• १५ बैशाख २०८१, शनिबार
  • १७:४५:०६

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल खवर

क्षयरोगको केन्द्र बन्दै बडिगाड

बडिगाड गाउँपालिकामा १३६ क्षयरोगका बिरामी रहेका छन्

बडिगाड : बागलुङमा यो बर्ष क्षयरोगका कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना बडिगाड गाउँपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । आर्थिक बर्ष २०७९/८०मा पनि ४ जनाको मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले क्षयरोग दिवस २०२४ को अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार अन्तरक्रियामा क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बागलुङमा क्षयरोगका २२७ जना बिरामी रहेको बताए । ति मध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका रहेका छन् ।

जिल्लाका १० पालिका मध्ये बडिगाड गाउँपालिकामा १३६, बागलुङ नगरपालिकामा २५, बरेङ गाउँपालिकामा ४, ढोरपाटन नगरपालिकामा २१, गलकोट नगरपालिकामा ९, जैमिनी नगरपालिकामा ७, काठेखोला गाउँपालिकामा ११, निसीखोला गाउँपालिकामा १२, तमानखोला गाउँपालिकामा १ र ताराखोला गाउँपालिकामा १ जना क्षयरोगका बिरामी रहेका छन् ।

अहिले पनि धेरै बिरामी परीक्षण गर्न नमान्ने, पत्ता लागे पनि औषधी सेवन गर्न नमान्ने हुँदा बिरामीको अकालमै ज्यान जाने गरेको स्वास्थ्य शाखा बागलुङका प्रमुख रामप्रसाद खनालले बताए । ‘विभिन्न कारणले बिरामी स्वास्थ्य परीक्षण गर्न मान्दैनन्, क्षयरोग पत्ता लागेपछि पनि औषधी खान मान्दैनन् ।’ उनले भने–‘त्यसले गर्दा बिरामीको अकालमै ज्यान जाने गरेको छ ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बडिगाड गाउँपालिकामा क्षयरोगको परीक्षण धैरै गरिएकोले पनि त्यहाँ धेरै बिरामी देखिएको हुन सक्ने बताए । ‘बिरामीको संख्या त अन्यत्र पनि उस्तै होला, अन्य पालिकामा पनि छन्’ उनले भने–‘तर बडिगाडमा धेरै जनामा परीक्षण गरेकोले धेरै देखिए ।’

समयमै उपचार पाए निको हुने भए पनि परीक्षण गर्न, पत्ता लागेपछि औषधी खान नमान्दा बिरामीको अकालमै मृत्यु हुने गरेको छ । ग्रामीण भेगमा एक जना क्षयरोगीबाट १० जना र शहरी इलाकामा एक जनाबाट २५ जनासम्मलाई सर्ने बताइन्छ । मानिसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुँदा क्षयरोगबाट प्रभावित हुने गरेका छन् ।

२ हप्ता भन्दा बढीसम्म एकनासले खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, हल्का ज्वरो आउनु, राती धेरै पसिना आउनु, मुख सुक्नु, खान मन नलाग्नु, तौल कम हुँदै जानु क्षयरोगका लक्षण हुन् । क्षयरोग सन २०५० सम्म विश्वबाट उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।


 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै