• १८ असोज २०८३, आइतबार
  • ०३:४४:३८

Now:

Next: शुभारम्भ धुन

बागलुङमा बिहे गर्ने उमेर नपुगेका ३ सयबढी किशोरी आमा बने

बागलुङ । ‘बिहे बारी २० वर्ष पारी’ । यो प्रचलित भनाइ हो । तर, २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्था भएपनि बागलुङमा २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीहरूको संख्या भने उल्लेख्य रहेको छ । यो संख्या हरेक वर्ष बढ्दो छ । २० वर्ष उमेर नपुगी आमा बनेका यी किशोरीहरू अविवाहित भने होइनन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८२/०८३मा मात्र ३ सय ६२ जना किशोरी आमा बनेका छन् । उनीहरूले बागलुङका विभिन्न स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका हुन् । गर्भवती भएको पहिचान गर्न स्वास्थ्य संस्था पुगेकाहरूको तथ्याङ्क हेर्ने हो भने सुत्केरी हुनेको संख्या भन्दा फरक रहेको छ ।

२० वर्षभन्दा कम उमेर समूहका ३ सय ८८ जना किशोरीले पहिलो पटक गर्भजाँच गरेको तथ्याङ्क कार्यालयसँग छ । पहिलो पटक गर्भजाँच गरेका २६ जना किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएको भने तथ्याङ्क छैन । यो अवधिमा २० वर्षभन्दा माथिका १ हजार ७ सय ८५ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।

उनीहरू बागलुङ भन्दा बाहिरका स्वास्थ्य संस्थामा वा घरमै सुत्केरी भएको हुनसक्ने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले बताउनुभयो । पहिलो पटक गर्भजाँच गरेको स्वास्थ्य संस्थामा गर्भवतीको तथ्याङ्क रहने भन्दै सो भन्दा अन्य स्वास्थ्य संस्था जिल्लाभित्रकोमै गएर सुत्केरी भएको भएपनि कार्यालयको तथ्याङ्कमा समावेश गर्ने व्यवस्था नभएकोले छिटफुट बाहेक बागलुङमा घरमा सुत्केरी हुनेको संख्या शून्य रहेको उहाँले बताउनुभयो ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नमिले पनि राज्यले यसरी विवाह गरेर सुत्केरी भएकाहरूलाई भने सुविधा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । ‘सुत्केरीलाई पोषणको आवश्यकता हुन्छ, कम उमेरका सुत्केरीलाई अझ धेरै आवश्यकता हुन्छ,’ शर्माले भन्नुभयो, ‘तर विवाह गर्न नमिल्ने उमेरका किशोरीलाई सुत्केरी भत्ता, स्थानीय सरकारले पोषण भत्ता, नवजात शिशुलाई समेत खाता खोलेर रकम जम्मा गरिदिने प्रचलन छ, कानुनमै एकरूपता छैन ।’

कम उमेरमा गर्भवती बनेकाहरूलाई सम्झाउन बुझाउन समेत समस्या हुने गरेको जनस्वास्थ्य प्रशासक शर्माको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२मा २० वर्षभन्दा कम उमेरका ३ सय ८ जना किशोरी आमा बनेका छन् । आर्थिक वर्ष ०८२/०८३को तुलनामा आमा बन्ने किशोरीको संख्या कम देखिएपनि गर्भजाँच गर्नेहरूको संख्या भने बढी रहेको छ ।

४ सय जना किशोरी गर्भवती रहेको तथ्याङ्कमा भएपनि संस्थागत रूपमा सुत्केरी हुनेको संख्या भने ०८२/०८३मा कम देखिएको छ । गर्भवती र सुत्केरी भएको तथ्याङ्क हेर्दा ९२ जना किशोरीले बागलुङका स्वास्थ्य संस्थामा सुत्केरी भएको देखिँदैन । यो समयमा २० वर्षभन्दा बढी उमेर समूहका २ हजार ३१ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१मा ३ सय ६० जना किशोरी आमा बनेका थिए । ४ सय ५० जना किशोरी गर्भवती रहेको तथ्याङ्क भएपनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको तथ्याङ्क भने यो वर्ष पनि कम देखिएको छ । सो आर्थिक वर्षमा २ हजार ४१ जना २० वर्षभन्दा माथिका महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य संगठनले गर्भवती भएदेखि सुत्केरी हुने समयसम्म आपतकालीन बाहेक नियमित रूपमा ८ पटक गर्भजाँच गर्नु पर्छ भन्छ । तर, बागलुङमा भने गर्भको पहिचान भएपछि सुत्केरी हुने समयसम्म चेकजाँच गर्ने किशोरीहरूको संख्यामा पनि कम रहेको छ ।

आर्थिक वर्ष ०८१/०८२मा २० वर्ष भन्दा कम उमेर समुहका ३ सय ८८ र २० वर्षभन्दा माथिका २ हजार ६ सय ३ जनाले पहिलो पटक गर्भको जाँच गरेका थिए । दोस्रो पटक गर्भ जाँच गर्दा यो संख्या २० वर्षभन्दा कम उमेर समुहका २ सय ६१ र २० वर्ष भन्दा माथिका २ हजार ५५ पुग्यो ।

कार्यालयको तथ्याङ्क हेर्दा तेस्रो पटक गर्भ जाँच गर्नेको संख्या घटेर २० वर्ष भन्दा कम उमेरका २ सय १७ र २० वर्ष माथिका १ हजार ५ सय ९५ पुगेको देखिन्छ ।बच्चा ज न्माउने तयारी गरेर गर्भवती बनेकाहरु, आर्थिक अवस्था बलियो भएकाहरुले गर्भको पहिचान नजिको स्वास्थ्य संस्थामा गरेपनि नियमिति चेकजाँच र सुत्केरी सुविधा सम्पन्न स्वास्थ्य संस्था र सदरमुकाममा गर्ने प्रवृति भएकाले पनि नियमित चेकजाँच र सुत्केरी हुनेको संख्या कम देखिएको हुनसक्ने जनस्वास्थ्य प्रशासक शर्माको भनाइ छ ।

बालविवाह रोक्न, यो कानुनमा बर्जित गरिएको विषय हो भनेर जानकारी दिन बागलुङका १० वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । एकीकृत सेवा कार्यालय बागलुङले पनि बागलुङका गाउँगाउँमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । बालविवाहकै रूपमा तथ्याङ्क खोज्दा नभेटिए पनि हरेक दिन किशोरी आमा बनिरहेको तथ्याङ्क हेर्दा भने बागलुङका गाउँगाउँमा बालविवाह भइरहेको स्पष्ट हुन्छ ।

कमजोर आर्थिक अवस्था, सचेतनाको कमी, सामाजिक र पारिवारिक दबाबका कारणले पनि बागलुङका गाउँगाउँमा किशोरावस्थामै विवाह हुने र आमा बन्नेहरूको संख्या बढिरहेको शर्माको भनाइ छ । यहाँका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन् । बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषणा भएको छ ।

अन्य स्थानीय तह पनि प्रक्रियामा छन् । बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएकै स्थानीय तहमा किशोरीहरू आमा बनिरहेका छन् । सानो उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर देखिने धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट अव्स एण्ड गाइनोकोलोजिस्ट डाक्टर विजय वझाले बताउनुभयो ।

कम उमेर समूहका गर्भवतीमा पोषण नपुग्ने, सामान्य सुत्केरी नहुने, औषधि चलाएर वा अपरेशन गरेर सुत्केरी बनाउनु पर्ने, लामो प्रसव पीडा हुने, रगत बग्ने जस्ता समस्याहरू देखिने गरेको उहाँले बताउनुभयो ।

शारीरिक रूपमा परिपक्व नभएका किशोरी गर्भवती हुँदा उनीहरूको शारीरिक मात्र नभई दीर्घकालीन रूपमा मानसिक असर देखिने बताउनुभयो । उनीहरूमा बच्चा कसरी हुर्काउने, स्याहार गर्ने र आफ्नै पनि स्याहार सुसार कसरी गर्ने जानकारी नहुँदा सुत्केरीपछि पनि समस्याहरू देखिने गरेको डाक्टर वझाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑