पहिरोमा परी ताराखोलामा एक पुरुषको मृत्यु, निसीखोलामा १२ पशु पुरिए
बागलुङ । बिहीबारदेखी परेको अविरल वर्षाको कारण ताराखोलामा एकजनाको पहिरोमा परि मृत्यु भएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका – ५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो । प्रसाईका अनुसार घरमा आसिंक क्षति पुगेको भए पनि रोका सुत्नेकोठामा भने पहिरोले पुरेको थियो ।
स्थानीयका अनुसार घरमै सुतिरहेको अवस्थामा राेका पहिरोमा पुरिएका हुन
यसैविच जिल्लाको निसीखोला गाउँपालिका–२ उपल्लो बेङ्ग्रीमा एक गोठ पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिरोमा परी गोठभित्र रहेका ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु पुरिएका छन् ।निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माका अनुसार अविरल वर्षाका कारण स्थानीय लेखनाथ विकको गोठमाथिबाट पहिरो खसेको हो ।
पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि पशुचौपाया समेत पुरिएको उहाँले बताउनुभयो । अहिले पहिरोमा पुरिएका पशुचौपाया निकाल्न स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको छ ।
पहिरोका कारण विकको ढुंगा–माटोले बनेको टिनले छाएको दुईतले घरमा समेत सामान्य क्षति पुगेको छ । घर आसपासको क्षेत्रमा पहिरोको जोखिम रहेकाले उक्त घर जोखिममा परेको प्रहरीले जनाएको छ । सो घरमा ६ जनाको परिवार बस्दै आएको छ ।


प्रतिकृया दिनुहोस