• १६ श्रावण २०८३, शनिबार
  • ०२:३५:४६

Now:

Next: शुभारम्भ धुन

कुखुरेखोला पुलकाे काम छ वर्षमा साठी प्रतिशत मात्रै

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकास्थित कुखुरेखोलामा निर्माणाधीन पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब छ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।  एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाको हालसम्म करिब ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय तम्घास र आत्रेय–भुसाल–बस्नेत जेभी काठमाडौँबिच २०७७ माघ २१ गते पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन सकेन । त्यसयता पटक पटक म्याद थपिए पनि आयोजना अझै अधुरै छ ।

कार्यालयका सबइन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म तीन पटक थप गरिएको छ । पछिल्लो पटक २०८१ असोज ३० गतेसम्म काम सक्ने गरी समयावधि तोकिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न हुन सकेन । अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

२५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल निर्माणका लागि भ्याटबाहेक दुई करोड ४३ लाख ३७ हजार ७०६ रुपियाँ लागत निर्धारण गरिएको छ ।  सबइन्जिनियर ढकालका अनुसार निर्माण व्यवसायीलाई पटक पटक काम तीव्र बनाउन निर्देशन तथा ताकेता गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

ठेकेदारले कहिलेकाहीँ मात्रै कामदार परिचालन गरेर औपचारिकता पूरा गर्ने शैली अपनाएको र जिम्मा लिएका अन्य आयोजनामा पनि यस्तै ढिलासुस्ती देखिएको कार्यालयको भनाइ छ । हाल पुलको ढलानको तयारी भइरहेको र साउन महिनाभित्र ढलान सम्पन्न गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

पुल निर्माणमा भएको अस्वाभाविक ढिलाइका कारण स्थानीय बासिन्दा वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन । इस्मा–६ का स्थानीय होमबहादुर महतका अनुसार पुल नहुँदा विद्यार्थी प्रभावित भइरहेका छन भने बिरामीलाई अस्पताल पु¥याउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ भइरहेको छ ।

स्थानीयवासीले निर्माण व्यवसायीको लापर्बाहीसँगै सम्बन्धित कार्यालय र सरोकारवाला निकायको प्रभावकारी अनुगमनको अभावले आयोजना बर्सौंदेखि अलपत्र परेको आरोप लगाएका छन ।  -गाेरखापत्र

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै