किनेर रेस्टुरेन्ट र आकर्षक खेल सञ्चालन गरेको छ । दैनिक सयौं पर्यटक आउन थालेपछि प्रायः स्थानीयले नजिकै रेस्टुरेन्ट र भ्यु पोइन्ट बनाउन थालेका छन् ।

कम्पनीले एक सय जनालाई बस्नेखाने व्यवस्था भएको होटल र रिसोर्ट पनि चलाएको छ । ‘पहिला खरबारी थियो, अहिले मानिसको भीड बढ्न थालेपछि भ्यु पोइन्ट र रेस्टुरेन्ट खोल्न छोराहरूले लगानी गरेका छन्,’ स्थानीय हेमबहादुर जीसीले भने, ‘विदेश जान खुट्टा उचालेका थिए, अहिले यहीँ केही गरौं भन्दै छन् ।’ विदेश जान लाग्ने लगानी गाउँमै लगाउने योजना उनीहरूले बुनेको उनको भनाइ छ ।

जैमिनी नगरको कुश्मीसेरादेखि सयौं लिटर दूध नेपाने र पर्वतको कुस्मा बजारमा बिक्री हुन थालेको छ । दूध बेचेर स्थानीय किसान मासिक १५ देखि १८ हजार रुपैयाँसम्म कमाउन सफल भएका छन् । पुल बनेपछि फेरिएको नयाँ रुटमा रोजगारीको अवसर पनि बढेको छ ।

अग्लो पुल बनेपछि बागलुङको अमलाचौर, नारायणस्थान, कुश्मीसेरा, पैयुँपाटा, बिनामारेलगायतका किसानले उत्पादन गर्ने तरकारी र दूधले सहज पहुँच पाएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । कैयामा रमणीय होटल र रेस्टुरेन्ट निर्माण भएका छन् । अग्लो पुलको छेउमा भएकाले रमणीय दृश्य हेर्दै खाजा खाने पनि बढेका हुन् ।

‘सवारी अभाव, पैदल बाटो अप्ठ्यारो र लामो भएकाले समयमा उपचार गर्न पनि कठिन थियो,’ नारायणस्थानकी अनिता ढकालले भनिन्, ‘अहिले रातसाँझ भन्ने समस्या छैन ।’ बलेवा विमानस्थल पनि कालोपत्रको तयारीमा छ । त्यसले थप चहलपहल बढाउने खत्रीले बताए ।

भीरछेउका जमिनलाई कतिपयले वनभोजस्थल पनि बनाएका छन् । गत महिना मात्रै उद्घाटन भएको नेपालकै लामो झोलुंगे पुलले पनि बागलुङ नगरपालिका–१ को रामरेखा र पर्वतको पाङमा व्यवसाय बढाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै