• १८ असोज २०८३, आइतबार
  • ०३:४४:४३

Now:

Next: शुभारम्भ धुन

यस कारण बाढीले निसीखोलामा घर बगायाे

फाेटाे - विनाेद थापा

बागलुङ । निसीखोला गाउँपालिका–४ कानाबगरका तुलबहादुर सुनारको घर असोज ११ को बाढीले बगायो । उनी घरबारविहीन भए । बालबालिका च्यापेर उनीनजिकैको जनजिवराज माविमा आश्रय लिन पुगे । खाने लाउने सबै बगेपछि उनको परिवारको बिचल्ली छ । विभिन्न व्यक्ति र संस्थाले लगिदिएको खानाको भरमा विद्यालयको कोठामा बस्न बाध्य छन् ।

वडा कार्यालयले भने अस्थायी रुपमा बसोबास गर्न आफन्त र छिमेकीको घरमा कोठा खोज्दैछ। वडाध्यक्ष टिकानिधी पौडेलले आफन्त खोज्दै पठाउने काम गरिरहेको बताए । ‘विद्यालयमा राखिरहन पनि धेरै गाह्रो भयो, अब आफन्तकोमा पठाउने योजना छ,’ उनले भने, ‘सम्भव भएसम्म आफन्तकोमा पठाउने र राहत उतै दिने तयारी गरियो ।’ विद्यालयमा बस्न सास्ती भएपछि यो उपाया निकालेको उनले बताए ।

कानाबगरकै दिलकुमारी रेग्मीको पनि यस्तै हाल छ । बाढीले घरजग्गा नामेट पारेपछि उनीहरु कता बस्ने के खानेमा अन्यौल छन् । राहतको रुपमा आएको जे छ त्यसैमा चित्त बुझाएर बस्न बाध्य छन् । ‘घर जग्गा सबै बग्यो, न खाने कुरा छ, न लाउने कुरा’ उनले भनिन्, ‘एकसरो जे लगाएका थियौं, त्यसैमा चारपाँच दिन बिताइ सकेका छौं ।’

छानो न मानो भएपछि अर्काको भरमा बस्न बाध्य भएको उनले गुनासो गरिन् । निसीखोलामा पहिरोले एकै घरका ४ जना सहित ५ को मृत्यु समेत भएको छ ।  पीडित परिवारलाई प्रारम्भिक राहत दिए पनि दिगो व्यवस्थपनको चुनौती छ । जनजिवराज मावि र प्रभा माविको शिविरबाट आफन्तकोमा पठाउने काम भैरहे पनि सबैका आफन्त भेटिएका छैनन् ।

अझै यहाँ पर्याप्त राहत तथा क्षतिपुर्तिको व्यवस्थापनको काम बाँकी छ । मृत्यु भएका परिवारको समस्या एकातर्फ छ । घरबारविहीनलाई पुनस्थापनाको अर्को चुनौती छ । घरखेत बगेको र आफन्त पनि समस्यामै भएकाहरुलाई भने शिविरमा राखेर पछि व्यवस्थापन गर्ने योजना पौडेलले सुनाए ।

सकेसम्म सबैलाई घर भएकै स्थानमा लगेर राहत दिने र राखिदिने घरपरिवारलाई पनि अनुरोध गर्ने उनको योजना छ । गाउँपालिकाले तत्कालकालागि उनीहरुको खानेबस्ने सामाग्रीकालागि राहत दिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पनि बुधवार घटनास्थलमा पुगेर पाल, खाद्यान्न लगायतको सामाग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर, जुग्जाखोलालगायतका दर्जन बस्ती निसीखोला किनारमै छन् । मध्यपहाडी लोकमार्ग पनि यो खोला छेवैबाट रुकुमतर्फ गएको छ । यहाँ त्यस्तो ठूलो विपद् आएको थिएन । वर्षौंदेखिका यी बस्तीमा अहिलेसम्म खोला पसेको थाहा नपाएको स्थानीयले बताए ।

तर असोज ११ गतेको बाढीले एकाएक यहाँको झिवाखोला बजार बगायो । यहाँको लिटिल रोज बोर्डिङ पहिरोले जीर्ण बनाएको छ । पढाइ अस्तव्यस्त भएको प्रअ प्रेमलाल सापकोटाले बताए ।

बस्तीमा यसरी पस्याे बाढी 

यो बस्ती बग्नुमा कारण थियो कानाबगरको पहिरो । असोज ९ गते नै कानाबगरमा पहिरो खसेर लोकमार्ग अबरुद्ध थियो । गाडीहरु फसेका थिए । त्यो पहिरोले निसीखोलाको धार परिवर्तन गरिदियो । त्यही पहिरोले निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको इन्टेक र नहर बग्यो । त्यो बहावले नजिकैको झोलुंगे पुलको पिलर फालेपछि खोला झिवाखोलातर्फ मोडिएको थियो।

यो खोला मोडिएपछि यहाँका ३५ घरको नाम निसाना मेटियो । अरु २५ घरमा क्षति पुगेपछि बस्नै नमिल्ने भए । यसरी ६० घर परिवारमा एकैपटक बिपत्ती आएपछि गाउँपालिका र वडालाई व्यवस्थापन गर्न धेरै कठिनाइ भयो । लोकमार्ग पनि बगेकोले आवतजावत ठप्पै छ । सदरमुकाम देखि निसीखोला स्थित यो पहिरो गएको स्थान १ सय २० किमी पश्चिममा पर्छ ।

लोकमार्गमा दर्जनौं पहिरोले तत्काल जिल्लाको उद्धार टोली पुग्न सकेन । स्थनीयले जे जस्तो सहयोग गरे त्यसैमा पीडितहरु बस्न बाध्य भए । सदरमुकामबाट संकलित केही राहत हेलिकोप्टर मार्फत लगियो । सडक खुलेपछि भने सदरमुकामबाट विपद् व्यवथापन समितिका पदाधिकारी समेत पुगेर पीडितलाई पुनस्थापनाकालागि पहल गर्ने निर्णय गरेका छन् ।

त्यसबाहेक पुननिर्माणको काम भने तत्काल सम्भव नहुने भएपछि त्यतिन्जेल पीडितलाई विद्यालयमा भन्दा आफन्त र छिमेकीमा बस्ने व्यवस्थापनको जोहो गर्ने काम थालिएको हो । सदरमुकामदेखि झिवाखोला पुग्ने सडक खुलाइए पनि त्यसमाथिको कटान भएको सडक भने अझै खुलेको छैन। धेरै लगानी र मेहेनतबाट मात्र यो सडक खुल्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । 

लोकमार्ग आयोजना कार्यालयमा पनि खवर भएको र सकेसम्म छिटो खुलाउने प्रयास भएको उनले बताए । बाढीले निर्माणाधीन निसीखोला आधारभूत अस्पतालको वरिपरि बगर बनेको छ । अस्पताल भवनसम्म जाने बाटो समेत छैन । सबै व्यवस्थापन गरेर सरसफाइ गर्न एकडेढ महिना लाग्ने स्थानीयले बताए ।

सडक, खानेपानी र अन्य आधारभूत समस्या समाधानकालागि पालिकाले सबै क्षेत्रमा सहयोगको अपिल गरेको छ भने स्थानीय जनप्रतिनिधि र गण्डकी प्रदेशसभाका सदस्यहहरु पनि यो समस्या समाधानमा खटिएका छन् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑