• ९ असोज २०८३, शुक्रबार
  • ०३:४९:०६

Now:

Next: शुभारम्भ धुन

२५ जना क्षमताको गुल्मी कारागारमा एक सयबढी कैदीबन्दी

गुल्मी। २५ जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या भएकाे छ । जिल्ला कारागार कार्यालय गुल्मीका जेलर मेघप्रसाद पोखरेलका अनुसार ‘ङ’ वर्गको कारागारमा हाल एक सय नौ जना कैदीबन्दी रहेका छन् ।

उहाँका अनुसार २४ जना थुनुवा र ८५ जना कैदी छन् । कारागारमा पर्याप्त भवन, खेलमैदान साथै आयआर्जनका लागि उद्योग तथा सीपमूलक काम सञ्चालन गर्न पनि पर्याप्त ठाउँको अभाव रहेको उहाँको भनाइ छ ।

“कैदीबन्दीको इच्छा र चाहनाअनुसार सीप विकास तथा आयआर्जनका काम गर्ने वातावरण बनाउन पर्याप्त खाली ठाउँ छैन,” पोखरेलले भन्नुभयो, “कारागारमा पर्याप्त खेलमैदान, व्यवस्थित बासस्थान र उद्यम गर्न चाहने कैदीबन्दीका लागि आवश्यक व्यवस्था हुनुपर्छ ।”कारागारको भवन जीर्ण बन्दै गएको र पर्खालसमेत भत्किँदै जान थालेकाले सुरक्षा तथा बसोबासमा थप चुनौती उत्पन्न भएको उहाँले बताउनुभयो ।

यसैबिच, कारागारमा स्वास्थ्य सेवाको समस्या पनि विगतमा लामो समयसम्म रहेको थियो । तर पछिल्लो दुई वर्षदेखि उक्त समस्या समाधान भएपछि कारागारमै स्वास्थ्य परीक्षण हुने गरेको र कैदीबन्दीलाई स्वास्थ्य सेवा लिन सहज भएको जेलर पोखरेलले बताउनुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय जिल्ला कारागारमा केही सुधार भए पनि ती पर्याप्त नभएको भन्दै उहाँले राज्यले कारागारको भौतिक पूर्वाधार र कैदीबन्दीको आधारभूत आवश्यकतामा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑