प्रहरीका गतिविधिप्रति बुर्तिबाङका राजनितिक दलको प्रेस विज्ञप्ती
खर्वाङ । बागलुङ पश्चिमको बुर्तिबाङ बजार क्षेत्रमा शान्ति सुरक्षा बिग्रँदै गएको, प्रहरीले हिरासतमा नागरिकलाई अनावश्यक कुटपिट गरेको र सामाजिक विकृति बढेको भन्दै यहाँका राजनीतिक दलले विरोध जनाएका छन्। आज यहाँ किर्याशिल सात राजनितिक दलका केन्द्रीय तथा स्थानीय नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ज्याजति अझै बढे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
विज्ञप्तिमा दलहरूले बुर्तिबाङ प्रहरीले अनुसन्धानका नाममा निर्दोष नागरिकलाई हिरासतमा निर्मम कुटपिट गरेको र मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन्। । उनिहरुले बुर्तिबाङ बजारमा जुवातास, मदिरा र लागुऔषधको प्रयोग बढेको, जथाभावी गाडी पार्किङ गर्ने गरिएको, तीव्र गति र हर्नले बजार अस्तव्यस्त बन्दा पनि स्थानीय सरकार र प्रहरी प्रशासन चुप लागेर बसेको गुनासो गरेका छन् ।
दलहरूले प्रहरी हिरासतमा हुने कुटपिट रोक्न, लागुऔषध र जुवातास नियन्त्रण गर्न, बजार अनुगमन र ट्राफिक व्यवस्थापन सुधार्न माग गरेका छन्। । यदि समस्याहरू तत्काल समाधान नगरे चरणबद्ध आन्दोलनमा उत्रिने समेत उनीहरूले चेतावनी दिएका छन्।
उनिहरुले हालै तराईका सुनसरी र धनुषामा भएका साम्प्रदायिक दङ्गामा ३ जना युवाले ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेका छन ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निल बहादुर पुन, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ (ख) का सभापति मेषलाल शर्मा, नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य टंक प्रसाद पौडेल, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य गंग बहादुर घर्ती, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तिलक बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तम बहादुर घर्ती र नेकपा (माओवादी) का जिल्ला सदस्य शिवध्वज पुनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएका हुन्।


अनिष पाठक
प्रतिकृया दिनुहोस