• २४ श्रावण २०८३, आइतबार
  • १०:४५:१३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

पर्यटकीय हब बन्दै चुङ्ग्री बुकी (चौंरिखर्क)

बागलुङ । समुद्री सतहबाट करिब ४ हजार २० मिटरभन्दा बढी उचाइमा फैलिएको विशाल पाटन चुङ्ग्री बुकी पछिल्लो समय बागलुङ र रुकुम क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–१ र बागलुङ जिल्लाको सीमाक्षेत्रमा फैलिएको यो मनोरम बुकीले प्रकृतिप्रेमी, पदयात्री तथा आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ ।

चार हजार मिटरभन्दा माथिको उचाइ, खुला घाँसे मैदान, रंगी विरगीं वनफुल, टाढासम्म फैलिएका हरिया पाटन, छिनछिनमै बदलिने मौसम र गर्मीयाममा समेत शीतल वातावरण हुने चुङ्ग्री बुकीका प्रमुख विशेषता हुन् । गर्मी छल्न चाहनेका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्दै गएको छ । बिहानको घाम, दिउँसो कुहिरो र बेलुकाको सुनौलो दृश्यले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको अनुपम सौन्दर्यमा रमाउन बाध्य बनाउँछ ।

सामाजिक सञ्जालमा देखेर बुटवलबाट घुम्न आएका १८ वर्षिय सुवाँस रिजाल भन्छन् फूल र यहाँको पाटनले सुन्दर थपेको र उच्च पहाडी हावाँले पनि मनोरन्जन दिने गरेको बताउनु भयो । “सामाजिक सञ्जालमा भिडियो देखर मलाई पनि यहाँ आउन मन लाग्यो यहाँ आउदा आनन्दा आयो पाटन भरी फूलेका फूलहरु घाँसे मैदान र गर्मीको समयमा पनि सित्तल हावाले मोहनी नै लगाए जस्तो भयो ”उहाँले भन्नु भयो ।

आजभन्दा करिब तीन वर्षअघिसम्म चुङ्ग्री बुकी धेरैको नजरबाट टाढा, गुमनाम गन्तव्य थियो । तर पछिल्ला वर्षहरूमा मध्यपहाडी लोकमार्गको पहुँच विस्तार, सामाजिक सञ्जालमा भएका प्रचारप्रसार तथा पर्यटकको सकारात्मक अनुभवसँगै यसको परिचय व्यापक बन्दै गएको छ । अहिले बिदाका दिन र विशेष अवसरमा यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ ।

यहाँ पुगेर फोटो खिच्ने टिकटक बनाउने,फूलसँग रमाउनेको लर्को लाग्ने गरेको छ । विशेष गरी सार्वजनिक विदा समयमा यहाँ पर्यटकको ओईरो नै लाग्ने गरेको छ । यद्यपि, बढ्दो आकर्षणसँगै यहाँका चुनौती पनि उत्तिकै छन् । चौंरिखर्क (चुङ्ग्री बुकी) सम्म पुग्ने सुरक्षित र व्यवस्थित पदमार्ग अझै निर्माण हुन सकेको छैन ।

भिरालो र साँघुरो बाटोका कारण गोठाला, स्थानीयवासी तथा पर्यटकले यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । वर्षायाममा बाटो चिप्लो हुने र कुहिरो लाग्ने भएकाले यात्रा थप कठिन बन्ने गरेको स्थानीय पर्यटन व्यवसायी दिलचन पुनको भनाई छ । बागलुङ र रुकुम पूर्वको सीमास्थित पातीहाल्ने बाट करिब डेढ घण्टाको पैदल यात्रापछि चुङ्ग्री बुकीको आधार शिविर पुग्न सकिन्छ ।

आधार शिविरमा पर्यटकका लागि सामान्य खानपान तथा बासको व्यवस्था गरिएको छ, जसले यहाँ पुग्ने आगन्तुकलाई केही सहजता प्रदान गरेको छ । यसलाई सञ्चालन गर्दै आउनुभएका भूमे गाउँपालिका–१ का दिलचन पुन चुङ्ग्री बुकीको पर्यटन प्रवद्र्धनमा सक्रिय रूपमा लागिपर्नुभएको छ ।

आफ्नै पहलमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै उहाँले यस क्षेत्रको सम्भावनालाई राष्ट्रिय स्तरसम्म चिनाउने प्रयास गरिरहनुभएको छ । उहाँका अनुसार पर्याप्त पूर्वाधार, सुरक्षित पदमार्ग, सूचना बोर्ड, सरसफाइ र प्रचारप्रसारमा सरकारी निकायको सहयोग प्राप्त भए चुङ्ग्री बुकी पश्चिम नेपालकै उत्कृष्ट उच्च हिमाली पर्यटकीय गन्तव्य बन्न सक्छ ।

“अनुसार चुङ्ग्री बुकीको पर्यटन विकासले होटल, होमस्टे, कृषि, पशुपालन तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा छ,ग्रामीण पर्यटनसँगै स्थानीय युवालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने सम्भावना पनि बढ्दै गएको छ ”उहाँले भन्नुभयो ।

प्राकृतिक सम्पदाको संरक्षणसँगै योजनाबद्ध पर्यटन पूर्वाधार निर्माण गर्न सकिए चुङ्ग्री बुकी केवल बागलुङ र रुकुम पूर्वको साझा गन्तव्य मात्र नभई गण्डकी र लुम्बिनी प्रदेश जोड्ने महत्वपूर्ण उच्च हिमाली पर्यटन केन्द्रका रूपमा स्थापित हुन सक्ने देखिन्छ । प्रकृतिको शान्त वातावरण, खुला पाटन र रोमाञ्चक पदयात्राको अनुभव खोज्नेहरूका लागि चुङ्ग्री बुकी अहिले नयाँ गन्तव्य बनेर उदाइरहेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै