• १९ असोज २०८३, सोमबार
  • ०५:४८:०८

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

गुल्मीका गर्भवती र सुत्केरीलाई आमा समूहको पोषण कोसेली

गुल्मी । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका–३ मा रहेको देविस्थान स्वास्थ्य आमा समूहले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री कोसेलीका रूपमा दिन थालेको छ । आमा समूहले आफ्नै स्रोतबाट खर्च जुटाएर विगत केही वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

देविस्थान स्वास्थ्य आमा समूहकी अध्यक्ष विष्णुमाया खासुका अनुसार गर्भावस्थामा रहेका महिलालाई नाङ्लोभरि विभिन्न पोषणयुक्त खाद्य सामग्री सजाएर कोसेली दिने गरिएको छ । कोसेलीमा अन्न तथा कन्दमूल, गेडागुडी, हरियो सागपात, फलफूल र पशुजन्य आहार राख्ने गरिएको उहाँले बताउनुभयो । सुत्केरी भएपछि भने एक क्यारेट अण्डासहित तेल, चामल, ज्वानो लगायतका खाद्य सामग्री दिने गरिएको छ ।

यस वर्ष हालसम्म छ जना गर्भवती तथा सुत्केरी महिला कार्यक्रमबाट लाभान्वित भएका छन् । गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले स्वास्थ्य आमा समूहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले सुनौलो हजार दिनका आमा तथा बालबालिकाको पोषण अवस्था सुधारसँगै पोषणसम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकामा ८३ वटा स्वास्थ्य आमा समूह रहेका छन् । सबै समूहले स्वास्थ्य सचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। प्रत्येक महिनाको १५ देखि २४ गतेसम्म स्वास्थ्य आमा समूहहरूको मासिक बैठकसमेत हुने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑