• १८ बैशाख २०८१, मंगलबार
  • ०८:५३:४०

Now: देश परदेश

Next: नेपाल खवर

घर छेउमै स्वास्थय परिक्षण गराउन पाएपछि बडिगाडका स्थानीय खुसी

PIC - GTV

गुल्मी । बागलुङको बडिगाड गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ५ स्थित खार माध्यमिक विद्यालयमा सम्पन्न शिविरको प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संयोजन गर्नुभएको हो ।

सांसद शर्माले देशका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आउनुभएको छ । सोही अभियान अन्तर्गत ५३ औँ जिल्लाको रुपमा बागलुङको बडिगाड गाउँपालिकामा उक्त शिविर गरिएको हो । शिविरमा काठमाण्डौ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का १९ जना विशेषज्ञ डाक्टरहरु सहितका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।

शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार र दन्त सेवाका साथै चिकित्सकको सिफारिसमा इसीजी सेवा, भिडियो एक्सरे सेवा र ल्याव टेष्ट तथा औषधि विवरण समेत प्रदान गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

शिविरमा पहिचान भएका जटिल प्रकृतीका शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि काठमाडौंको केएमसीमा रेफर गरी वैशाख ४ गते निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको छ ।

शिविरका पहलकर्ता सघिंय सांसद डा. सुनिल शर्माले ग्रामीण क्षेत्रमा रहेका दीर्घ रोगीहरु र आर्थिक अभावमा जटिल प्रकृतीका रोग लागेर थलिएका बिरामीहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरबाट सिफारिस भएर गएका जटिल प्रकृतीका शल्यक्रिया गर्ने बिरामीहरुका लागि केएमसीमा निःशुल्क औषधी उपचारको व्यवस्था संगै किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने बिरामीहरुका लागि समेत निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य जित शेरचनले देशभर स्वास्थ्य शिविर सञ्चालन गरेर डा.सुनिल शर्माले ठुलो पुण्यको काम गरेको भन्दै सबैलाई भरपुर फाईदा लिन आग्रह गर्नुभयो ।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले शिविरबाट गम्भीर प्रकृतीका अप्रेशन गर्न काठमाण्डौ जाने विरामीलाई निःशुल्क यातायतको व्यवस्था गरिने बताउनुभयो ।

गाउँपालिकाले सविंधानले प्रत्याभूत गरेको नागरिकको आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम मार्फत टोलटोलमा पुगेर स्वास्थ्योपचार तथा औषधी वितरण संगै भावि दिनमा बयोवृद्धहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने योजना बनाएको प्रष्ट पार्नुभयो । यति ठुलो स्वास्थ्य शिविर गाउँपालिकामै पहिलो पटक आयोजना गरिएको भन्दै शिविरको संयोजन र पहल गर्नेहरु प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरले स्थानीय खुसी

बडिगाड गाउँपालिका वडा नं ५ का स्थानीय बेद प्रसाद घिमिरे मृगौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले निरन्तर केएमसीबाटै निरन्तर औषधी उपचार गरिरहनुभएको छ । अघिल्लो पटक थुप्रै पैसा खर्च गरेर काठमाण्डौ पुगेर उपचार गर्नुभएका उहाँलाई संयोगबस अहिले भने घर छेउमै परिक्षण गराउन पाउनुभयो । शिविरमा स्वास्थ्य परिक्षण गराएपछि खुसी हुँदै उहाले ग्रामीण क्षेत्रका बिरामीलाई सुनौलो अवसर रहेको बताउनुभयो ।

त्यस्तै वडा नं ७ सुडकुरेका होम बहादुर थापाले पनि नसा सम्बन्धी उपचार गर्दा विभिन्न ठाउँमा यस अगाडी थुप्रै पैसा खर्च गर्नुभयो । लामो समयदेखि ग्रसित उहाँले घर नजिकै सेवा पाउँदा खुसी लागेको बताउनुभयो ।
वडा नं ६ बाट शिविरमा उपचारका लागि पुग्नुभएका नर बहादुर घिमिरेले पैसा नभएका र आर्थिक अभावमा अस्पतालसम्म जान नपाएका बिरामीलाई ठुलो राहत मिलेको धारणा राख्नुभयो । केएमसी मेडिकलमा निःशुल्क किड्नी ट्रान्सप्लान्ट हुने कुरा सुन्दा आफ्नो आधा रोग निको भएको उहाँको भनाई थियो ।

शिविरमा बडिगाड गाउँपालिकासंगै ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबाट समेत विरामीहरु पुगेका थिए । सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य उपचार दिने हेतुले सञ्चालन गर्नुभएको शिविर यसअघि काठमाडौँसहित अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पा लगायतका ५२ जिल्लामा सम्पन्न भईसकेको छ ।
गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पूर्ण बहादुर घर्तीको स्वागत मन्तव्य रहेको शिविर उद्घाटन समारोहका सञ्चालन गाउँपालिकाका जनस्वास्थय निरिक्षक दिलु केसीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै