ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रेडपाण्डको संरक्षणमा चुनौति बढ्दै

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रेडपाण्डको संरक्षणमा चुनौति बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौति बढेको हो ।
रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेको हो । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार देशभरमै सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् ।
अहिलेसम्म यकिन गणना नभए पनि सिकार आरक्ष भित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उहाँले बताउनुभयो । विं.सं. २०७४ सालमा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको संख्या निकै कम भएकोमा अहिले झण्डै दुई सयदेखि तीन सयको रहेको अनुमान गरेको सुवेदीले बताउनुभयो ।
रेडपाण्डाको गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उहाँको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उहाँले जानकारी दिनुभयो । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ ।
“वि.सं. २०७२ सालसम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रुपमा थिए, वि.सं. २०७४ सालमा सर्वे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रुपमा भेटिन्छन्” उहाँले भन्नुभयो – “अहिले करिब ३०० सयको हाराहारीमा रेडपाण्ड ढोरपाटनमा रहेको हाम्रो आँकलन छ, जुन संख्या देशभरका राष्ट्रिय निकुञ्जहरुमा भएको भन्दा बढी हो ।”
सिकार आरक्ष क्षेत्र बाहेक बागलुङका माथिल्लो वन क्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले बताउनुभयो । बढ्दो डढेलो, जंगल फँडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौति बढेको उहाँको भनाइ छ ।
रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरुक बन्नु पर्ने भन्दै स्थानीयलाई सचेत बनाउनु पर्ने पन्थीले बताउनुभयो । खास गरि कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ ।
रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । यो लजालु स्वभाव हुने हुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताउनुहुन्छ ।
प्रतिकृया दिनुहोस