होमस्टेले बढाउदै गुल्मीका ग्रामीण क्षेत्रमा चहलपहल
गुल्मी । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेका छन् । शीतल मौसम, थरिथरिका खानाका परिकार र कला संस्कृतिले पाहुना आकर्षित भइरहेका हुन् । जिल्लास्थित भार्सेको रानीवन, ठूलो लुम्पेक, भुर्तुङको धुवाँखोला, टिमुरेको रेमी, स्वाँरा र रेसुङ्गामा होमस्टे छन् । सत्यवती–८, भार्सेमा ८ वर्षदेखि रानीवन सामुदायिक होमस्टे पाहुना घर सञ्चालनमा छ ।
स्थानीय १४ महिला र तीन पुरुष होमस्टे सञ्चालन समूहमा छन् । अहिलेसम्म २० लाख रुपैयाँ लगानी भइसकेको छ । पाहुना घरमा ५० जना अट्ने क्षमता छ । स्थानीय खानासहित सुविधायुक्त बास, मनोरञ्जनसँगै आसपासका पर्यटकीय स्थलमा घुमाउने गरिएको छ । रुद्रवेणी–वामी सडकखण्डबाट १७ किलोमिटर कच्ची सडकमा उकालो चढेपछि होमस्टेसम्म पुगिन्छ ।
त्यहाँ पुगेपछि झुलेथुम कालिका मन्दिर, शिवालय गुफा, अर्कुल दरबार, गोर्खा ग्यालरी, देउराली बौद्ध स्तुपा, थाप्ले ट्रेकिङ, चिडिगा लेक ट्रेकिङ, तामाखानी, झुलेनी ग्रीष्मकालीन दरबार र ब्यारेक लगायतमा अवलोकन गर्न पाइने स्थानीय नरु बुढाथोकीले बताए । उनका अनुसार हिउँदमा दैनिक ४० देखि ५० जना आउँछन् । वर्षामा पनि पाहुना आउने गरेका छन् ।
गत वर्ष ८ हजार पाहुना आएको र १० लाख आम्दानी भएको होमस्टे सञ्चालन समूहकी अध्यक्ष गंगा दर्लामीले बताइन् । होमस्टेमा सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय ठाडो भाका, चुड्का, सालैजो, सोरठी, कृष्ण चरित्र र पञ्चेबाजा आदिलगायत प्रस्तुति दिने गरिएको छ । सामुदायिक भवन र घरमा बसाइँका लागि गुणस्तरीय व्यवस्थापन रहेको छ ।
कालीगण्डकी–७, भर्तुङमा पनि ८ वर्षदेखि धुवाँखोला सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । उक्त होमस्टे सञ्चालन समूहमा ३० स्थानीय आबद्ध छन् । अहिलेसम्म डेढ लाख रुपैयाँ लगानी भएको छ । २० जना अट्ने क्षमता रहेको छ । त्यहाँ प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँको प्याकेज बनाइएको छ । वार्षिक चार सयभन्दा बढी पर्यटक आइरहेका छन् ।
कालीगण्डकी करिडोरबाट १६ किलोमिटर उकालो कच्ची सडकमा यात्रा गरेपछि होमस्टे पुगिन्छ । होमस्टेसँगै कालीलेक सिद्धबाबा, हिले सत्यवती, चिया बगान र छहरे र धुवाँखोला घुम्न पाइन्छ । होमस्टेबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी भइरहेको व्यवस्थापक आशिष गुरुङले बताए । होमस्टेमा स्यामुना भाका, झ्याउरे, सालैजो, ठाडो भाका, सोरठी र घाटु प्रस्तुत गरिन्छ ।
सत्यवती–३ मा केही समयअघि ठूलोलुम्पेक सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । उक्त समूहमा एक पुरुष र १३ महिला आबद्ध छन् । ३० जना पाहुना अट्ने क्षमता छ । एक हजार ५० रुपैयाँमा सादा खानासहित बास मिल्ने होमस्टेकी अध्यक्ष मोती पुलामी सिंजापतिले बताइन् ।
रुद्रवेणी–वामी सडकखण्डअन्तर्गत रुद्रवेणीबाट ११ किलोमिटर दूरीमा होमस्टे छ । त्यहाँ पौराणिक थानी बाजेबज्यै, सत्यवती क्षेत्र, ऐतिहासिक हचिनकोट दरबार क्षेत्र, सेती नाग, गाग्रे ढुङ्गा र हिलेसिद्धबाबा घुम्न पाइन्छ । स्थानीय झ्याउरे र लोक भाका सुनाउने गरिन्छ ।
चन्द्रकोट गाउँपालिका–४ मा ७ वर्षदेखि टिमुरे सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । १४ महिला र ४ पुरुष होमस्टे समूहमा आबद्ध छन् । तीन लाख रुपैयाँ लगानी गरिएको होमस्टेमा ५० जना अट्छन् ।
शान्तिपुरबाट ५ किलोमिटर यात्रा गरेपछि होमस्टेमा पुगिने समूहका अध्यक्ष बलबहादुर पुनले बताए । एक वर्षमा ४ सयभन्दा बढी पाहुना आइरहेको र डेढ लाख आम्दानी हुने गरेको पुनले बताए । त्यहाँ सालैजो, लोक दोहोरी, झ्याउरे र ठाडो भाका प्रस्तुत गरिन्छ ।
मुसिकोट–६ मा स्वाँरा गुरुङ सामुदायिक होमस्टे सञ्चालनमा छ । होमस्टेमा ७ पुरुष र ४ महिला आबद्ध छन् । ११ घरमा २३ कोठामा सुविधायुक्त बासको व्यवस्थापन गरिएको होमस्टेका व्यवस्थापक यमबहादुर गुरुङले बताए ।
त्यहाँ पुगेपछि तारा खस्यो भन्ज्याङ, स्वामीको दह, सिद्धस्थान डाँडा र मालिका भगवती मन्दिर अवलोकन गर्न पाइन्छ । पाहुनालाई सालैजो, कौरा, झ्याउरे, लोकगीत र सांस्कृतिक नृत्य देखाउने गरिएको उनले बताए ।
तम्घास नजिकै रेसुङ्गा–१३, भंगारीमा ६ वर्षदेखि रेसुङ्गा होमस्टे सञ्चालनमा छ । १९ महिला र ७ पुरुष होमस्टे सञ्चालन समूहमा आबद्ध छन् । पाँच लाख रुपैयाँ लगानी गरिएको होमस्टेमा १८ जना अट्छन् । प्रतिव्यक्ति खाना नास्ता गरेर एक दिनको एक हजार पाँच सय रुपैयाँमा प्याकेज सुविधा रहेको छ । तम्घास–रिडी खण्डबाट एक किलोमिटरमै पुग्न सकिन्छ ।
भंगारीमा भुवाने पार्क, सीताराम मन्दिर, रेसुङ्गा तपोभूमि, महापोखरी, यज्ञशाला र सिद्ध मन्दिर घुम्न सकिने होमस्टेका संयोजक यज्ञमूर्ति थापाले बताए । वार्षिक आम्दानी ५० हजार रुपैयाँ आम्दानी हुने उनले बताए । यहाँका होमस्टेमा पाहुना पर्यटक आउनेबित्तिकै स्थानीय परम्पराअनुसार स्वागत गरिन्छ ।
पर्यटन व्यवसायी सुदर्शन खनालले होमस्टेका कारण रित्तिन थालेका बस्तीमा चहलपहल बढेको बताए । ‘पहाडी रहनसहन, स्थानीय खाना र मौलिक संस्कृतिले पर्यटक तानिरहेको छ’, उनले भने, ‘ग्रामीण अर्थतन्त्रको जग बलियो बनेको छ भने पर्यटकीय सम्भावना झनै बढेर गएको छ ।’ पछिल्लो समय बसाइँसराइ गरेर गएकाहरू होमस्टेका कारण कम्तीमा घुम्न र रम्न भए पनि गाउँ आउने गरेको उनले बताए ।


प्रतिकृया दिनुहोस