गुल्मीका नवराजको ‘श्राद्ध’अघि घर पुग्ने योजना सिद्धबाबामै टुंगियो
बुटवल । बुधबार घरमा हजुरबुवाको श्राद्ध थियो। त्यसअघि नै गुल्मी पुगेर बुवा-आमालाई भेट्ने नवराज पन्तको योजना थियो। गत वर्षसम्म रुपन्देहीको सैनामैना-२, सोरौलीमा बस्दै आएका बुवा-आमा पहाड फर्किएपछि उनीहरूलाई भेट्न नवराज आइतबार बुटवलबाट गुल्मीतर्फ लागेका थिए। योजना स्पष्ट थियो- घर पुग्ने, बुवा-आमासँग केही समय बिताउने र उनीहरूलाई लिएर बुटवल फर्किने।
तर, उनको त्यो योजना सडकमै अधुरो रह्यो। आइतबार दिउँसो करिब साढे १ बजे बुटवलबाट गुल्मी जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै अनियन्त्रित भयो। मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खोँचमा खस्यो। दुर्घटनामा गम्भीर घाइते भएका ४७ वर्षीय नवराजको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार घटनालगत्तै उद्धार गरी अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन। घरबाट निस्किएका नवराज गन्तव्यमा पुगे/नपुगेको पत्तो उनकी श्रीमतीलाई थिएन। श्रीमान् कति बेला हिँडे र कहाँ पुगे भनेर उनी फोनमा सोधपुछ गरिरहेकी थिइन्।
केही समयपछि नवराजको मोबाइलमा फोन त उठ्यो, तर बोल्ने नवराज थिएनन्, प्रहरी थिए। प्रहरीले नवराज दुर्घटनामा परेको र गम्भीर घाइते भएको खबर सुनायो। त्यसको केही बेरमै उनको संसार उजाडियो। नवराजका एक छोरा र एक छोरी छन्। उनी जगदम्बा सिमेन्टमा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए र सिमेन्टको क्वालिटी चेकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सिद्धबाबा सडकखण्ड लामो समयदेखि पहिरो, खस्ने ढुंगा र अनपेक्षित दुर्घटनाका कारण ‘मृत्युमार्ग’ झैँ जोखिमपूर्ण बन्दै आएको छ। यद्यपि, पछिल्ला वर्षहरूमा दुर्घटना केही न्यूनीकरण भएको प्रहरीको निष्कर्ष छ। तर, जोखिम भने अझै टरिसकेको छैन।
पाल्पा जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार पछिल्लो एक दशकमा सिद्धबाबा क्षेत्रमा पहिरो, ढुंगा खस्ने र सवारी दुर्घटनाका कारण ६८ जनाले ज्यान गुमाइसकेका छन् भने ५७ जना घाइते भएका छन्। विशेषगरी दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रसम्मको करिब चार किलोमिटर खण्ड अत्यन्तै संवेदनशील मानिन्छ।


प्रतिकृया दिनुहोस