दुई सातादेखि विद्यालय जान सकेका छैनन् ढोडेनीका विद्यार्थी
बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीको झोलुंगे पुल बगाएको दुई साता बितिसक्दा पनि यहाँ वैकल्पिक मार्ग बनेको छैन । मालढुंगास्थित मोटरेबल पुल पनि बनिसकेको छैन । यी दुवै पुल नहुँदा सयौं नागरिकले दैनिक आवागमनमा सास्ती खेपिरहेका छन् । दैनिक तरकारी लिएर बजार आउने किसानसमेत पुल नहुँदा मर्कामा परेका छन् ।
यही पुल हुँदै बागलुङ बजार आउजाउ गर्न नगरपालिकाले एक वर्षअघि विश्व बैंकको सहयोगमा सडक कालोपत्र गरेको थियो । यहाँ पक्की पुल बनाउने तयारी भइरहेकै बेला भएको बाढीले झोलुंगे पुलसमेत बगाएको हो । पुल बगेपछि ढोडेनीबाट पर्वतको लस्तीस्थित शिव माविमा माध्यमिक तह पढ्न जाने विद्यार्थी मर्कामा परेका छन्। दुई सातादेखि उनीहरू विद्यालय जान सकेका छैनन् ।
पर्वतको जलजला गाउँपालिकाबाट धौलागिरि बहुमुखी क्याम्पस, धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानलगायतमा पढ्न आउने विद्यार्थीले पनि सास्ती खेपेका धौलागिरि क्याम्पसमा अध्ययनरत मनिषा शर्माले भनिन्, ‘वैकल्पिक बाटोसमेत बनाउन कसैको चासो भएन ।’ परीक्षाको समयमा बागलुङ बजार आएर होटलमा बस्न बाध्य भएको उनले बताइन् ।
ढोडेनीमा बगेको झोलुंगे पुल बनाउन ढिला हुने भएपछि स्थानीयले ट्रस्ट पुल बनाउन माग गरेका छन् । उनीहरूले मालढुंगा–बेनी सडक र बागलुङ–ढोडेनी सडक जोड्न पनि पुल आवश्यक रहेको बताएका छन् । यो पुल बनेमा मुस्ताङ गएर फर्कने पर्यटकलाई बागलुङ बजार आउनसमेत करिब ७ किलोमिटर छोटो पर्ने स्थानीयको भनाइ छ ।
कालीगण्डकी बाढीको असर मालढुंगास्थित माझी बस्तीका ३० भन्दा बढी बालबालिकालाई पनि परेको छ । उनीहरू बागलुङस्थित रुद्रेपिपल, कालिका कन्या, रामरेखा आधारभूत विद्यालयलगायतमा पढ्न आउने गर्थे । पुल बगेपछि असोज ११ गतेदेखि अहिलेसम्म यहाँका बालबालिका विद्यालय आउन सकेका छैनन् ।
चिल्ड्रेन लाइफ बोर्डिङका प्रिन्सिपल नवराज श्रेष्ठले भने, ‘उनीहरूलाई अनलाइनमार्फत पढाउने र परीक्षा गराउनसमेत बाध्य भयौं ।’ विद्यार्थीको घरमै गएर भेटघाट गरी गृहकार्यबारे जानकारीसमेत दिने गरेको उनले बताए । यहाँका पुल मात्र होइन, बाढीले बगाएका विद्युत पोलसमेत अझै उठेका छैनन् । ढलेका पोल मर्मत नभएपछि नदी आसपासका बस्तीमा अझै अन्धकार छ ।
‘सामान्य सम्पर्क गर्न पनि बागलुङ बजार जानुपरेको छ,’ स्थानीय इन्द्रबहादुर क्षेत्रीले भने, ‘बजार गएर मोबाइल चार्ज गरेपछि मात्र आफन्तसँग बोल्न पाइन्छ ।’ चाडपर्व लागिसक्दा पनि सास्ती खेप्नुपरेको उनले बताए । बाढीले पर्वततर्फ लस्तीका २५ घर, ढोडेनीतर्फ ५ र कालीगण्डकीकै पश्चिम किनारामा रहेको बागलुङ नगरपालिका–१३ कालाखोलाका ६ घर बगेका छन् ।
उनीहरू अहिले आफन्तकोमा बस्दै आएका छन् । बाढीले सडकसमेत बगाएको सहस्रधारामा विद्युत् र टेलिकमका पोल ढलेका थिए । ती पोल स्थायी रूपमा मर्मत गर्न नसक्दा ३३ केभी प्रसारण लाइनमा असर परेको छ ।
अस्थायी रूपमा टाँगिएको तार पटकपटक लत्रने गरेका कारण हरेक दिन बागलुङ बजार, बेनी बजार र बागलुङका अन्य ग्रामीण बस्तीमा विद्युत् अवरुद्ध हुने गरेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए । सडकमा बिछ्याइएको फाइबरमा असर परेपछि पटकपटक टेलिफोन र इन्टरनेट सेवासमेत प्रभावित हुने गरेको छ ।


प्रतिकृया दिनुहोस