बागलुङका ४७ प्रतिशत घरमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा
बागलुङ । बागलुङ बजारमा बढ्दो डेङ्गु संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेङ्गुको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले भेक्टर सर्भे तथा केस–कन्ट्रोल अध्ययन सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी तथा विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सम्मिलित टोलीले बागलुङ नगरपालिका–१ देखि ४ सम्मका १५० घरधुरीमा डेङ्गु सार्ने एडिस लामखुट्टेको अवस्थाबारे अध्ययन गरिरहेको छ।
टोलीले डेङ्गु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारकहरूको तुलना गर्न केस–कन्ट्रोल अध्ययनसमेत गरिरहेको छ। साथै, धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गुको भेरियन्ट पहिचान गर्ने काम भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो।
हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गु सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ। यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो। जाँच गरिएका २९५ वटा पानीका भाँडा तथा कन्टेनरमध्ये २१ प्रतिशतमा लामखुट्टेको लार्भा भेटिएको अध्ययन टोलीले जनाएको छ।
अध्ययनका क्रममा घर तथा घर वरपर पानी जम्ने भाँडा, ट्यांकी, गमला, टायरलगायतका स्थान डेङ्गु सार्ने लामखुट्टेका लागि प्रजननस्थल बन्न सक्ने देखिएको छ। टोलीले पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने तथा प्रयोगमा नरहेका भाँडा र कन्टेनर खाली राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अध्ययनमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फेयरमेड फाउन्डेसनले सहजीकरण गरिरहेका छन्।


प्रतिकृया दिनुहोस