बागलुङमा बढ्यो डेंगु सङ्क्रमण
बागलुङ । जिल्लामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिनाको ९ दिनमा ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागलुङ नगरपालिका क्षेत्रमा फैलिएको छ । घनाबस्ती रहेको नगरपालिकाका ४० जनामा डेंगु पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
नौ दिनमै ४३ जनामा डेंगु सङ्क्रमण देखिनु जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिने घिमिरेको भनाइ छ । बागलुङ नगरपालिका–३ गुठीमा डेंगु तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान समेत सञ्चालन गर्नुपरेको छ ।
घिमिरेका अनुसार गलकोटमा दुई र ढोरपाटन नगरपालिकाका एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ‘‘यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा जाँच गराएका बिरामीहरुको मात्र हो । निजी स्वास्थ्य संस्था र मेडिकलहरुमा पनि डेंगु परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै रहेको अनुमान छ’’ घिमिरेले भन्नुभयो ।
जनस्वास्थ्य कार्यालयले डेंगु सङ्क्रमण रोकथाम गर्न जिल्लाव्यापी रुपमा सचेतना फैलाउने र सरसफाइ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘‘लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइका लागि समुदायमा जनचेतना फैलाउने योजना बनेको छ’’ घिमिरेले भन्नुभयो ।
धौलागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ अस्पताल र गलकोट नगर अस्पतालमा जाँच गराउन आएका बिरामीमा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गलकोट र ढोरपाटन क्षेत्रमा पनि डेंगु देखिन सुरु भएको छ । ‘‘डेंगु देखिएकालाई औषधी दिएर पठाएका छौं, केही जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरेर उपचार गरिरहेका छौं’’ गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले भन्नुभयो ।
पछिल्लो समय डेंगुका बिरामी धेरै आउन थालेको धौलागिरी प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछानेले बताउनुभयो । डेंगु भाइरल ज्वरो भएकोले सामान्य बिरामीलाई औषधी दिएर फलोअप गर्न सुझाएको र गाह्रो हुने बिरामीलाई भर्ना गरेरै उपचार गरिरहेको डा. लामिछानेले जानकारी दिनुभयो । डेंगुको निर्धारित उपचार पद्धति नभएका कारण पनि यसबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ ।
‘‘डेंगुको उपचार छैन, लामखुट्टेको टोकाइबाट सर्ने रोग भएका कारण यसबाट जोगिनुकै मुख्य उपाय हो’’ डा. लामिछानेले भन्नुभयो । पहिचान भएर उपचारमा आएकाहरु भन्दा पहिचान नभएका र सङ्क्रमणमा परेर पनि उपचारको दायरामा नभएकाबाट डेंगु सञ्क्रमण फैलिने खतरा रहेको लामिछानेको भनाइ छ । डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ ।
डेंगुबाट बच्न घरमा रहेको पानी छोपेर राख्ने, शरीर ढाकिने गरी कपडा लगाउने, घरभित्र, कुनाकाप्चामा लामखुट्टे आउन नदिने, लामखुट्टेविरुद्व औषधी छर्कन पनि सर्वसाधारणलाई चिकित्सकको सल्लाह छ । अत्याधिक ज्वरो आएमा, जोर्नी र मांसपेशी दुखेमा, शरीरमा बिबिरा आएमा डेंगु परीक्षण गर्नुपर्ने डा. लामिछानेले बताउनुभयो ।


प्रतिकृया दिनुहोस