• १८ असोज २०८३, आइतबार
  • ०३:४४:४७

Now:

Next: शुभारम्भ धुन

चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना हुने

गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले नेपालका चार धामलाई जोडेर माघ महिनामा ‘रुरु महास्नान’ आयोजना गर्ने भएको छ। रुरुक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने उल्लेख गरेको छ। हरेक वर्ष माघ महिनामा कालीगण्डकीमा स्नान गर्नेहरूको भीड लाग्ने गरेको छ।

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रमा पाँचदिने माघी मेलासमेत आयोजना हुँदै आएको छ। अहिले रुरुक्षेत्र गाउँपालिकाले माघ महिनाभरि नै ‘रुरु महास्नान’ आयोजना गरी चार धामलाई जोडेर यसको धार्मिक महिमालाई अझ उजागर गर्न खोजेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

पछिल्लो समय भारत र चीन जोड्ने कालीगण्डकी करिडोरमै रुरुक्षेत्र पर्ने, नेपालकै पहिलो तीनमुखे पुल तथा विभिन्न धार्मिक र पर्यटकीय संरचना निर्माण भएकाले रिडीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले नीति तथा कार्यक्रममै पालिकाको पहिचानसँग जोडिएको धार्मिक तथा ऐतिहासिक क्षेत्र रुरुलाई प्राथमिकता दिएर स्थानीय सक्रियता बढाइएको बताउनुभयो।

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीका अनुसार केही समयमै नेपालका चार धाम रहेका पालिकासँग भगिनी सम्बन्ध स्थापना गरी रुरु क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसले त्रिवेणी देवघाट, रुरुक्षेत्रको रिडी, कागबेनी, मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्मलाई समेट्ने शालिग्रामपथको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढाउनेछ।

त्यस्तै, कालीगण्डकीमा पाइने शालिग्रामको धार्मिक महत्त्वको संरक्षण तथा प्रचार–प्रसार गरी रुरुक्षेत्रलाई राष्ट्रियस्तरको धार्मिक तीर्थाटन केन्द्रका रूपमा विकास गर्ने नीति तथा कार्यक्रमअनुसार काम गर्दै जाने ज्ञवालीले बताउनुभयो।

उहाँका अनुसार चार धामका स्थानीय सरकारसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि सहकार्य र संस्थागत साझेदारीलाई अगाडि बढाउने योजना रहेको छ। रिडी (रुरुक्षेत्र) एउटा पवित्र तीर्थस्थलका रूपमा स्नान तथा दर्शनका लागि वर्षैभरि मानिसहरू पुग्ने गर्छन्।

रिडीमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको ऋषिकेश मन्दिरका साथै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान वाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, सुगन्धविहार, बुद्ध स्तूप, विभिन्न पौवा र राममन्दिर रहेका छन्।

त्यस्तै, गुप्तेश्वर महादेव मन्दिर, रुरुकन्या मन्दिर, गल्फुले गुफा, देवदत्त र रुरुकन्याका मूर्तिलगायत धार्मिक महत्त्वका धेरै स्थल रहेको रुरुक्षेत्र गाउँपालिका–१ रिडीका युवा व्यवसायी रविलाल पन्थले बताउनुभयो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑