• २४ श्रावण २०८३, आइतबार
  • १०:४२:३१

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बागलुङमा बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई कालोबजारी मुद्दा

बागलुङ । खाना पकाउने एलपी ग्यासको अभावको मौका छोपेर बजार मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीविरुद्ध जिल्ला प्रशासन कार्यालय बागलुङले कालोबजारी कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ। प्रशासनले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा गृहलक्ष्मी ग्यासका एक बिक्रेताविरुद्ध कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी गरेको हो।

प्रहरीले बागलुङ नगरपालिका–१ रामरेखामा बजार मूल्यभन्दा बढीमा ग्यास बिक्री भइरहेको अवस्थामा न्यु कपुर किचन कर्नरको ग्यास बोकेको सवारीसाधनसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बजारमा ग्यास सिलिन्डरको कृत्रिम अभाव देखाई चर्को मूल्यमा बिक्री भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले प्रहरीको सहयोगमा ग्यास डिपोमा अनुगमन, छापा तथा कालोबजारी गर्नेहरूमाथि निगरानी तीव्र पारेको छ।

यता ग्यास बिक्रेताले भने कालोबजारी नगरेको दाबी गर्दै केही नियमित उपभोक्तालाई होम डेलिभरी सेवा दिएको र त्यसबापत ढुवानी शुल्क मात्र लिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने तथा चर्को मूल्य असुल्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने बताउनुभयो।

उहाँले भन्नुभयो, “बागलुङमा सामान्य अवस्थामा मासिक चार हजार चार सय सिलिन्डर ग्यास आए पुग्थ्यो। अहिले त्योभन्दा बढी ग्यास आइरहेको अवस्थामा पनि व्यवसायीले अभाव देखाउन नछाडेपछि डिपोमा अनुगमन गरेका छौँ। कृत्रिम अभाव देखाएर उपभोक्तालाई अनावश्यक रूपमा चर्को मूल्य तिर्न बाध्य पार्नेलाई कसुरको प्रकृतिअनुसार कारबाही हुन्छ।”

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्रप्रसाद प्रसाईंका अनुसार अनुगमनका क्रममा ग्यास सिलिन्डर दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपियाँसम्ममा बिक्री गरेको, उपभोक्तालाई ‘ग्यास छैन’ भन्दै लाइनमा राख्ने तर गोप्य रूपमा आफन्तलाई आवश्यकताभन्दा बढी बिक्री गर्ने वा स्टक राख्न लगाउने कार्य भेटिएपछि कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी गरिएको हो।

एलपी ग्यास बिक्रेता र प्रशासनबीच भएको सहमतिअनुसार सदरमुकाम बागलुङ बजारमा प्रति सिलिन्डर दुई हजार एक सय ५० रुपियाँ, गलकोट क्षेत्रमा दुई हजार दुई सय ५० रुपियाँ र बुर्तिवाङ बजारमा दुई हजार तीन सय रुपियाँमा बिक्री गर्न पाइने व्यवस्था गरिएको छ। यसबाहेक सवारीसाधनमार्फत घरसम्म पुर्‍याउँदा लाग्ने ढुवानी शुल्क भने उपभोक्ताले बेहोर्नुपर्नेछ।

प्रहरीले अवैध रूपमा तथा कालोबजारी गरी बिक्री गर्न लागिएको अवस्थामा ४७ थान ग्यास सिलिन्डर बरामद गरेको छ। ती सिलिन्डर कानुनी प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित पक्षलाई फिर्ता गरिनेछ। यस विषयमा उद्योग वाणिज्य संघ, एलपी ग्यास बिक्रेता संघ र प्रशासनबीच छलफल भइरहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै