• २ भदौ २०८३, मंगलबार
  • १९:०६:१६

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

बागलुङका हर्कमान : करेन्टले खोसेका हात, पौडीले दिएको पहिचान

pic-Routine of Nepal banda

काठमाडौं। पौडी खेल्न पानी चाहिन्छ। तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्रै पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। नेपालका पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्।

सीमित स्रोत, कठिन परिस्थिति र पर्याप्त पूर्वाधारको अभावलाई चुनौती दिँदै उनीहरू आगामी पारा एसियाली खेलकुदमा नयाँ इतिहास बनाउने तयारीमा छन्। सन् २०१० देखि नेपाल पारा एसियाली खेलकुदमा सहभागी हुँदै आएको छ। तर, यस प्रतियोगितामा नेपालको उपलब्धि निकै सीमित छ।

हालसम्म तेक्वान्दोकी पलेशा गोवर्धनले सन् २०२३ मा भएको १९औँ पारा एसियाली खेलकुदमा ५६ केजीमुनि तौल समूहमा जितेको कांस्य पदक नै नेपालको एक मात्र पदक हो।अब भने नेपाली पारा पौडी टोली त्यस इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित तयारीमा छ। 

बागलुङका २१ वर्षीय हर्कमान घर्तीको कथा संघर्षबाटै बनेको छ। ११ वर्षअघि उनको गाउँमा पहिलोपटक बिजुली पुगेको थियो। त्यही क्रममा मेन इन्सुलेटर समात्दा उनलाई करेन्ट लाग्यो। दुर्घटनामा उनले दुवै हात गुमाए। तर, शारीरिक क्षतिले उनको खेलप्रतिको इच्छाशक्ति रोक्न सकेन। हर्कमान पछिल्लो छ वर्षदेखि घरेलु खेलकुदमा सक्रिय छन्।

पौडीसँगै उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य बनाएका छन्। एक वर्षअघि उनले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्ससमेत बनाएका थिए। तर, प्रशिक्षणका क्रममा आवश्यक पर्ने ज्याकुजी, फिजियोथेरापी र रिकभरीका सुविधाको अभाव उनले अहिले पनि महसुस गरिरहेका छन्। त्यसैले आगामी प्रतियोगितामा पदकको शतप्रतिशत ग्यारेन्टी गर्न नसकिने उनी बताउँछन्।

तर, उनको सपना पदकमा मात्र सीमित छैन। आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपमा सहभागी हुन आवश्यक समय तथा क्वालिफिकेसन पूरा गर्ने लक्ष्य उनले बनाएका छन्। त्यसका लागि अहिलेको प्रतियोगितालाई आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। दुवै हात गुमाएका हर्कमानका लागि पौडी केवल प्रतिस्पर्धा होइन, आफूलाई संसारसामु चिनाउने माध्यम बनेको छ।

पारा पौडी संघको आयोजनामा मुख्य प्रशिक्षक सुवास श्रेष्ठले चार खेलाडीलाई नियमित प्रशिक्षण दिइरहेका छन्। टोलीमा सृजना सार्की, जेनिशा कठायत, हर्कमान घर्ती र मेम्बर सिङ्गी स्याङ्बो छन्। पछिल्लो पाँच–छ महिनादेखि खेलाडीहरूले नियमित प्रशिक्षण गरिरहेका छन्। प्रशिक्षक श्रेष्ठका अनुसार अभ्यासमा खेलाडीहरूको मेहनत राम्रो छ।

तर, स्रोत र साधनको अभावले तयारीलाई अपेक्षित स्तरमा लैजान चुनौती थपेको छ। प्रशिक्षणका लागि स्विमिङ पुलको व्यवस्थापन नै ठूलो चुनौती बन्ने गरेको थियो। रिफ्रेस रिक्रिएसन सेन्टरले स्विमिङ पुल र लेन सहुलियत दरमा उपलब्ध गराएपछि भने प्रशिक्षणमा केही सहजता आएको छ। तर, प्रशिक्षणस्थलमा मात्र समस्या छैन।

पारा खेलाडीलाई आवश्यक पर्ने फिजियोथेरापी, रिकभरी, ज्याकुजी, पोषण, यातायात तथा अन्य खेल सामग्रीको व्यवस्थापन पनि चुनौतीकै रूपमा रहेको छ। प्रशिक्षक श्रेष्ठका लागि सबैभन्दा ठूलो चिन्ता भनेको सीमित स्रोतका बीच खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्नु हो।

उनीहरूमा प्रतिभा र मेहनत भए पनि पर्याप्त सुविधा नहुँदा क्षमताअनुसारको तयारी गर्न कठिन भइरहेको छ। तर, यही कठिन परिस्थितिमा खेलाडीहरूको आत्मविश्वास र मेहनतले टोलीलाई अघि बढाइरहेको छ। नेपाल न्युज  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै