फेरीदो गाउँबस्तीमा, बदलिदो जीवनशैली
खर्वाङ । कुनैसमय थियो जतिबेला बागलुङ पश्चिमका स्थानियलाई आफ्नै जिल्ला सदरमुकाम पुग्नै तिन दिन भन्दा बढि समय लाग्थ्यो । आकलझुकल सवारी देख्न सक्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गत आर्थिक वर्षमा बल्ल मोटर बाटो पुगेको छ । सहज यात्रा गर्नेगरी बाटो बन्न अझै समय लाग्ने भएपनि स्थानिय मोटरबाटो पुगेकैमा पनि धेरै खुसी छन ।
बडिगाड गाउँपालिका ३ सिसाखानीका तिलक घर्ती मगर कुनै समय घरखर्चका सामान घोडा खच्चडले घरसम्म पुग्ने गरेको स्मरण गर्दै भन्छन “एक समय थियो जतिबेला घरमा नुन, तेल घोडा खच्चडको भारीमा पुग्थे । अहिले त आफ्नै सावारीमा घर सम्मै पुग्न सकिन्छ । भने जस्तो त छैन तर पछिल्लो ५/७ वर्षमा परिवर्तन धेरै भएको छ ।”
संघियतापछि गठन भएका स्थानिय तहले काम गर्न थालेपछि गाउँघरमा विकासका काममा गति बढेको धेरैको अनुभव छ । विकासको पहिलो आधार सडक पुर्वाधार आफ्नै गाउँघर सम्म पुग्दा पनि धेरै स्थानिय सन्तुष्ट छन । विकासको पहिलो खुड्किलो सडक रहेछ सडक पुगेपछि विस्तारै अरुकाम हुने रहेछ मगरले भने ।
“गाउँमा सडक पुग्यो भने खोजेको सामान चाहिएको बेला सजिलै गाउँ लैजान सकिने भयो । त्यसले स्कुल भने जस्तो बन्ने भयो । सडक छ भनेपछि शिक्षक, स्वास्थ्यकर्मी र सरकारी हाकिमलाई गाउँमा लैजान सजिलो भयो । गाउँमै उनिहरुले सेवा दिनेभएपछि सरकारी सेवा घर नजिक भएपछि त विकास भयो भन्ने यसै हुदो रहेछ ।” उनले भने ।
सडकसंगै शिक्षा स्वास्थ्य तथा कृषि र आत्मनिर्भरका कार्यक्रमपनि स्थानिय तहपछि संचालनमा छन । बडिगाड गाउँपालिका पछिल्लो तिन वर्षमा मात्रै एक हजार ५६ घर परिवारका महिलाहरुलाई एकताबद्ध गरेर सामुहिक तथा एकल व्यवसायिक कृषि र पशुपालन गरिरहेको तथ्याङ्क छ ।
बडिगाड–२, खर्वाङको त्रिभुवन माविमा एक दशकदेखि बाली विज्ञान पढाइ भइरहेको छ । एक निर्वाचन क्षेत्रमा एक प्राविधिक विद्यालय खोल्ने योजनाअन्तर्गत यो विद्यालय सूचीकृत छ । तर, एउटै विषयले बजार र समाजको आवश्यकता पूरा नभएको महशुसपछि त्रिभुवन बहुप्राविधिक विद्यालयका संचालन गर्ने तयारीमा रहेको प्रध्यानाध्यापक ढालमणि भण्डारीले बताए ।
“युवाहरू कमाउने माध्यममा जोडिन चाहन्छन्” उनले भने, “प्राविधिक भनेको पढेर फेरि जागिरका लागि धाउने होइन, आफैं कमाउने हो ।” शैक्षिक प्रमाणपत्रले मात्र कमाइ गर्न नसक्ने भएकाले स्वरोजगारमूलक तालिममा विद्यार्थी जोड्न लागिएको छ । त्यसका लागि अटो मोवाइल्स, इलेक्ट्रिक, इलेक्ट्रोनिक्सजस्ता सीप तत्काल दिने योजना विद्यालयले बनाएको छ ।
त्रिभुवन माविकै कृषि विषय अध्ययनरत विद्यार्थीले पालिकामै कृषि प्राविधिकको रुपमा समेत काम गरेका छन । जस्ले गर्दा स्थानिय तहका लागि आवश्यक जनशक्ती र आफ्नै गाउँघरको विकासमा स्थानियकै सहभागिता समेत हुने गरेको छ ।
सरकारी जागिरको रहर गर्ने बडिगाड ७ का जिव बहादुर खत्रीले तिन वर्ष दुबईमा बिताए । देशमै केहि गर्ने सोच बनाएका खत्रीले एक लाख लगानिमा किबि खेति शुरु गरे । उनले किबिको आम्दानी शुरु नहुन्जेल लगानी उठाउनका लागि संगै अकबरे खुसार्नी खेति समेत गरे ।
एक रोपनी क्षेत्रफलमा एक लाखमा शुरु गरेको जिव बहादुरकोे व्यवसायमा अहिले १६ लाख लगानी पुगेको छ भने ४० रोपनी क्षेत्रफलमा खेति गर्दै आएका छन । खर्च कटाएर बार्षिक १५ लाख आम्दानी गर्ने खत्री बडिगाडका उत्कृष्ट उद्यमी हुन छन । उनको नौलाखर्क कृषि तथा पशुपन्छी फर्ममा प्रत्यक्ष दुई जना सहित बाह्र जना मौसमी कामदारले काम गर्दै आएका छन ।
“विदेशको सफलता देखेर हैन । विदेशी दुख सम्झेर आफ्नै गाउँमा खट्न सके नाम र दाम दुबै कामाउन सकिन्छ ।” खत्री भन्छन् “देशमा केहि भएन होईन देशको लागि मैले पनि केहि गर्न सक्छु भनेर सबैले आफ्नै गाउँघरमा केहि गर्ने हो भने बल्ल आफ्नै गाउँ आफैले सोचे जस्तो बन्छ ।”
स्थानीय तहअघि बडिगाड–१० का स्थानिय सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ, बागलुङ वा बुटवल जानुपर्ने अवस्था थियो । सिमित स्वास्थ्य सेवा, औषधि, स्वास्थ्यकर्मी र उपकरणको अभावका कारण समयमै उपचार पाउन कठिन हुन्थ्यो ।
तर अहिले वडामै आधारभूत स्वास्थ्य सेवा, निःशुल्क औषधि, खोप तथा मातृ–शिशु स्वास्थ्य सेवा नियमित हुन थालेपछि स्थानिय खुसी छन । “पहिला त न सडक भनेजस्तो न स्वास्थ्य सेवा समस्या थियो नि ” स्थानिय सुरज कुमार रसाइलीले भने “अहिले त पोषण स्वास्थ्य सेवा, आधारभुत अस्पताल संचालन र पालिकामा डायलायसिस सेवा शुरु हुने कुराले अब स्वास्थय उपचारको लागि गाउँ नै छोड्न प्रदैन जस्तो लाग्छ ।”
मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ । १७ करोड १८ लाख ५३ हजार ८२ रुपियाँको लागतमा १५ शैयाको बडिगाड अस्पतालको भवन निर्माण भएपछि सोहि अस्पतालबाट सेवा शुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
डायलसिस सेवा शुरु गर्न गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिम लिन काठमाडौं पठाएर दक्ष बनाएको छ । अस्पतालको सेवा विस्तार गर्न दुई जना मेडिकल अधिकृत समेत पदपूर्ति गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय रुपियाँ बराबरका ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराइएको थियो । डायलायसिस सेवालाई प्रभावकारी बनाउन थप नर्स र डाक्टरलाई तालिम पठाउने गाउँपालिकाको योजना अध्यक्ष अधिकारीले सुनाइन ।
सरकारी सेवा लिन सरकारी कागजात हुन आवश्यक हुन्छ । जसको लागि प्रशासनिक गतिविधी चलायमान हुन आवश्यक हुन्छ । पछिल्लो समय सरकारी सेवा घरैमा उपलब्ध गराउने सरकारको निति छ । जसको प्रभावकारी संचालनको लागि बडिगाड गाउँपालिकाले पालिकाका सबै प्रशासनिक काम आफ्नै भवनबाट दिन थालेको छ ।
गत आर्थिक वर्ष मात्रै गाउँपालिकाले तिन वटा वडा कार्यालय भवनको औपचारीक उद्धघाटन गरेको छ । निमार्ण कार्य सकिएर सेवा शुरु गरेका वडा कार्यालय ६, ७ र २ को औपचारीक उद्धघाटन गरिएको हो । बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनका अनुशार बडिगाड १ दगातुम्डाँडाको पुरानो गाविस भवन बाहेक सबै वडा तथा पालिकाले आफ्नै नयाँ भवनबाट सेवा दिईरहेका छन ।
“निमार्ण सकेर पनि आफ्नै भवनबाट सेवा संचालनमा रहेको केहि वडाको औपचारीक उद्धघाटन गरिएको छैन । केहि वडामा कार्यालय सुरक्षाको काम गर्नुप्रर्ने छ । तर सेवा भने आफ्नै भवनबाट भईरहेको छ ।” वनले भने
पछिल्ला केहि वर्षमा स्थानियले महशुस गर्नेगरि भएका भौतिक विकासले साँच्चै गाउँ परिवर्तन भएका छन । घरैबाट सदरमुकाम र राजधानिको यात्रा मात्रै हैन गाउँका उत्पादन विर्किमा पनि सहयोग पुगेको छ । स्वास्थ्य, शिक्षा र आयआर्जका गतिविधीले स्थानियको जिवनशैली पनि फेरीदै गएको छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस