• २ भदौ २०८३, मंगलबार
  • १९:०७:४९

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

लुम्बिनी प्रदेशका ४४ वटा पालिकामा २० हजारभन्दा बढी बाँदर

बुटवल । लुम्बिनी प्रदेशका अधिकांश र मध्यपहाडी जिल्लाका ४४ गाउँपालिकामा गरिएको अध्ययनका क्रममा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागमा कार्यरत प्राध्यापक डा. हरि शर्मा नेतृत्वको अनुसन्धान टोलीले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न क्षेत्रमा तीन प्रजातिका बाँदर पाइने तथ्य सार्वजनिक भएको हो ।

अध्ययनका क्रममा रातो बाँदर, पहरे बाँदर र लङ्गुर बाँदर भेटिएको प्राध्यापक डा. शर्माले बताए । तीमध्ये रातो बाँदरले किसानलाई सबैभन्दा बढी दुःख दिने गरेको अध्ययनबाट पाइएको उनको भनाइ छ । सन् २०२५ मा गरिएको उक्त अध्ययनले लुम्बिनी प्रदेशमा बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक रणनीति अपनाउनुपर्ने देखाएको छ ।

बाँदरका कारण किसानको बालीनालीमा क्षति हुनुका साथै मानिसमा विभिन्न रोग सर्न सक्ने सम्भावना पनि रहेको प्राध्यापक शर्माले बताए । त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा प्राध्यापक शर्मा नेतृत्वको टोलीले लुम्बिनी प्रदेशमा वन्यजन्तुसम्बन्धी अध्ययन विगत दुई वर्षदेखि गर्दै आएको छ ।

बाँदरसम्बन्धी अध्ययन सम्पन्न भए पनि प्रदेशका अन्य वन्यजन्तुका विषयमा अनुसन्धान जारी रहेको शर्माले बताए । बाँदरसँगै दुम्सी, बँदेललगायत जंगली जनावरको व्यवस्थापनका विषयमा समेत अध्ययन भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार जंगली जनावरको बासस्थान एउटै स्थानीय तहमा मात्र सीमित नहुने भएकाले मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्दा पनि स्थानीय तहको सीमाभन्दा माथि उठेर समग्र क्षेत्रमा आधारित रणनीति बनाउन आवश्यक छ । पछिल्लो समय लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची र पाल्पामा बाघको अवस्थाबारे समेत अध्ययन भइरहेको छ । यस्तै, पूर्वी रुकुममा रेडपाण्डासम्बन्धी अध्ययन भइरहेको प्राध्यापक शर्माले बताए ।

बाँदरको संख्या व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बन्ध्याकरण, हेरालु राख्ने तथा जंगली जनावरबाट क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउनुपर्ने सुझाव अध्ययनले दिएको छ । प्राध्यापक शर्मा प्राकृतिक स्रोत व्यवस्थापनमा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सबाट अध्ययन गरेका तथा ताइवानबाट विद्यावारिधि गरेका अनुसन्धानकर्ता हुन् ।

उनले रेडपाण्डादेखि बाघसम्म मानव–वन्यजन्तु द्वन्द्वसँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान गर्दै आएका छन् । शर्माका अनुसार वन्यजन्तुको संरक्षणसँगै त्यसबाट मानिसमा हुने क्षति र द्वन्द्व न्यूनीकरणका लागि सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि आवश्यक हुन्छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन स्थानीय अवस्था, वन्यजन्तुको व्यवहार र मानिसको आवश्यकता तीनै पक्षलाई ध्यान दिएर व्यवस्थापनका उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।-राताेपाटी

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै