• १० असोज २०८३, शनिबार
  • ०३:४७:४९

Now:

Next: शुभारम्भ धुन

बागलुङमा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

AI द्वारा सिर्जना गरिएकाे सांकेतिक तस्विर

 

बागलुङ । बागलुङमा भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन्। वर्षाका कारण जिल्लाका प्रमुख नदी तथा खोलामा समेत पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ कानाबगरमा लेदोसहितको पहिरो खस्दा आज साँझ ६ बजेर ४५ मिनेटदेखि सडक अवरुद्ध भएको छ।

यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पनि लेदोसहितको पहिरो खस्दा साँझ ७ बजेर ४५ मिनेटदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस क्षेत्रमा यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ।

यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट नगरपालिका–१ चौराहामा पहिरो खसेर सडक अवरुद्ध भएपछि नेपाली सेनाको कालिजंग गण र इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको सुरक्षा टोलीले सडक खुलाएको छ।

पहिरोका कारण सडकमा रोकिएकी एक सुत्केरी महिला तथा उहाँसँगै रहेको बच्चाको समेत उद्धार गरी उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अविरल वर्षा भइरहेका कारण कालीगण्डकी, बडिगाड, दरमलगायतका नदी तथा खोलामा पानीको सतह बढिरहेको प्रहरीले जनाएको छ। वर्षा अझै जारी रहेकाले नदी तथा खोला आसपासका बस्ती र सडकमा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑