बाढीपहिरोले बागलुङमा ५९ घरमा पूर्ण क्षति
बागलुङ । बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी क्षति निसीखोला गाउँपालिकामा भएको छ । निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् ।
पहिरोमा परी चार वटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएको प्रशासनले जनाएको छ ।
तमानखोला गाउँपालिका–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं. ७ भिमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।
ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रशासनको विवरणमा उल्लेख छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला गाउँपालिकाका वडा नं. १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ ।


प्रतिकृया दिनुहोस