जिल्ला अदालत बागलुङमा घट्दै पुराना मुद्दा
बागलुङ । पछिल्ला केही वर्षयता जिल्ला अदालत बागलुङमा मुद्दा फछ्र्योटको दरमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा अदालतले कुल लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै बाँकी मुद्दाको संख्या घटाएर १९७ पु¥याएको छ । यो तथ्याङ्क पछिल्लो पाँच वर्ष यताकै कम बाँकी मुद्दा हुन् । अदालतले पुराना मुद्दालाई घटाउदै सकघर छिटो छरितो न्याय निरुपण गर्न थालेको बागलुङ जिल्ला न्यायाधिस सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।
अदालतको वार्षिक प्रगति विवरण अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका २५१ र नयाँ दर्ता भएका ६४२ गरी कुल ८९३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये ६९६ मुद्दा फछ्र्योट हुँदा १९७ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा कुल ९१७ मुद्दामध्ये ६६६ मुद्दा फछ्र्योट गरी ७२.६३ प्रतिशत उपलब्धि हासिल भएको थियो भने २५१ मुद्दा बाँकी रहेका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ९१८ मुद्दामध्ये ६४८ मुद्दा फछ्र्योट गरी ७०.५६ प्रतिशत प्रगति भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ९६४ मुद्दामध्ये ७५१ मुद्दा फछ्र्योट भएको थियो, जुन संख्यात्मक रूपमा पछिल्लो पाँच वर्षकै सबैभन्दा धेरै हो । त्यस वर्ष फछ्र्योट दर ७७.९० प्रतिशत रहेको थियो भने २३१ मुद्दा बाँकी रहेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा ८४१ मुद्दामध्ये ४५२ मुद्दा फछ्र्योट हुँदा फछ्र्योट दर ५३.७४ प्रतिशत रहँदा जम्मा ३८९ मुद्दा बाँकी रहेका थिए । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा कुल ६९९ मुद्दामध्ये ३६८ मुद्दा फछ्र्योट भई ५२.६४ प्रतिशत उपलब्धि हासिल भएर ३३१ मुद्दा बाँकी रहेका थिए ।
अदालतको पाँच वर्षको विवरणले पछिल्ला तीन आर्थिक वर्षमा फछ्र्योट दर ७० प्रतिशतभन्दा माथि पुगेको र बाँकी मुद्दाको संख्या क्रमशः घट्दै गएको देखाएको छ । अदालतले मुद्दा व्यवस्थापन र कार्यसम्पादनमा विस्तारै सुधार ल्याउदै बाँकी मुद्दालाई क्रमश घटाएर शुन्य तर्फ लगिने जिल्ला न्यायाधिस सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।-आदर्श सञ्चार


रेडियो सारथी
प्रतिकृया दिनुहोस