गुल्मीमा नयाँ उद्योग दर्तागर्ने घटे
गुल्मी , जिल्लामा नयाँ उद्योग दर्तामा कमी आएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उपलब्ध गराएको पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनि भइरहेका नयाँ उद्योग दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको अवस्था घट्दै गएको पाइएको हो ।
आव २०७८/०७९ मा विभिन्न प्रकारका ३१२, आव २०७९/०८० मा ११३, आव २०८०/८१ मा ७३, आव २०८१/०८२ मा ५८ र आव २०८२/०८३ मा ५७ उद्योग मात्रै दर्ता भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७८/०७९ मा उत्पादनमूलक उद्योग २८, कृषि तथा वनजन्य उद्योग १८८, पर्यटन उद्योग ५०, सेवामूलक उद्योग ४६ गरी ३१२ उद्योग दर्ता भएका थिए । त्यस आवमा नयाँ उद्योग दर्ताभन्दा नवीकरणको सङ्ख्या धेरै थियो ।
त्यस वर्ष ३३१ उद्योग नवीकरण गरिएको छ, भने १६२ उद्योगको लगत कट्टा गरिएको छ । आव २०७९/०८० मा उत्पादनमूलक उद्योग नौ, कृषि तथा वनजन्य उद्योग ५९, पर्यटन उद्योग १७, सेवामूलक २८ गरी ११३ उद्योग दर्ता भएका थिए । त्यस आर्थिक वर्षमा पनि उद्योग नवीकरण सङ्ख्या धेरै छ । जसमा २२६ उद्योग नवीकरण गरिएको छ, भने १३२ उद्योगको लगत कट्टा गरिएको छ ।
आव २०८०/०८१ मा उत्पादन मूलक उद्योग ११, कृषि तथा वनजन्य उद्योग २७, पर्यटन उद्योग १३, सेवामूलक उद्योग २२ गरी ७३ उद्योग वटा दर्ता भएको देखिन्छ । त्यस आर्थिक वर्षमा पनि नवीकरणको सङ्ख्या धेरै छ । २९५ उद्योगको नवीकरण गरिएको छ, भने १५९ उद्योगको लगत कट्टा गरिएको छ ।
आव २०८१/०८२ मा उत्पादन मूलक उद्योग १२, कृषि तथा वनजन्य उद्योग २०, पर्यटन उद्योग १०, सेवामूलक उद्योग १६ गरी ५८ उद्योग वटा दर्ता भएको देखिन्छ । त्यस आवमा पनि नवीकरणको सङ्ख्या धेरै छ । ४२४ उद्योगको नवीकरण गरिएको छ, भने २६२ उद्योगको लगत कट्टा गरिएको छ ।
आव २०८२/०८३ मा उत्पादन मूलक उद्योग १९, कृषि तथा वनजन्य उद्योग २०, पर्यटन उद्योग आठ, सेवामूलक उद्योग दश गरी ५७ उद्योग वटा दर्ता भएको देखिन्छ । त्यस आवमा पनि नवीकरणको सङ्ख्या धेरै छ । ३९६ उद्योगको नवीकरण गरिएको छ, भने १३९ उद्योगको लगत कट्टा गरिएको छ । स्थापनाकालदेखि हालसम्म यस कार्यालयबाट उद्योगतर्फ दर्ता पाँच हजार १७४ र खारेजी एक हजार ८७१ गरिएको छ ।
त्यसैगरी वाणिज्यतर्फ दर्ता पाँच हजार २११ र खारेजी दुई हजार १८३ गरिएको छ । निमित्त कार्यालय प्रमुख राजिव अर्यालका अनुसार स्थानीय तहमा दर्ता गर्न पाउने सुविधा, ऋण प्राप्तिको लागि दर्ता गरेका व्यवसायिक फर्म ऋण चुक्तापश्चात् बन्द गर्ने, युवाको व्यवसायमा लगाव नहुँदा वृद्ध बुबाआमाले व्यवसाय सञ्चालन गर्न नसकेर व्यवसायको लगत कट्टा गर्ने, व्यावसायिक गतिविधिमा कमीलगायतका कारणले दर्ता नवीकरण घट्नु तथा लगत कट्टाको प्रवृत्ति बढ्दो देखिन्छ ।
गतवर्ष यस कार्यालयले कुल ३५ लाख नौ हजार ९७० रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये अन्य प्रशासनिक सेवा शुल्क एक लाख ४० हजार १०० रुपियाँ र व्यवसाय रजिष्ट्रेशन दस्तुर ३३ लाख ६९ हजार ८७० रुपियाँ राजस्व सङ्कलन गरेको हो ।


प्रतिकृया दिनुहोस