• २४ श्रावण २०८३, आइतबार
  • १०:४७:५९

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

गुल्मीमा ९७ प्रतिशत धान रोपाइँ

गुल्मी । जिल्लामा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको छ । विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको थियो । तर, पछिल्लो समय निरन्तर वर्षा भएसँगै यहाँका कृषकहरु निकै उत्साहित साथ धान रोपाइँमा लागेका छन् ।

यस जिल्लामा मङ्गलबारसम्म छ हजार ३४४ दशमलव ७७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार गुल्मीमा कुल ४७ हजार २८५ हेक्टर खेतीयोग्य जमिनमध्ये छ हजार ५४१ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ ।

अधिकांश किसानहरुले खेतमा रोपेको मकै र चैते धान भित्र्याएपछि वर्षे धान रोप्ने गर्दछन् । साउन महिनाको सुरुवातसँगै पानीका मुहानहरु फुटेपछि यहाँका किसानहरु धान रोप्न निकै व्यस्त देखिएका छन् । विगतको तुलनामा अहिले रोपाइँको प्रतिशत बढेपनि धान उत्पादन हुने क्षेत्रफल घट्ने अनुमान गरिएको छ ।

जनशक्तिको अभाव, बढ्दो बसाइँसराइँ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला, भनेको समयमा कामदार नपाउनुलगायतका कारण धान रोपाइँको क्षेत्रफल घट्नेछ । आव २०८०/०८१ मा यस जिल्लामा सात हजार १२० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिकटन धान उत्पादन भएको थियो ।

त्यस वर्ष ३१९ हेक्टर क्षेत्रफलमा चैते धान रापाइँ हुँदा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसैगरी आव २०८१–०८२ मा छ हजार ९६९ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदा २४ हजार ४३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यस वर्ष १८० हेक्टर क्षेत्रफलमा चैते धान रापाइँ हुँदा ७२४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्राप्त तथ्याङ्क अनुसार यस जिल्लामा प्रत्येक वर्ष चैते धान उत्पादनको क्षेत्रफल पनि घट्दै गएको छ । १५४ हेक्टर यस वर्ष चैते धान लगाइएको छ । यो वर्ष चैते धान ६२१ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । चैते धानको रुपमा यस जिल्लामा स्थानीय मार्सी, सिएच ४५ चैते, हर्दिनाथ ६ रोपिन्छ। हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस ३१२ रोपिन्छ ।

यस जिल्लामा विशेषगरी स्थानीय हंसराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान रोपिन्छ । त्यसैगरी उन्नत जातका सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

कम उत्पादन दिने भएता पनि उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने भन्दै किसानको रोजाइमा ती धान पर्छन् । कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैँले यी बिउँलाई निरन्तरता दिइरहेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्गखैरेनी, साहाघाट, च्यामीफाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुर, मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौंडा, भुवाचिदि, वामीटक्सार, पौदी अरेवा, भर्माचौरलगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी, अर्जेबेंसीमा रोपाइँ गरिन्छ ।

त्यस्तै, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इश्मा गाउँपालिकाको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती, गुल्मीदरबार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरुक्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेंसी, छम्दीमा धान रोपाइँ गरिने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै