कुहिरोभित्र लुकेको स्वर्गः चौंरिखर्क (चुङ्ग्री बुकी)
बागलुङ । बिहानीको पहिलो झुल्काले ढोरपाटन र धौलागिरि हिमश्रृङ्खलाका सेता चुचुराहरुलाई चुम्दै गर्दा, समुद्री सतहबाट करिब चार हजार मिटरभन्दा बढी उचाइमा रहेको एउटा विशाल पाटन बिस्तारै ब्युँझिन्छ।
चारैतिर हरियाली घाँसे मैदान भित्र, मखमली गलैँचा जस्तै ढकमक्क फुलेका रङ्गीचङ्गी भुँई फुलहरु अनि टिरिङ् टिरिङ घण्टीको आवाज संगै भेंडाको बथान र गाइगोठ– यो कुनै काल्पनिक चित्र होइन, रुकुम पूर्व र बागलुङको सिमानामा अवस्थित मनमोहक ‘चौंरिखर्क’ अर्थात् ‘चुङ्ग्री बुकी’ को बिहानी रुप हो।
नेपालको कान्छो जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. १ र बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षको दक्षिण पश्चिम सिमानासँग जोडिएको यो क्षेत्र प्रकृतिले फुर्सदमा रचेको एउटा अनुपम उपहार हो। यो क्षेत्रमा उच्च पहाडी भेगको प्राकृतिक सौन्दर्यभित्र केवल दृश्य मात्र छैन, यहाँ उच्च पहाडी जीवनको अनौठो सङ्घर्ष, सौन्दर्य, संस्कृति र मानिस तथा प्रकृतिको अभिन्न सम्बन्ध समेत जिवित छ।

जैविक विविधता र प्राकृतिक सौन्दर्यको संगम
चौंरिखर्क (चुङ्ग्री बुकी) पर्यटकीय हिसाबले मात्र नभई भौगोलिक र जैविक विविधताका दृष्टिले पनि निकै धनी छ। चार हजार मिटर माथिको उचाई, छिनछिनमै बदलिने मौसम, आकाश छुन खोजे जस्ता हरियाली डाँडाहरु। कहिले क्षणभरमै मखमली कुहिरोले पुरै पाटनलाई ढकमक्क ढाक्छ त कहिले कञ्चन घामको झुल्काले विशाल डाँडाहरुलाई सुनौलो बनाएको दृश्य।
खर्कमा पाइने भुँइ फूलहरुले वर्षायाममा पूरै पाटनलाई बहुरङ्गी चित्र जस्तै सजाइदिन्छन्। विभिन्न प्रजातिका जडीबुटी, बनस्पति र बन्यजन्तुहरुले अझ विशेष बनाउने यस क्षेत्र पर्यावरण र जैविक संरक्षणका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ।

लेकाली जीवनशैलीः गाई, भेंडापालन र मौलिक परम्परा
चौंरिखर्कको बास्तविक पहिचान त्यहाँको मौसमी जीवनशैली र परम्परागत पशुपालनसँग जोडिएको छ। विशेष गरी मगरात सभ्यता र हिमाली संस्कृतिको सङ्गम रहेको यो क्षेत्रमा शताब्दीऔं देखि एउटा विशिष्ट गोठाले जीवनशैली निरन्तर चलिरहेको छ।
बैसाख–जेठतिर बेँसीबाट गाइवस्तु र भेंडाका ठूला–ठूला बथान लिएर उकालो लागेका गोठालाहरु भदौ–असोज सम्म चुङ्ग्री बुकीमै रहने चलन छ। यहाँका बासिन्दाका लागि भेडापालन र गाईपालन केवल व्यवसाय मात्र होइन, यो उनिहरुको संस्कार, संस्कृति र अस्तित्वको हिस्सा पनि हो।
लुकुमबाट गाई गोठ लिएर चुङ्ग्री आइपुग्नु भएका स्थानिय गोठाला पछाई घर्ति मगर भन्नुहुन्छ–“हाम्रा बाजे–पुर्खाले यहिँ बुकीमा गाई भेंडा चराए, हामी पनि यहीँ छौंँ। बुकीको शुद्ध जडीबुटी चरेका गाईको दूध, घिउ र भेडाको ऊन जिवन चलाउने बाटो छ।” उहाँले थप भन्नुहुन्छ–“गाउँको ५/६ घर मिलेर सबैका गाई लिएर आउने, पालैपालो १/१ महिना यहिँ बस्ने र बस्तु हेर्ने चलन छ।”

आर्थिक, पर्यटकीय तथा साँस्कृतिक महत्व
चुङ्ग्री बुकी क्षेत्र आर्थिक, पर्यटकीय र साँस्कृतिक दृष्टिकोणले बहुआयामिक महत्व बोकेको क्षेत्र हो भन्न सकिन्छ। आर्थिक महत्वः उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटी (विशेषतः रातो च्याउ), पशुपालनबाट प्राप्त हुने भेंडा–साँड, घिउ, छुर्पी र हस्तकलाका सामाग्री (राडी–पाखी) ले स्थानिय अर्थतन्त्रलाई प्रत्यक्ष भरथेग गरिरहेको छ।
सांस्कृतिक महत्वः पूर्वी रुकुम (भूमे, पुथा उत्तरगंगा) र बागलुङ (निसि, बोवाङ) क्षेत्रका मगर तथा अन्य समुदायको परम्परागत भेडा तथा गाई गोठ संस्कृति, स्थानिय भाकाहरु (यानीमाया, सुनिमाया, सालैजो), भूमे पूजा जस्ता साँस्कृतिक पर्वहरु यसै भुगोलसंग जोडिएका छन्।
पर्यटकीय महत्वः यो क्षेत्र साहसिक पदयात्रा, पर्या–पर्यटन, अनुसन्धान र फोटो/भिडियोग्राफि लागि निकै महत्वपूर्ण गन्तव्य हो। ढोरपाटन सिकार आरक्षसँग जोडिएकाले यसलाई मध्यपहाडि लोकमार्ग र ढोरपाटनसँग जोडेर पर्यटकीय परिपथ बनाउन सकिने प्रचुर संभावना रहेको छ।

पहुँचको चुनौती र पूर्वाधारको अवस्था
३ वर्ष अगाडि सम्म गुमनाम चुङ्ग्री बुकी त्यस यता भने विस्तार पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ। मध्यपहाडि लोकमार्गको पहुँच र केहि प्रचार प्रसारले आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ। तर पर्यटकीय दृष्टिकोणले जति सम्भावना युक्त छ यो क्षेत्र, पहुँच र भौतिक पर्वाधारको हिसाबले चुनौतिपूर्ण नै छ।
कठिन पैदल मार्गः चौंरिखर्क (चुङ्ग्री बुकी) सम्म पुग्न गतिलो र सुरक्षित पदमार्गको अभाव छ। भिरालो र साँघुरो बाटोका कारण गोठाला र पर्यटकहरुलाई यात्रा गर्न सकस हुन्छ। यद्यपी केहि स्थानमा प्रदेश सरकार र स्थानिय पालिकाको समन्वयमा केहि सामान्य पदमार्ग बनिरहेको छ।
आवास र सञ्चारको समस्याः ४ हजार मिटर भन्दा माथि रहेकोले त्यहाँ बस्नका लागि सुविधायुक्त होमस्टे, गोठ–स्टे वा लजहरु छैनन्। टेलिफोन र इन्टरनेट सञ्जालले काम नगर्दा आपतकालिन अवस्थामा सञ्चार सम्पर्क विच्छेद हुने समस्या छ।
प्रवद्र्धन र नक्साङ्कनको कमीः यो क्षेत्रको व्यवस्थित नक्साङ्कन, प्रचार–प्रसार र पर्यटकीय प्रवद्र्धन नहुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरु त्यहाँसम्म पुग्न सकेका छैनन्। यद्यपी आन्तरिक पर्यटकको चहलपहल विस्तारै बढ्दै गएको छ।

संरक्षण र दिगो विकासको आवश्यकता
चौंरिखर्क (चुङ्ग्री बुकी) केवल एउटा सुन्दर भूगोल मात्र होइन, यो रुकुम पूर्व र बागलुङ जिल्लाको साझा पहिचान, समृद्धि र पर्या–पर्यटनको ढोका हो। जलवायु परिवर्तनको बढ्दो असर, अनियन्त्रित जडीबुटी संकलन, बढ्दो फोहर, युवा पुस्ताको पलायन जस्ता कारणले त्यहाँको जैविक विविधता र मौलिक गोठाले संस्कृतिमा चुनौती थपिएको छ।
यसका लागि स्थानिय रुकुमपूर्वका भूमे गाउँपालिका, पुथाउत्तरगंगा गाउँपालिका, बागलुङको निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरि एकिकृत विकास योजना ल्याउनु आवश्यक छ। पर्यावरणलाई कुनै असर नपुर्याइ ‘इको टुरिजम’ (पारिस्थितिक पर्यटन) को अवधारणा अनुसार पदमार्ग निर्माण, आधारभूत आवासको व्यवस्था र प्रचार प्रसार गर्न सके स्थानियको आर्थिक स्तर संगै लोपउन्मुख भेंडापालन संस्कृति र बहुमूल्य जडीबुटीको दिगो संरक्षण हुनेछ।
कुहिरोको घुम्टोभित्र मुस्कुराइरहेको चौंरिखर्क आज पनि आफ्ना काखमा प्रकृतिप्रेमी, अनुसन्धानकर्ता र साहसी पदयात्रीहरुलाई स्वागत गर्न आतुर छ। मध्यपहाडि लोकमार्गको नजिकै रहको पर्यटकीय क्षेत्र स्पष्ट दृष्टिकोण, योजनाबद्ध पूर्वाधार र प्रकृति जोगाउने साझा प्रतिवद्धता भयो भने चौंरिखर्क अर्थात चुङ्ग्री बुकी जिवन रुपान्तरणकै प्रयायबन्ने पक्का छ।





.jpg)




कमल पौडेल
प्रतिकृया दिनुहोस