• १३ असोज २०८३, मंगलबार
  • ०५:२२:०८

Now: धार्मीक कार्यक्रम

Next: धौलागिरी हालचाल

सिसाखानीकी सरिताले बाटोमै जन्माईन छोरा

बडिगाड । बागलुङकाे बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक सुत्केरी महिलाले अस्पताल लैजाँदै गर्दा बीच बाटोमै शिशुलाई जन्म दिएकी छन्। सिसाखानी साविक वडा नं. ८ सत्डाँडाकी २५ वर्षीया सरिता थापालाई आइतबार बिहान स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै सुरक्षित प्रसूति भएको सिसाखानी स्वास्थ्य चौकीकी महिला स्वास्थ्य स्वयंसेविका तारा थापा मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबार रातिदेखि नै सरितालाई प्रसव पीडा सुरु भएको थियो। तर केही दिनदेखि परेको अविरल वर्षा र हावाहुरीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। साथै मोबाइल नेटवर्कसमेत नचल्दा जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समयमै सम्पर्क गर्न नसकिएको उहाँले बताउनुभयो।

“राति करिब २ बजेपछि परिवारले मलाई बोलाउन आउनुभयो। बिहानसम्म धेरै ठाउँमा सम्पर्क गर्ने प्रयास गर्‍यौँ, तर नेटवर्क चलेन। सडक बिग्रिएकाले गाडीको व्यवस्था पनि गर्न सकिएन,” स्वयंसेविका थापाले भन्नुभयो, “अन्ततः डोकोमा बोकेर करिब डेढ घण्टा लाग्ने स्वास्थ्य चौकीतर्फ हिँडेका थियौँ। केही समयपछि बाटोमै सुरक्षित प्रसूति भयो।”

प्रसूति भएपछि आमा र नवजात शिशुलाई सुरक्षित रूपमा घरमा लगिएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य स्वयंसेविका तारा थापा मगरले जानकारी दिनुभयो। सिसाखानी स्वास्थ्य चौकीकी महिला स्वास्थ्य स्वयंसेविका तारा थापा मगर लामो समयदेखि गाउँ–समाजमा स्वास्थ्य सेवामार्फत निरन्तर योगदान दिँदै आउनुभएको छ।

गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र दुर्गम बस्तीका बिरामीलाई आवश्यक पर्दा घर–घर पुगेर सहयोग गर्ने उहाँको सेवाभाव स्थानीय समुदायमा परिचित छ। कोभिड–१९ महामारीका बेला एक जना ज्येष्ठ नागरिकलाई बोकेर खोप केन्द्रसम्म पुर्‍याउँदै गरेको उहाँको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।

स्वास्थ्य सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विश्व स्वास्थ्य संगठन (WHO) ले पनि उहाँलाई सम्मान गरेको थियो। यसपटक पनि दुर्गम अवस्था, अवरुद्ध सडक र सञ्चार समस्या बीच सुत्केरीलाई स्वास्थ्य चौकीतर्फ लैजाने प्रयासमा उहाँ अग्रसर हुनुभएको थियो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑