• २६ श्रावण २०८३, मंगलबार
  • १७:०२:३८

Now: थाहा अपडेट

Next: बदलिँदो नेपाल

ढोरपाटन पुग्ने सडक स्तरोन्नतिलाई प्राथमिकता - भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल

बागलुङ । नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले बागलुङको बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गर्दै ढोरपाटन पुग्ने पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिलाई प्राथमिकता दिने बताउनुभएको छ ।

ढोरपाटन–सालझण्डी सडकअन्तर्गत बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक अनुगमनपछि मन्त्री लम्सालले ढोरपाटन पुग्ने पर्यटकलाई स्तरीय सडकमार्फत स्वागत गर्ने वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ढोरपाटन पुग्ने सडकको अवस्था र निर्माणमा देखिएका समस्या पहिचान गरी समाधान गर्न मन्त्री लम्साल शनिबार राति ढोरपाटन पुग्नुभएको र आइतबार बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गरी फर्कनुभएको बागलुङ क्षेत्र नं २ का संघीय सांसद शोम शर्माले जानकारी दिनुभयो ।

“फल्लेघर क्षेत्रमा हालै स्तरोन्नति गरिएको सडकमा पहिरो गएका कारण समस्या रहेको र ठाउँ–ठाउँमा पहिरो खस्दा समस्या भएको पाइयो,” मन्त्री लम्सालले भन्नुभयो, “वर्षामा पहिरो पन्छाउनेलगायतका काम आयोजना र नगरपालिकाले मिलेर गर्नेछन् । ढोरपाटन पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि छिट्टै ठेक्का लाग्छ, सरकारले बजेटको व्यवस्था गरेको छ ।”

सालझण्डी–ढोरपाटन सडक निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले ठेक्का लागेका क्षेत्रमा छिटो काम सम्पन्न गर्न र ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया अघि बढाउन आयोजनालाई निर्देशन दिनुभयो । “ढोरपाटनको प्राकृतिक सौन्दर्य चुम्न हिँडेका यात्रुलाई सडकका कारण समस्या हुने अवस्थाको अन्त्य गर्न सरकारले यथाशक्य छिटो काम गर्छ,” उहाँले भन्नुभयो ।

अनुगमनका क्रममा मन्त्री लम्सालले बुर्तिबाङ बजारका स्थानीयसँग छलफलसमेत गर्नुभयो । स्थानीयले बुर्तिबाङ बजारमा देखिएको खानेपानीको समस्या समाधान तथा बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा विस्तारमा सहयोग गर्न मन्त्रीसमक्ष माग गरेका थिए । स्थानीयका समस्या तथा गुनासा सुनेपछि मन्त्री लम्सालले बुर्तिबाङ बजारको खानेपानी तथा प्रादेशिक अस्पतालको समस्याबारे आफू अवगत भएको बताउनुभयो ।

“सरकारले क्रमशः जनताका समस्या प्राथमिकताका आधारमा समाधान गर्छ,” उहाँले भन्नुभयो, “समस्या पहिचान गर्न सकेमा मात्र समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।” राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।

सडक चौडा बनाएर ग्राभेल गरिए पनि कालोपत्र नभएका कारण वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने समस्या देखिएको छ । रु. २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको हो । वर्षायाममा नयाँ सडकमा सवारीसाधन फस्ने तथा आवतजावतमा समस्या हुने भएकाले स्तरोन्नति गरिएका सडकमा कालोपत्रको आवश्यकता देखिएको छ ।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा र गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म पुगेको छ । सडक निर्माणमा भइरहेको ढिलाइको अवस्था बुझ्न मन्त्री लम्साल पाल्पा हुँदै बागलुङ आउनुभएको हो ।-आदर्श सञ्चार

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै