• १४ भदौ २०८३, आइतबार
  • १०:१८:५४

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

मलेसियामा सम्पर्कविहीन भएका रिघाका होमबहादुर २४ वर्षपछि फर्किए

बागलुङ । सन् २००२ मा दलालमार्फत मलेसिया पुगेका गलकोट नगरपालिका–११ रिघाका होमबहादुर घर्तीले आफूले खोजेको काम पाएनन् । त्यसपछि अन्य कामको खोजीमा भौंतारिँदै गर्दा उनी परिवारको सम्पर्कबाट टाढिए । न घर फर्कन सके, न राम्रो काम नै पाए । २४ वर्षसम्म गैरकानुनी रूपमा मलेसियामै बसिरहेका उनी अन्ततः अशक्त अवस्थामा उद्धार भएर गत फागुन १५ गते नेपाल फर्किए ।

५७ वर्षीय होमबहादुरले मलेसियामा कुनै रोजगारी पाएनन् । बरु ग्रामीण क्षेत्रमा पुगेर मजदुरी गर्दै जीवन कष्टकर रूपमा बिताए । परिवारसँग सम्पर्कसमेत गर्न सकेनन् । आर्थिक अवस्था र कानुनी बन्धनका कारण घर फर्कन पनि पाएनन् । त्यही क्रममा उनी अशक्त भए । आँखामा गम्भीर समस्या आयो । उपचार गर्न सकेनन्। अन्ततः अलपत्र परे ।यता, विदेश जाँदा लिएको ऋणले उनको परिवारमा समस्या थपियो ।

पत्नी कल्पनाले मेलापात गरेर छोराछोरी हुर्काइन्, पढाइन् । वर्षौंसम्म पतिको खबर नआएपछि उनले नै मजदुरी गरेर ऋण तिरिन् । तर पनि होमबहादुर फर्कने सम्भावना देखिएन । गाउँमा अनेक लान्छना र आरोप सहेर पनि उनी पतिको बाटो हेरेरै बसिन्  छिमेकीले त आस मारिसकेका थिए । कल्पनाले भने भेटिन्छन् कि भन्ने आशा राखेको बताइन् । तर फर्केलान् भन्ने नसोचेको उनको भनाइ छ ।

२४ वर्षपछि मलेसियाको ग्रामीण क्षेत्रमा दयनीय जीवन बिताइरहेका होमबहादुरको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । उक्त तस्बिर आफ्नो मानिसको भएको परिवारले पत्ता लगाएपछि कल्पनाले गलकोट नगरपालिकामा खबर गरिन् । नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता रजना उपाध्यायले जिल्ला प्रशासन र त्यहाँ रहेको आप्रवासी स्रोत केन्द्रमा खबर गरिन् ।

'यो खबर कन्सुलर सेवा विभाग, प्रवासी नेपाली समन्वय समिति, मलेसियास्थित नेपाली दूतावास र त्यहाँका नेपाली समाजलाई पुगेपछि होमबहादुरको उद्धार सम्भव भयो,' उनले भनिन्, 'सबैको सहयोगमा होमबहादुरलाई गत फागुन १५ गते नेपाल फर्काइयो ।' अशक्त रहेका उनलाई परिवारले उपचार गराएर घर फर्काएका हुन् । अझै पनि उनी स्वस्थ भइसकेका छैनन् । उनका आँखाको ज्योति गुमिसकेको छ ।

उनी विदेशिँदा छोराहरू साना थिए । पत्नी कल्पनाले दुःख गरेर विदेश जाँदाको ऋण तिरिन् । छोराछोरी हुर्काएर विवाह पनि गराइन् । अहिले छोराहरूले नै होमबहादुरको स्याहार गरेका छन् । काम गरेर घर धान्ने भएका छन्। होमबहादुरको भने वर्षौं विदेशमा काम गरेको केही रहेन । आफ्नै स्वास्थ्यसमेत जटिल बनेर फर्किएका छन् । गैरकानुनी रूपमा विदेशमा बस्दा र सूचनाबाट टाढा भएपछि यस्तो अवस्था आएको हो ।

के कारणले उनी अहिलेसम्म हराए भन्ने खुलेको छैन । आफैं अशक्त भएकाले त्यो खुल्न नसकेको उपाध्याय बताउँछिन् । नेपाल आइपुग्दा उनको आँखाको ज्योति गुमेको थियो । शारीरिक रूपमा पनि अति कमजोर र आफ्नै सरसफाइको कामसमेत गर्न नसक्ने अवस्था भएपछि वास्तविकता खुल्न नसकेको हो । परिवारले साथबाट अहिले उनी घरमा आराम गरेर बसेका छन् ।

गैरकानुनी रूपमा बसेकाले उनले के काम गरे भन्ने यकिन नभएको आप्रवासी स्रोत केन्द्र बागलुङकी परामर्शकर्ता गंगा रिजालले बताइन् । ‘कागजात नभएकोले पीडितलाई राहत, क्षतिपूर्ति र बीमा समेत दिलाउन सकिएन’ उनले भनिन्, ‘आफ्नो कागजात घरमा छाड्ने र श्रम स्वीकृति लिएर मात्र काम गर्न सबैलाई सुझाव दिएका छौं ।’

सामान्य त्रुटिले आफ्नो जीवन जोखिममा पर्ने र परिवारको बिचल्ली भएका धेरै उदाहरणबाट पाठ सिक्न उनले आग्रह गरिन् ।  विभिन्न समस्यामा परेका १ सय ४७ पुरुष र २० महिलागरी १ सय ६७ जनालाई नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) र केन्द्रमार्फत उद्धार, उपचार तथा आर्थिक र मनोसामाजिक परामर्श सहयोग गरिएको छ ।

५५ जनालाई न्यायमा पहुँच उपलब्ध गराएको उपाध्यायले बताए । जसबाट बीमा, राहत र क्षतिपूर्ति गरी २ करोड ६६ लाख ६७ हजार रुपैयाँ उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । केन्द्रमार्फत गत आर्थिक वर्ष २०८२/८३ भर जिल्लाबाट राहदानी बनाएका ८ हजार ८ सय ७० जनालाई वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन परामर्श दिइएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै