• २७ असोज २०८३, मंगलबार
  • ०४:२५:०१

Now:

Next: शुभारम्भ धुन

कृषि श्रमिक अभाव बढ्दै

चरनक्षेत्रमा कृषि श्रमिक केशव परियार । तस्बिर : हरिकृष्ण शर्मा

मुस्ताङ। बागलुङ जिल्ला निसीखोला गाउँपालिकाका केशव परियार रोजगारीको खोजीमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका छुङ्गरमा पुगेको आठ महिना भयो ।

आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरीको शिक्षादीक्षा, घरखर्च चलाउन मुस्किल भएर होटेल तथा रेस्टुरेन्टमा काम खोज्दै मुस्ताङ आएका परियारलाई च्याङ्ग्रापालक कृषकले मासिक २० हजार रुपियाँ तलब र खान बस्न सुविधा दिएपछि अहिले च्याङ्ग्राको बथानसँगै दिनचर्या बित्ने गरेको थियो । 

घरमा श्रीमती, तीन छोरा, एक छोरी छाडेर उपल्लो मुस्ताङमा आएको केही महिनादेखि उच्च चरनक्षेत्रमा लेक लाग्ने समस्या, बिरामी हुन थालेपछि परियारले गोठालोको जिम्मेवारी छाडेर घर फर्कने मनस्थिति बनाएको बताउनुभयो ।  परियार जस्तै रोल्पाका आकाश बुढाले दुःख अनुसारको कमाइ नभएपछि गोठालो पेसा छाडेर फर्किने सोचमा हुनुहुन्छ ।

गोठालो परियार भन्नुहुन्छ, “उच्च लेकमा पुगेर फर्किंदा लामो समयसम्म बिरामी भएँ, केही साथी वैदेशिक रोजगारीमा जाने भन्दै छाडेर हिँडेका छन् ।” परियार र बुढा प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्ला दुई वर्षको अवधिमा सुविधा कम, स्वास्थ्यलगायतका विभिन्न समस्या देखाउँदै याकचौँरी तथा च्याङ्ग्रापालनमा काम गर्ने गोठालाले छाड्न थालेका छन् ।

मुस्ताङका पशुपालनमा सक्रिय कृषकलाई गोठालाको अभावमा गोठमा भेडाच्याङ्ग्रा, याकनाक र गाईपालनमा सक्रिय कृषक मर्कामा परेका छन् ।  ल्होमन्थाङ गाउँपालिका छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरुङले चरनक्षेत्रमा काम गर्ने गोठालाको चरम अभाव रहेको बताउनुभयो ।

कृषक गुरुङ भन्नुहुन्छ, “आकर्षक तलब दिँदासमेत गोठाला पाइँदैन, विभिन्न बहाना बनाएर जान्छन् । अहिले च्याङ्ग्रापालनमा गोठालाको अभाव बाधक बनेको छ ।” कृषक गुरुङका अनुसार चीनको सिमानासँग जोडिएको समुद्री सतहदेखि चार हजार सात सय मिटरको उचाइमा रहेका च्याङ्ग्रागोठमा काम गर्नेलाई न्यूनतम ३० हजार रुपियाँभन्दा बढी सुविधा दिने गरिएको छ ।

तीन सय भेडाच्याङ्ग्राको बथानलाई दुई जनासम्म गोठाला आवश्यक पर्छ । एउटै कृषकको तीन हजारभन्दा बढी सङ्ख्यामा भेडाच्याङ्ग्राको बथान हुने गरेको अवस्थामा जनशक्ति धेरै चाहिन्छ ।  गोठाला अभावसँगै जलवायु परिवर्तनका कारण हिमपात नहुँदा चरनक्षेत्रमा पर्याप्त घाँस, वन्यजन्तुको आव्रmमणबाट हुने क्षति प्रमुख समस्या रहेको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो । 

कार्यालय प्रमुख डा. अर्याल भन्नुहुन्छ, “अधिकांश गोठको रेखदेख बाहिरी जिल्लाबाट आउनेले गरेका छन् । जनशक्तिको अभावकै कारण पशुपालनमा समेत आकर्षण बढाउन सकिएको छैन ।” मुस्ताङका उच्च लेकमा भेडाच्याङ्ग्रासहित पशुचौपाया गोठालोकै भरमा छाड्ने गरिन्छ ।

होटेल व्यवसायसँगै कृषि र पशुपालनमा म्याग्दी, पर्वत, बागलुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङलगायतका पूर्वी नेपालबाट मजदुरीका लागि आउनेको सङ्ख्या धेरै रहेको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । 

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको अनुदानबाट अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण, जाडोयाममा पोसाकसहित स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको छ । थासाङ, घरपझोङ गाउँपालिकामा भेडापालन तथा वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा भेडाच्याङ्ग्रा र याकपालन गरिन्छ ।  -गाेरखापत्र 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑