जलवायु परिवर्तनविरुद्ध विद्यार्थीको चेतावनी ‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’
खर्वाङ । प्रकृतिप्रति देखाएको सानो बेवास्ता र लापरवाहीले भोलिको सिङ्गो मानव सभ्यतालाई नै महासंकटमा पारेको विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका छन । उनिहरुले रुख ढाल्न सजिलो छ, तर एउटा पगालिएको हिमनदी र त्यसले निम्त्याउने विपति रोक्न अब असम्भवप्रायः बन्दै गएको सरोकारवाला समक्ष जवाफ सहितको प्रश्न राखे ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अबसरमा लायन्स क्लव अफ बागलुङ बडिगाडले आयोजना गरेको ‘जलवायु परिवर्तनः आजको लापरवाही, भोलिको चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्ना ओजपूर्ण धारणा राखेका थिए ।
कक्षा ७ देखि १२ सम्मका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले विकासका नाममा भइरहेको अनियन्त्रित प्राकृतिक दोहन, प्लास्टिकको अत्यधिक प्रयोग र औद्योगिक प्रदूषणले पृथ्वीको तापमान तीव्र रूपमा बढाएको तर्फ गम्भीर चिन्ता व्यक्त गरे ।
विशेष गरी सहभागीहरुले हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई प्रकृतिको चेतावनी र जलवायु परिवर्तनको प्रत्यक्ष दुष्परिणामका रूपमा प्रस्तुत गर्दै नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका खेले पनि जलवायु संकटको ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गर्नुप्रर्ने बताए ।
आजको उपभोगवादी शैली र ढिलासुस्तीका कारण भोलिको पुस्ताले स्वच्छ हावा, पानी र सुरक्षित वातावरण पाउनुको साटो अतिवृष्टि, अनावृष्टि र खडेरी जस्ता प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने उनीहरूको तर्क थियो । कागजी नीति र ठूला भाषणमा मात्र सीमित नभई विद्यालय तहबाटै अनिवार्य वृक्षारोपण, फोहर वर्गीकरण र हरित ऊर्जाको प्रयोग बढाएर व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा सहभागीहरूले एकै स्वरमा जोड दिए ।
कार्यक्रमको अवसरमा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, भानु माविका प्रध्यानाध्यापक केशव खरेलले विद्यार्थीहरूले भोटेकोशी बाढीजस्ता ताजा घटनालाई जोडेर उठाएका विषय अत्यन्त गम्भीर रहेको र नयाँ पुस्ताको यो गर्जनले राज्य र समाजलाई प्रकृति संरक्षणमा तत्काल कदम चाल्न झक्झक्याउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा रिभरहेड इन्टरनेशनल एकेडेमी बुर्तिबाङका प्रसिद्धि कंडेल प्रथम, भिमगिठे मावि भिमगिठेकि समिक्षा कुवँर द्धितिय, भैरव मावि गलकोटका समर गौतम तृतिय तथा किटेनी मावि रणसिंहकिटेनीकि माया घर्ती सान्त्वना भएका थिए ।
विजेताले क्रमश ७ हजार, ५ हजार, ३ हजार, १ हजार र प्रमाण पत्र तथा मेडलका साथै सहभागि सबैलाई सान्त्वना पुरस्कार ५ सय प्रदान गरिएको लायन्स क्लव अफ बागलुङ बडिगाडका शिक्षा समिति संयोजक यज्ञदत्त घिमिरेले जानकारी दिए ।
बडिगाड गाउँपालिका–५, काे खार माविमा आयोजित प्रतियोगितामा लायन्स क्लव अफ बागलुङ बडिगाडका फस्ट भ्वाईस पे्रसिडेन्ट रमेश घिमिरेको अध्यक्षता रहेको प्रतियोगिताको संचालन भने सेक्रेटरी कृष्ण भट्टराईले गरेका थिए ।


अनिष पाठक
प्रतिकृया दिनुहोस