विद्यालयबाट आफन्तकहाँ सरे निसीखोलाका विस्थापित
बागलुङ । निसीखोला गाउँपालिका–४ झिवाखोलास्थित लिटिल रोज बोर्डिङ स्कुलको भवन जीर्ण बनेर ठडिएको छ । असोज ११ गते बिहान आएको बाढीले यो भवनलाई ढाल्न भने सकेन । नढलेरै यो भवनले सिंगो बस्तीलाई थप क्षतिबाट जोगाएको स्थानीय बताउँछन् । निसीखोलाको बाढीले ३५ घर बगरमा परिणत गरायो । २५ घर बस्नै नमिल्ने भएका छन् ।
तर यो विद्यालय ढलेको भए क्षति अझै ठूलो हुने स्थानीयको भनाइ छ । भवन ढलेको भए खोला थुनिने वा बाढीको बहाव बजारतर्फ पस्ने सम्भावना थियो । बाढी सुकेर गइसके पनि भवन अझै ठडिएको छ । मर्मत गर्ने वा पुनर्निर्माण गर्ने भन्ने उचित सल्लाह नपाएपछि विद्यालयले पनि निर्णय लिन सकेको छैन । असोज ११ को बिहान ९ बजेसम्म ठिकठाक रहेको निसीखोलामा एकैघरका चार जनाको मृत्यु भएको खबर आयो ।
पहिरोले एउटा घर बगाएको घटनाबाट सुरु भएको क्षति अकल्पनीय बन्दै गयो । अझै पनि यहाँको यकिन क्षतिको मूल्यांकन भइसकेको छैन । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडक तथा पूर्वाधारजस्ता दर्जन विषयमा क्षतिको मूल्यांकन गर्न बाँकी छ । पहिलो चरणमा बाढीपीडितलाई राहत वितरणको काम मात्रै सुरु भएको छ।
पीडितहरू चार दिनसम्म विद्यालय र वडा कार्यालयमा आश्रय लिएर अहिले आफन्तको घरमा बस्न गएका छन् । उनीहरूको दिगो व्यवस्थापनका लागि भने पहल सुरु भएकै छैन ।सदरमुकामदेखि १ सय २० किलोमिटर पश्चिममा रहेको निसीखोला गाउँपालिकाको मुख्य बजार झिवाखोला अहिले खण्डहर बनेको छ । निसीखोलामा आएको बाढीले किनारको बस्ती बगायो ।
३५ घरको नामनिसाना रहेन । बाँकी २५ घर बस्नै नमिल्ने छन् भने केही घर जोखिममा छन् । यो अवस्थापछि निसीखोलाका ३ सयभन्दा बढी मानिस बाढीको प्रत्यक्ष मारमा परेका छन् । यहाँ एकैघरका चारसहित पाँच जनाको मृत्यु भएको छ । वडा ४ को कानाबगरमा असोज ९ मा खसेको पहिरो मिसिएपछि खोलाको बहाव झनै ठूलो र ढुंगामाटोसहितको बन्दा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको ठहर छ ।
समितिले निसीको व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विकल्पका उपाय खोजिरहेको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । निसीखोला गाउँपालिका–४ कानाबगर र झिवाखोला बाढीले क्षतविक्षत छन् । बाढीले झिवाखोलास्थित इलाका प्रहरी कार्यालयमा पनि क्षति पुर्याएको छ । क्षतिपछि सुरक्षा दिने प्रहरीसमेत सुरक्षित स्थानमा बस्न पाएका छैनन् ।
‘यो भवन ढलेको भए यहाँका अझै दर्जनौं घरपरिवारको बास उठ्थ्यो,’ वडाध्यक्ष टिकानिधि पौडेलले भने, ‘धेरै क्षति भएन भनेर पनि खुसी हुनुपर्ने अवस्था बन्यो ।’ यद्यपि यो क्षतिको परिपूरण गर्न वर्षौं लाग्ने उनले बताए । वडा र स्थानीय तहको बजेटले सामान्य राहत वितरण र अस्थायी पुनःस्थापना गर्न पनि कठिन भएको उनको गुनासो छ ।
ती परिवारका सदस्यहरूको पुनःस्थापना चुनौती कसरी सामना गर्ने भन्ने सोच्न नसकेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती बताउँछन् । चाडपर्व आइरहेको बेला उनीहरू अलपत्र भएकाले गण्डकी प्रदेश सरकार र संघीय सरकारमा सहयोगको माग गरेको उनले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न राजनीतिक दल तथा संघीय र प्रदेश सभाका सांसदहरू घटनास्थल पुगेर अध्ययन र तत्काल गर्न सकिने सहयोगबारे परामर्शमा छन् । वडाध्यक्षसहितका जनप्रतिनिधि र स्थानीय तहले आफन्तको घर खोजेर विस्थापितलाई सुरक्षित राख्ने काम गरिरहेका छन् ।
सुरुका दिन जनजिवराज मावि र प्रभा माविमा राखेर पीडितलाई बस्ने–खाने व्यवस्थापन गरिएको गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले बताए । गाउँपालिकाले खाद्यान्नको जोहो गरेकोले सहयोग गर्नेले नगदमा गरिदिन पनि आग्रह गरिएको पौडेलले बताए । सदरमुकाम आउने मालढुंगास्थित कालीगण्डकी पुलसमेत भत्केकाले अहिले पनि आवतजावत ठप्प छ ।
त्यसैले नगदमा सहयोग भए मात्रै पीडितलाई दिन सकिने अवस्था भएको हो । बोकेर लैजानेभन्दा झिवाखोला र बुर्तिवाङ बजारमा उपलब्ध सामग्री नै खरिद गर्न उपयोगी हुने जनप्रतिनिधिले बताए । बाढीपीडितको दिगो व्यवस्थापनको चुनौतीबारे समितिले सांसदहरूलाई जानकारी गराएको छ ।
जिल्लाबाट निर्वाचित सांसदमार्फत बस्ती विकासको योजनामा समेट्न तथा अवरुद्ध मध्यपहाडी लोकमार्ग निर्माण गर्न उचित बजेट व्यवस्थापन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । लोकमार्गको बागलुङ खण्डको स्थायी व्यवस्थापन गर्न मात्रै ८० करोड रुपैयाँ लाग्ने सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए ।
यहाँ सञ्चालित तीनवटा खानेपानी आयोजना, दुईवटा सिँचाइ परियोजना र दुईवटा लघुजलविद्युत् आयोजना बग्दा करोडौंको क्षति भएको छ । संयोगले एउटा आयोजनाको पाइपलाइन मात्रै बगेको र इन्टेक बचेकोले वितरण गर्ने पाइप भएमा अधिकांश पीडितलाई स्वच्छ पानी खुवाउन सकिने पौडेलले बताए । नेवामार्फत यहाँका खानेपानी आयोजना निर्माण भई सञ्चालनमा थिए ।
निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर, जुग्जाखोलालगायतका दर्जन बस्ती निसीखोला किनारमै छन् । असोज ९ गते कानाबगरमा पहिरो खसेर लोकमार्ग अवरुद्ध भएपछि स्थानीय सचेत भएर राति घर छाडेका थिए । नत्र यहाँ थप मानवीय क्षति हुन सक्ने पौडेल बताउँछन् ।


प्रतिकृया दिनुहोस