बागलुङमै हुन थाल्याे सर्पदंशको उपचार
बागलुङ । गत जेठ ५ गते पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतका ६० वर्षीय जुठे विकलाई विषालु सर्पले डस्यो । तत्काल धौलागिरि प्रादेशिक अस्पतालमा ल्याएर उपचार गरिएपछि विक निको भएर घर फर्किनुभयो । कन्सल्टेन्ट सर्जन डा. शंकरराज लामिछाने नेतृत्वको टोलीले पहिलो पटक सर्पदंशको सफल उपचार गरेको थियो ।
त्यसयता सामान्यदेखि विषालु सर्पले डसेका धेरै बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । बागलुङमै सर्पदंशको उपचार हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको छ । सामान्य सर्पले डसेका बिरामीको उपचार गर्दै आएको अस्पतालले विषालु सर्पले डसेका बिरामीलाई एन्टी स्नेक भेनम औषधी प्रयोग गरी उपचार गर्न थालेको हो ।
अस्पतालमा दक्ष जनशक्ति, सर्पदंशको उपचारमा आवश्यक औषधी ‘एन्टी स्नेक भेनम’ तथा आवश्यक पर्ने सेतो रगतको व्यवस्था भएपछि बागलुङमै उपचार सम्भव भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो । “यसअघि पोखराका ठूला अस्पतालमा मात्र गरिने उपचार अहिले बागलुङमै सम्भव भएको छ,” उहाँले भन्नुभयो ।
अस्पतालले दुई वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि तयारी गरे पनि अहिले भने बिरामीको नियमित उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । वर्षायाममा सर्पदंशका बिरामी बढी आउने भएकाले अस्पताल प्रशासनले स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाएको छ ।
बागलुङका १३ जना स्वास्थ्यकर्मीले सर्पदंशको उपचारसम्बन्धी तालिम लिएको डा. तिवारीले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकले सर्पदंशको उपचारसम्बन्धी तालिम दिएपछि सेवा प्रभावकारी बनेको उहाँले बताउनुभयो । बागलुङलगायत आसपासका जिल्लामा सर्पदंशको उपचार नहुँदा बिरामी पोखरा जानुपर्ने बाध्यतामा थिए ।
सर्पदंशको उपचारका लागि आवश्यक औषधि र खोपको व्यवस्थापन गरी आधारभूत अस्पतालसम्म यो सेवा विस्तार गरिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी बागलुङले रक्तसञ्चार सेवा क्षमता विस्तार गरी सेतो रगत उत्पादन गर्न थालेपछि सर्पदंशका बिरामीको उपचार सम्भव भएको हो ।
चार वर्षअघि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको करिब ५० लाख रुपियाँ पर्ने कम्पोनेन्ट प्रोसेसर मेसिन, डिपफ्रिजलगायत उपकरण थपिएपछि रक्तसञ्चार केन्द्रमा सेतो र रातो रगतको भण्डारण क्षमता बढाइएको छ ।
यस्तै, गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय तहको सहयोगमा ७० लाख रुपियाँको लागतमा प्लेटलेट प्लाज्मा र फ्रेस फ्रोजन प्लाज्मा उत्पादन सुरु भएपछि सर्पदंशका बिरामीको उपचार सहज भएको डा. तिवारीले बताउनुभयो ।


प्रतिकृया दिनुहोस