पहिरोले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार
बागलुङ । जिल्लाकाे बागलुङ बजारमा खानेपानीको हाहाकार हुन थालेपछि नगरपालिकाले दमकल र ट्याङ्कमार्फत पानी वितरण गर्न थालेको छ । गत असोज ८ गते बागलुङ बजारमा वितरण गरिएको खानेपानीको पाइप पहिरोले बगाइ दिएपछि खानेपानीको समस्या भएको हो ।
बजारबासीलाई खाना पकाउन तथा सरसफाइका लागि नगरपालिकाले बिहीबार विहानैदेखि दमकल र ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको हो । पाइप बगाएपछि बागलुङ बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि खानेपानीको समस्या भोग्नु परेको छ । पहिरो बागलुङ नगरपालिका–३ हनुमानमौवा छेउमा मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ ।
लिफ्टिङमार्फत काठेखोलाबाट ल्याएको पानी कैलामपोखरी, सुल्डाँडा र मुश्यास्वाराको ट्याङ्की पुर्याएको छ । मुख्य ट्याङ्कीमा ल्याएको पाइपमा पहिरोले क्षति पुगेको बागलुङ नगरपालिकाका नगर प्रहरी प्रमुख राजेश कुमार केसीले जानकारी दिए।
‘असोज ८, ९ र १० गते ठूलो वर्षा भयो, वर्षाले ठाउँ ठाउँमा ठूलो पहिरो गएको छ, पहिरोले बागलर बजारमा आउने खानेपानीको धेरै पाइपहरु बगाएको छ,’ उनले भने ‘पहिरो हटाएर पाइज जोड्ने कामको थालनी भएको छ, तर अझै केही दिन लाग्ने देखेपछि हामीहरुले दमकल र ट्याङ्करमा पानी लिएर बजारवासीलाई वितरण गर्न थालेका हौँ ।’
तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको छ ।
बाढीले ठाउँ ठाउँमा पाइप बगाउँदा पानी आपूर्तिमा समस्या भएको हो । रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ । अन्य कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने देखिएको छ । संस्थाका सचिव जीवन आचार्यका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्याएको छ ।
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीका अनुसार रिठेखोलाबाट ल्याइएको पाइप मर्मत सम्पन्न भइसकेको छ । मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो सङ्ख्यामा उपभोक्ता प्रभावित भएका छन् ।


प्रतिकृया दिनुहोस