किन महिलामा हरेक कुरामा ‘सरी’ भन्ने बानी हुन्छ ?
‘ठीक छ, सरी… मेरो गल्ती भयो।’
‘ल, अब कुरा यत्तिमै टुंग्याऔँ… आई एम सरी ।’
यी वाक्यहरू हामीले दैनिक जीवनमा धेरै महिलाको मुखबाट सुन्ने गर्छौं । कहिलेकाहीँ आफ्नो गल्ती नै नभएको अवस्थामा पनि उनीहरू सहजै ‘सरी’ भनिरहेका हुन्छन् । बसमा कसैसँग हल्का ठोक्किँदा, बैठकमा आफ्नो धारणा राख्नुअघि, सहयोग माग्दा, केही मिनेट ढिला पुग्दा वा कसैलाई बीचमै रोक्नुपर्दा पनि धेरै महिलाले अनायासै ‘सरी’ भन्ने गर्छन् । माफी माग्नु सभ्य र जिम्मेवार व्यवहारको संकेत हो ।
तर आफ्नो गल्ती नै नभएको अवस्थामा पनि पटक–पटक ‘सरी’ भन्नु केवल राम्रो बानी होइन । यो व्यक्तिको आत्मविश्वास, सामाजिक संस्कार र मनोवैज्ञानिक अवस्थासँग पनि जोडिएको विषय हुन सक्छ । क्यानडाको ओन्टारियोस्थित वाटरलु विश्वविद्यालयको एक अध्ययनमा महिलाहरूले पुरुषको तुलनामा छिटो र धेरै पटक माफी माग्ने गरेको देखाएको छ ।
तर यसको अर्थ महिलाहरू बढी गल्ती गर्छन् भन्ने होइन । अनुसन्धानले देखाएको मुख्य कुरा के हो भने महिलाहरूले दैनिक जीवनका सामान्य घटनालाई पनि अरूलाई असुविधा भएको अवस्थाका रूपमा बढी महसुस गर्छन् र सम्बन्ध राम्रो राख्ने उद्देश्यले सहजै माफी माग्छन् ।
महिलामा ‘सरी’ भन्ने बानी किन बढी हुन्छ ?
महिलाले पुरुषको तुलनामा धेरै पटक वा छिट्टै माफी माग्नुका पछाडि सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारणहरू जिम्मेवार हुन्छन् । यो कुनै जैविक (बायोलोजिकल) विशेषता होइन ।
१. बाल्यकालदेखि सिकाइने सामाजिक संस्कार
धेरै समाजमा छोरीहरूलाई सानैदेखि विनम्र, शान्त, मिलनसार, सहयोगी र अरूको भावना बुझ्ने व्यक्ति बन्न सिकाइन्छ । उनीहरूलाई झगडा नगर्न, ठूलो स्वरमा नबोल्न र सम्बन्ध जोगाउन जोड दिइन्छ ।
यसको प्रभाव वयस्क भएपछि पनि देखिन्छ । कुनै पनि असहज अवस्था आएमा धेरै महिलाले पहिले ‘सरी’ भन्नु नै उचित ठान्छन् । विस्तारै यो उनीहरूको सञ्चार शैलीको हिस्सा बन्न पुग्छ ।
२. सम्बन्धलाई प्राथमिकता दिने प्रवृत्ति
मनोवैज्ञानिकहरूका अनुसार महिलाहरूले सामाजिक सम्बन्धलाई धेरै महत्त्व दिने गर्छन् । परिवार, साथीभाइ, सहकर्मी वा जीवनसाथीसँग राम्रो सम्बन्ध कायम राख्न उनीहरू विवादभन्दा समझदारी रोज्ने सम्भावना बढी हुन्छ । त्यसैले कहिलेकाहीँ आफ्नो गल्ती नभए पनि वातावरण शान्त बनाउन वा सम्बन्ध बिग्रन नदिन ‘सरी’ भन्ने गर्छन् ।
३. सहानुभूति र भावनात्मक संवेदनशीलता
धेरै अध्ययनले महिलामा अरूको भावना बुझ्ने र त्यसप्रति संवेदनशील हुने प्रवृत्ति तुलनात्मक रूपमा बढी देखिएको उल्लेख गरेका छन् । यदि उनीहरूलाई आफ्नो व्यवहारका कारण कसैलाई असहज भएको महसुस भयो भने तुरुन्तै माफी माग्ने सम्भावना बढ्छ ।
उदाहरणका लागि, ‘तपाईंलाई असुविधा भयो भने म क्षमा चाहन्छु’ भन्ने वाक्य धेरैजसो अवस्थामा दोष स्वीकार गर्नभन्दा पनि अर्को व्यक्तिको भावनाप्रति सम्मान व्यक्त गर्न प्रयोग गरिएको हुन्छ ।
४. सामाजिक मूल्यांकनको डर
कतिपय महिलालाई आफ्नो धारणा स्पष्ट रूपमा राख्दा आफूलाई ‘रुखो’, ‘घमण्डी’ वा ‘आक्रामक’ भनेर मूल्यांकन गरिने डर हुन्छ । त्यसैले उनीहरू आफ्नो कुरा सुरु गर्नुअघि नै भन्छन् ‘सरी, म एउटा कुरा भन्न चाहन्छु ।’, ‘सरी, म बीचमा बोलें ।’, सरी, एउटा प्रश्न सोध्न मिल्छ ?’ वास्तवमा यस्तो अवस्थामा माफी माग्नुपर्ने आवश्यकता नै हुँदैन ।
५. कार्यस्थलको दबाब
कार्यस्थलमा पनि धेरै महिलाले अनावश्यक रूपमा ‘सरी’ भन्ने गरेको पाइन्छ । उदाहरणका लागि—इमेलको जवाफ केही ढिलो पठाउँदा, बैठकमा प्रश्न सोध्दा, सहयोग माग्दा, आफ्नो राय राख्दा, छुट्टी माग्दा । यस्ता अधिकांश अवस्थामा ‘सरी’ भन्नुभन्दा आफ्नो कुरा आत्मविश्वासका साथ राख्नु पर्याप्त हुन्छ ।
अनुसन्धानले के भन्छ ?
क्यानडाको वाटरलु विश्वविद्यालयका मनोवैज्ञानिक करिना शुमान र माइकल रोसको अध्ययनले महिलाहरूले पुरुषभन्दा धेरै माफी माग्नुको कारण उनीहरू बढी दोषी हुनु होइन भन्ने देखाएको छ । अनुसन्धानअनुसार महिलाहरूले दैनिक जीवनका साना घटनालाई पनि अरूलाई असुविधा भएको अवस्थाका रूपमा व्याख्या गर्ने सम्भावना बढी हुन् ।
त्यसैले उनीहरूले त्यस्ता परिस्थितिमा पनि माफी माग्छन्, जहाँ पुरुषहरूले माफी माग्न आवश्यक ठान्दैनन् । अध्ययनले महिलाको यो व्यवहार कमजोरी नभई सामाजिक अनुभव र हुर्काइसँग जोडिएको विषय भएको निष्कर्ष निकालेको छ ।
धेरै ‘सरी’ भन्नु सधैं राम्रो हुन्छ त ?
माफी माग्नु राम्रो गुण हो । गल्ती भएको स्वीकार गर्नु परिपक्वताको संकेत पनि हो । तर गल्ती नै नभएको अवस्थामा पटक–पटक माफी मागिरहनु भने स्वस्थ सञ्चार शैली मानिँदैन ।
आवश्यकता भन्दा बढी माफी माग्दा के हुन्छ ?
–आत्मविश्वास कम भएको सन्देश जान सक्छ ।
–आफ्नो विचारको प्रभाव कमजोर हुन सक्छ ।
–अरूले तपाईंलाई आवश्यकता भन्दा बढी दोषी ठान्न सक्छन् ।
–नेतृत्व क्षमता कमजोर देखिन सक्छ ।
–आफ्नो आत्मसम्मानमा पनि असर पर्न सक्छ ।
विशेषगरी कार्यालय वा व्यावसायिक जीवनमा अत्यधिक ‘सरी’ भन्नुभन्दा स्पष्ट र सम्मानजनक भाषा प्रयोग गर्नु प्रभावकारी मानिन्छ ।
‘सरी’को सट्टा के भन्न सकिन्छ ?
हरेक अवस्थामा ‘सरी’ भन्नुभन्दा सकारात्मक भाषा प्रयोग गर्नु राम्रो हुन्छ । जस्तै:- ‘पर्खिनु भएकोमा धन्यवाद ।’, ‘तपाईंको धैर्यका लागि धन्यवाद ।’, ‘म एउटा सुझाव राख्न चाहन्छु ।’, ‘के म आफ्नो विचार राख्न सक्छु ? ’। ‘मलाई तपाईंको सहयोग चाहिएको छ ।’ आदि । यस्ता वाक्यले विनम्रता पनि देखाउँछन् र आत्मविश्वास पनि झल्काउँछन् ।
सबै महिलामा एउटै व्यवहार लागू हुँदैन
सबै महिलाले धेरै माफी माग्छन् भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । धेरै महिलाहरू अत्यन्त आत्मविश्वासी हुन्छन् र आवश्यक परे मात्र माफी माग्छन् । त्यसैगरी केही पुरुषहरू पनि अत्यधिक माफी माग्ने स्वभावका हुन्छन् ।
व्यक्तिको स्वभाव, हुर्काइ, पारिवारिक वातावरण, आत्मविश्वास, सामाजिक अनुभव, कार्यस्थलको संस्कृति र व्यक्तिगत व्यक्तित्वले यस्तो व्यवहारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।-अनलाइन खबर


रेडियो सारथी
प्रतिकृया दिनुहोस