• १९ असोज २०८३, सोमबार
  • ०५:४८:१५

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

कहिले खुल्ला मालढुंगा पुल?

बागलुङ । असोज ११ को बाढीले क्षति पुगेको पोखरा बागलुङ राजमार्गको सहश्रधारादेखि नयाँपुल सडक खण्डको अस्थायी ट्रयाक खुलेर सवारी साधन चल्न थालेका छन् । मालढुंगा बेनी सडक समेत मर्मत गरिएपछि बेनीबजारदेखि पोखराकालागि नियमित सवारी चल्न थाले । यी सडक बनेको देखेर छिटो काम भएको प्रतिक्रिया दिएका स्थानीय मालढुंगा पुल मर्मतमा ढिलाइ हुँदा निरास छन् ।

सडक बिभागले मर्मत गरिरहेको यो पुलको काम सुस्त गतिमा चल्दा यात्रुले सास्ती खेपिरहेका छन् । यो पुल संचालन नहुँदा स्थानीयले यातायात मात्र नभइ खाद्यान्न, अत्यावश्यक सेवा र बिरामीले उपचारमा जानआउन समेत पाएका छैनन् । बाढीले बगेको ६ दिनसम्म पनि मालढुंगा पुलको पुर्विखण्डको भागमा काम निकै ढिला भएको हो ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इन्जिनियर हरिप्रसाद शर्माले शुक्रबारसम्म ३० प्रतिशत मात्र काम भएको बताए । ‘यो काम निकै जटिल थियो, २५ मिटरको फिलिङ गर्नुपर्नेमा शुक्रबारसम्म ८ मिटर फिलिङ भएको छ,’ उनले भने, अझै १७ मिटर बाँकी छ, तर काम भैरहेको छ ।’ उनका अनुसार ६ दिनमा ३० प्रतिशत काम भएको आधारमा अझै १५ दिनमा पनि काम सकिन कठिन छ ।

पुल बनाउन चाहिने सामग्री जति छिटो ल्याउन सकिन्छ त्यतिनै कामले गति लिने उनले बताए । पोखरास्थित सडक डिभिजन प्रमुख कृष्णप्रसाद अधिकारीले भने बेस बनाउन ढिला भए पनि माथिल्लो खण्डमा छिटो हुने दाबी गरेका छन् । उनले पहिलो चरणमा पोखरादेखि कोरला नाका खुलाउने काममा लाग्दा पुलमा केही ढिला भए पनि प्राविधिक काम भएकोले समय लागेको बताए ।

आर्क ब्रिज भएकोले बागलुङ तर्फबाट सामग्री लैजान नमिल्दा पर्वत खण्डबाट मात्रै एकोहोरो काम गरिएको हो । यो पुल नबन्दा बागलुङ प्रवेशद्वार ठप्प भएको छ ।  पुल संचालनमा आउन नसकेपछि बागलुङमा खाद्यान्न, तरकारी र पेट्रोलियम ढुवानीमा समस्या भएको छ । ग्यास र पेट्रोलियम पदार्थ आपुर्ति नभएपछि भत्केका सडक मर्मत गर्न एस्क्साभेटरलगायतका मेसिन संचालनमा कठिनाइ भएको छ ।

बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले संचालन गरेको सुपथ मूल्य पसलमा पनि चिनी, तेल र नुन ढुवानीमा समस्या थपिएको कार्यालय प्रमुख मनोज श्रेष्ठले बताए । पर्वत सदरमुकाम आएर बसेको सामग्री बागलुङ ल्याउन पुल नबनेकै कारण नसकिएको उनले बताए । 

पुल नबनेकै कारण नेपाल टेलिकमले डाउन भएका दर्जन बढी ‘बिटिएस’ संचालनमा ल्याउन नसकेपछि  टावरमा जेनेरेटर संचालन नभइ दर्जनौं गाउँ सञ्चार सम्पर्कमा आउन सकेका छैनन् । ‘सडक छैन, विद्युत छैन र त्यसैको कारणले संचार बिच्छेद छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘जिल्लाको क्षतिको आंकलन समेत निकाल्न सकिएको छैन ।’

ताराखोला, गलकोट, निसीखोला, तमानखोला र बडिगाड तथा ढोरपाटनमा समेत टेलिफोन समस्या आएको उनले बताए । मालढुंगाको पुल संचालनमा आएमा इन्धन ढुवानी सहज बन्ने र त्यसले जिल्लाभित्रका अन्य धेरै समस्या समाधान गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑