• ११ असोज २०८३, आइतबार
  • ०४:००:०७

Now:

Next: शुभारम्भ धुन

जाेखिममा बागलुङमा खोला किनारका बस्ती

फाेटाे - गलकाेट अपडेट

बागलुङ । पछिल्लो दशक बागलुङको ढोरपाटन स्रोत भएका भुजीखोला, तमानखोला र बडिगाडमा पहिलेभन्दा बढी बाढी, पहिरो आयो । पहिरोले सयौं घर विस्थापित भए । दर्जनौं बस्ती जोखिममा परेका छन् । पशुचौपाया, खेतीपाती क्षतिको त हिसाबै छैन । ती खोलाका पहिरोले बुर्तिवाङ बजार धेरै ठाउँमा कटान ग¥यो । घर बगे, पुलहरूमा क्षति पुग्यो ।

२०७८ सालमा पहिरोले बडीगाड खोला नै थुनियो । एक वर्षसम्म तुरतुरेमा विशाल ताल बन्यो । तालले बस्ती डुबायो; सडक बग्यो । त्यसपछि तटीय क्षेत्रमा ठूलो जोखिम आइलाग्यो । संयोगले एक वर्षपछि त्यहाँ बनेको ताल क्रमशः खोलियो । एकै पटक खुलेको भए तटीय क्षेत्रको बस्ती जोखिममा पथ्र्यो । त्यो हुनबाट जोगियो ।

अझै पनि यहाँको सडक बन्न सकेको छैन । न त जोखिममा परेको बडिगाडको व्यवस्थापन भएको छ । जति बेला पनि यहाँ थप विपत्ति आउने खतरा छँदै छ । बागलुङको भूगोल भएर बग्ने कालीगण्डकीको तटीय क्षेत्र उच्च जोखिममा छ । म्याग्दीका खोचमा खस्ने पहिरोले जति बेला पनि कालीगण्डकीको बहाव बढ्ने खतरा रहेको भू–संरक्षणकर्मी शेरबहादुर श्रेष्ठ बताउँछन् ।

उनले नदी र खोला किनारका बस्ती समयमा व्यवस्थापन गर्न पनि राज्य र स्थानीय तह सक्रिय बन्नुपर्ने सुझाव दिए । जिल्लाको मध्य भागमा बग्ने दरमखोला, बडिगाड खोला, भुजीखोला, गौंदीखोला जस्ता क्षेत्रमा खोला किनारमै बसेका बस्ती जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘हामीले खोलाको छेवैमा घर बनाएका छौं, जति बेला पनि जोखिम छ, तर कसलाई घर छाड्न भनौं ?,’ आचार्यले भने, ‘जोखिमबारे सचेतना दिने हो । अरु समस्या समाधान आफै गर्ने हो ।’ विपद् व्यवस्थापन समितिले समस्या आएपछि समाधान गर्ने भए पनि पूर्व सर्तकताका लागि पनि काम गरेको उनले खुलाए ।

समितिले कालीगण्डकी नदीमा आउने जोखिम आकलन गर्न टोली नै तयार गरेको छ । मुल हिमनदी भएकाले कालीगण्डकीमा जति बेला पनि हिमपहिरो आउने, त्यसले भोटेकोशी झै असर पर्ने सम्भावना छँदै छ । नदी किनारका घरपरिवारको तथ्यांक संकलन गर्ने र घरको अवस्थिति पत्ता लगाउन प्राविधिक सहितको टोली खटाइने आचार्यले बताए ।

कुण्डबाट आउने पानी मिस्त्रीखोला हुँदै म्याग्दीको नारच्याङ आएर कालीगण्डकी नदीमा मिसिन्छ । यहाँ १५० मेगावाटभन्दा बढीका विद्युतगृह निर्माणाधीन छन् । कालीगण्डकी नदी किनारमा म्याग्दीको बेनी बजारसहित बागलुङको मालढुंगा, निरयघाट, माझी बस्ती, ढोडेनी, जैमिनीधाम, बेलबगर लगायतका एक दर्जन बस्ती छन् ।

गलकोटको हटिया बजार दरमखोला र गौंदीखोलाको तिरमा छ । यहाँ पनि खोला किनारमैसयौं घर बनेका छन् । बाढी आएको खण्डमा हुने जोखिमबारे आकलन गर्न नसकिने नगर प्रमुख भरत शर्मा गैरे सुनाउँछन् । ‘नगरपालिका बनेपछि भन्दा पनि पहिला बनेका घर खोलाछेवैमा छन्’, गैरेले भने, ‘जोखिम न्यूनीकरणका लागि नगरको योजना छ, तर सबै योजना सञ्चालनमा ल्याउन प्राविधिक कठिनाइ छ ।’

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑