च्याउ खेतीको बिमा नहुदाँ किसान मर्कामा
गुल्मी । जापानबाट फर्किएर १० वर्षदेखि कृषि कर्ममा सक्रिय भलामीको च्याउ खेतीबाट छुट्टै पहिचान बनेको छ । दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेसुङ्गा नगरपालिका–८ की ४४ वर्षीय कमला भलामीलाई निकै पीडा पनि छ । भलामीले अहिले दैनिक न्यूनतम दुई सयदेखि बढीमा एक हजार किलो च्याउ बेच्नुहुन्छ तर बिमा कम्पनीले च्याउको बिमा नगर्दा कमलाका सपना बर्सेनि झरी र हुरिबताससँगै उड्ने गरेका छन् ।
भर्खरैको मनसुनले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका फर्मका टनेल हावाले उडाएपछि चार हजार च्याउका बल नष्ट भएका छन् । हावाले टनेल उडाएपछि टिप्ने बेलाका च्याउ नष्ट भए । भलामीको फर्ममा १६ वटा उत्पादन भइरहेका र दुई वटा व्यवस्थापकीय टनेल थिए । चार वटा टनेल नष्ट भएपछि उत्पादनसहित करिब २० लाख रुपियाँ घाटा लागेको भलामीले दाबी गर्नुभयो ।
यो पहिलो पटकको क्षति होइन । उहाँले धेरै पटक वर्षा र हावाले टनेल उडाउने भएकाले सरकारी निकाय र बिमा कम्पनीमा गुहार माग्दै आउनुभएको छ तर कुनै कम्पनीले बिमा नगर्दा अहिले ठुलो क्षति भएको गुनासो भलामीले गर्नुभयो ।
भलामीले गुल्मीमा रेसुङ्गा नगरपालिका–९, उपल्लो तम्घास, वडा नं. १० को राङबास र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउले गरेर तीन ठाउँमा च्याउ खेती गर्नुभएको छ । उहाँको फर्ममा दैनिक १० जनाले काम गर्छन् भने हरेक दिन २० जनाले बजारमा च्याउ बेच्छन् । हरेक दिन बिहान ३ बजे नउठे काम सकिँदैन ।
अँधेरोमै कामदार, च्याउ बोकेर बुटवल झर्ने गाडी र व्यापारीको घरअगाडि भिड हुन्छ । करिब तीन वर्ष जापान बसेर सन् २०११ मा स्वदेश फर्किएकी कमलाले घरमा गाईभैँसी, बाख्रा, बङ्गुरपालन गर्दागर्दै २०७४ बाट व्यावसायिक च्याउ, कुरिलो तथा तरकारी खेती थाल्नुभएको थियो । चार वर्षदेखि परदेश छोडेर श्रीमान् रमेश भलामी पनि घरमै भएकाले दुवै जनाको जोडले च्याउ व्यावसाय फस्टाएको थियो ।
सरकारले सहुलियत कर्जा र बिमा गरिदिए च्याउबाट आम्दानी पनि राम्रो रहेको छ । दसैँतिहारबाहेक सधैँ च्याउको उत्पादन र कारोबार हुन्छ । सरदरमा दैनिक एक लाख रुपियाँको च्याउ बिक्री भइरहेको छ । महिनैपिच्छे १२ देखि १५ हजार बलमा च्याउ उत्पादन हुन्छ । तीन ठाउँमा गरेर ११० टनेल छन् । भलामीले अहिलेसम्म एक करोडभन्दा बढीको लगानी च्याउमा भएको बताउनुभयो ।
अजोड इन्स्योरेन्स लिमिटेड तम्घास शाखा प्रमुख सन्तोष न्यौपानेले च्याउको लागत बिमा हुने भए पनि बिमालेखका सर्त झन्झटिला भएका कारण समस्या भएको बताउनुभयो । उहाँले प्रक्रिया पूरा गर्न, सर्त पालना गर्न र भुक्तानीका लागि काम गर्न सबै किसान सक्षम नभएको बताउनुभयो ।


प्रतिकृया दिनुहोस