• २४ श्रावण २०८३, आइतबार
  • १०:४४:०३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

उनले तीन दशकसम्म कुष्ठरोग लुकाउँदा...

बागलुङ ।  समाज र परिवारले हेला गर्ने डरले बागलुङकी एक महिलाले तीन दशकसम्म आफ्नो कुष्ठरोग लुकाएर राखिन्। रोगका कारण एउटा खुट्टा गुमाइसकेपछि पनि उनले आफ्नै परिवारसँग समेत पीडा लुकाइरहिन्। तर काटिएको खुट्टाको घाउ फेरि बल्झिएपछि मात्र उनको उपचार सुरु भयो। बागलुङ नगरपालिका–६ की ५७ वर्षीया ती महिलालाई २०५३ सालमै कुष्ठरोग देखिएको थियो।

रोगका कारण खुट्टामा गम्भीर समस्या आएपछि पोखरामा उपचारका क्रममा एउटा खुट्टा काट्नुपरेको थियो। त्यसपछि उनले नियमित जुत्ता लगाएर आफ्नो अवस्था लुकाउँदै आएकी थिइन्। तर तीन वर्षयता काटिएको खुट्टाको घाउ फेरि पाक्न थालेपछि समस्या जटिल बन्दै गयो। रोगबारे कसैलाई थाहा नहोस् भनेर सरसफाइमा समेत पर्याप्त ध्यान दिन नसक्दा अवस्था झन् बिग्रिएको थियो।

छोराबुहारीलाई समेत आफ्नो रोगबारे जानकारी नदिएकी उनले अन्ततः घाउबाट दुर्गन्ध आउन थालेपछि परिवार र छिमेकीले थाहा पाए। ‘मलाई हेलाहोचो गर्लान्, घरमै बस्न नदिए कहाँ जाने भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘पतिलाई मात्र थाहा थियो। समस्या नहोला भनेर लुकाएरै बसेँ। अहिले त लुकाएर बस्ने अवस्था रहेन।’ उनले रोगलाई ‘अघिल्लो जन्मको श्राप’ ठानेर पीडा सहँदै बसिरहेकी थिइन्।

अन्ततः उनका पतिले स्थानीय सामाजिक संस्थालाई जानकारी दिएपछि मात्रै उपचारको प्रक्रिया सुरु भएको हो। गत फागुनमा समस्या सार्वजनिक भएपछि फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनामार्फत उनलाई पोखराको हरियोखर्क अस्पताल लगेर उपचार सुरु गरिएको थियो।

नियमित औषधि सेवन र घाउको सरसफाइपछि अहिले संक्रमण नियन्त्रणमा आएको छ र घाउ पनि निको हुँदै गएको छ। उपचारकै क्रममा तीन महिना पोखरामा बस्दा गत वैशाखमा उनका श्रीमान्को निधन भयो। मजदुरी गरेर परिवार चलाउने श्रीमान् गुमाएपछि उनी अहिले थप आर्थिक समस्यामा परेकी छन्।

‘हामीले तत्कालका लागि खानेबस्ने व्यवस्था मिलाएका छौं,’ परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले भने, ‘उपचारका लागि पनि आर्थिक सहयोग गरिएको छ।’ पीडितले कृत्रिम खुट्टा पाए काम गरेर आफ्नो जीवन धान्न सक्ने आशा व्यक्त गरेकी छन्। ‘कृत्रिम खुट्टा भए काम गरेर पनि खान सक्थें,’ उनले भनिन्, ‘कसैले सहयोग गरिदिए हुन्थ्यो।’

प्रदेश जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार चालु आर्थिक वर्षमा बागलुङमा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन्। तीमध्ये निसीखोला गाउँपालिकामा तीन, बागलुङ नगरपालिकामा एक बालकसहित दुई, जैमिनी नगरपालिकामा एक र बडिगाड गाउँपालिकामा एक जना छन्। अघिल्ला दुई आर्थिक वर्षमा पनि ६–६ जना नयाँ बिरामी भेटिएका थिए।

घिमिरेका अनुसार सबै बिरामी नियमित औषधि सेवन गरिरहेका छन्। ‘यो रोग औषधि सुरु गरेको ७२ घण्टापछि अरूमा सर्दैन,’ उनले भने, ‘तर नियमित सरसफाइ र उपचार भने अनिवार्य छ।’ गत महिना बागलुङ नगरपालिका–७ कालीमाटीमा गरिएको स्क्रिनिङ शिविरमा थप चार जना शंकास्पद बिरामी भेटिएका छन्। उनीहरूको परीक्षण भइरहेको छ।

१७ वर्षीय एक किशोरमा कुष्ठरोग पुष्टि भएपछि दुई महिनादेखि नियमित औषधि सेवन गरिरहेको र अहिले उनी विद्यालय जान थालेको पौडेलले बताए। चिकित्सकको सल्लाहअनुसार उनलाई स्वास्थ्यचौकीमार्फत गोप्य रूपमा औषधि उपलब्ध गराइएको छ। स्वास्थ्यकर्मीका अनुसार बागलुङमा पछिल्लो समय कुष्ठरोगसहित अन्य उपेक्षित उष्णप्रदेशीय रोगका बिरामी पनि भेटिन थालेका छन्।

तर समाजमा अझै रहेको विभेद र डरका कारण धेरै बिरामी समयमै उपचारको पहुँचमा आउन नसक्दा रोग जटिल बनेपछि मात्रै पहिचान हुने गरेको उनीहरूको भनाइ छ। रोग लुकाएर उपचार नगरे घरपरिवार र नजिकको सम्पर्कमा रहेका व्यक्तिमा संक्रमण सर्ने जोखिम पनि रहने घिमिरेले बताए। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै