बागलुङमा ५ फरार अभियुक्त पक्राउ
बागलुङ । अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीहरूलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका प्रहरीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दाका गल्कोट नगरपालिका–६ का २५ वर्षिय पवन गौतम (प्रमोद), ७७ वर्षिय अणदत्त गौतम र ५० वर्षिय भविन्द्र गौतम रहेका छन्।
त्यस्तै, घरेलु हिंसा मुद्दामा गल्कोट नगरपालिका–९ का ४५ वर्षिय लाल बहादुर दर्जी र चेक अनादर मुद्दामा बरेङ गाउँपालिका–२ का भिम बहादुर श्रीसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै कसुरदारहरूलाई जरिवाना असुली तथा बाँकी कैद भुक्तानीका लागि बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
प्रहरीले संयुक्त विशेष अप्रेसन संचालन गरेर उनीहरूलाई पक्राउ गरेको त्वातीले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्याय सम्पादनलाई पूर्णता दिन अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।


अनिष पाठक
प्रतिकृया दिनुहोस