• १५ बैशाख २०८१, शनिबार
  • १२:५५:३५

Now: माई च्वाईस

Next: थाहा अपडेट

होलीमा स्वास्थ्यकाे ख्याल कसरी राख्ने 

होली पर्व अर्थात फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

रंग पर्व होली संघारमै आइपुगेको छ । उमंगको यो अवसरलाई यही रूपमा सम्भिम रहन भने थोरै सावधानी अपेक्षित हुन्छ । रंग खेल्दा सचेत भइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन । 

जथाभावी रंग लगाउदा के हुन्छ 

रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ तथा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । रंगले दमका रोगीहरूलाई बढी दुःख दिन्छ ।

होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस भनेर होसियार रहनुपर्छ ।होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्याले देखिने गर्छ ।

रंगको बढी उपयोगले छाला सुक्खा हुने र रंगमा भएका विभिन्न रसायनले छालाको भित्री सतहलाइ नोक्सान र्पुयाउने हुन्छ । होलीको रंगमा वाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ र छालालाई नोक्सान र्पुयाउने अन्य तत्त्व पनि हुने गरेको पाइन्छ ।

कस्ता रंग बढि हानिकारक हुन्छन

हरियो रंग कपर सल्फेट (नीलो तुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र  रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।

हाम्रो, बजारमा पाइने धेरैजसो रंगमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ । हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । छाला रोग पनि हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ । चम्किलो रंग क्यान्सरको कारक हुन सक्छ । नीलो रंगले छालामा एलर्जी गराउन सक्छ ।

रातो रंगले छालाको क्यान्सर हुन सक्छ । स्मरणशक्तिलाई हानि र्पुयाउन पनि सक्छ । लेड अक्साइडले बनाइने कालो रंगले मृगौलामा समस्या उत्पन्न गराउन सक्छ । अबिर बनाउन पनि धेरै थरीका रसायनको उपयोग गरिन्छ । अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ । त्यसैले यो पनि कम हानिकारक हुन्न ।

लापरबाही किसिमले अबिर खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ । छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ ।

होलीमा रासायनिक रंगको उपयोग खतरनाक रहेको चेतावनी दिँदै विज्ञहरूले सकेसम्म प्राकृतिक र हर्बल रंग चलाउने सल्लाह दिन्छन् । तर, प्राकृतिक रंग नपाए वा रसायनयुक्त रंग नै प्रयोग गर्नुपर्ने बाध्यता रहे सावधानीका उपायहरू अपनाउनैपर्छ ।

होलि खेल्दा कसरी सावधानि अपनाउने

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंगरअबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । टोपी लगाउँदा सम्भावित असरहरूबाट बच्न मद्दत मिल्छ । यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन ।

कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ । होली खेलिसकेपछि छालाको जलन हटाउनुपरे मोइस्चराइजर उपयोग गर्न सकिन्छ । शरीर मजाले धोईपखाली गरेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ ।

रंग पखाल्ने भन्दै छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुन्न । यसो र्गा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग पुछपाछ गर्नुपर्छ, पानीसँगै रंग छालाभित्र नजाओस् भनेर ।

आँखामा रंग परे के गर्ने 

होली खेल्दा आँखामा रंग जाने समस्या सबैभन्दा बढी पाइने गरेको छ । यसले गर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान र्पुयाउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ । अबिरमा उपयोग गरिने टल्किने अभ्रखले कर्नियालाई हानि गर्न सक्छ ।

त्यहाँ घाउ हुन पनि सक्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्ने गर्नुहुन्न । समस्या झन् बढ्न सक्छ । दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ । 

रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुनको प्रयोग गर्नुहुँदैन । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा ति हुन्छ । तसर्थ हातले नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ ।

होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइट फिट चस्मा लगाउन सकिन्छ ।

होली खेलिसकेपछि के गर्ने

चिल्लो र माइेस्चराइजर क्रिमको प्रयोग, औषधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, गिलसिरीङ भएको साबुन प्रयोग गर्नुपर्दछ । तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्छ । कपालको चमकता कायम राख्न तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ ।

छाला र अनुहारको रङ हटाउन कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ ।

अन्तमा, रिस, झगडा र रगतको होली नखेलाैं। रङको होली अस्थायी हो उपचार गरे ठीक हुन्छ तर रगतको होली खतरनाक हुन्छ ज्यान गए फर्किँदैन । तसर्थ फागुपूर्णिमा वा होलीमा कुलत शून्य, रङ थोरै तथापि प्राकृतिक र रमाइलो धेरै गरौं ।


लेखक यादब बागलुङकाे बडिगाड गाँउपालिका २ खर्वाङकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र मा हेल्थ असिस्टेन्टकाे रूपमा कार्यरत छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै