• २ भदौ २०८३, मंगलबार
  • १९:०८:१४

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

नागरिकको स्वास्थ्यमा मुसिकोट निःशुल्क रगत, घरदैलोमा एआई एक्स-रे देखि पोषण भत्तासम्म

क्षयरोग पहिचान शिविरमा क्षयराेग परिक्षणका लागि एक्स-रे गर्दै स्वास्थ्यकर्मी

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ मा नागरिकलाई सर्वसुलभ र आधुनिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउन प्रविधि प्रयोगदेखि प्रत्यक्ष आर्थिक सहायतासम्मका काम गरेको छ। पालिकाले नागरिकको जीवन रक्षाका लागि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र रुपन्देहीसँग सम्झौता गरी मुसिकोट बासिलाई पूर्ण निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

गर्भवती तथा सुत्केरीकालागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको मुसिकोटले ‘गर्भवतीसँग उपप्रमुख’ कार्यक्रममार्फत ४ पटक गर्भ जाँच गरी स्थानीय बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई प्रोत्साहन स्वरूप ५ हजार पोषण खर्च र निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने गरेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमले जानकारी दिए ।

नियमित स्वास्थ्य जाँचलाई बढावा दिन २४ पटक वृद्धि अनुगमन पूरा गर्ने बालबालिकालाई पोषण र सरसफाइ सामग्री पनि प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । विपन्न क्षयरोगीलाई उपचार अवधिभर ६ महिना मासिक ३ हजार बराबरको पोषण सामग्री उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिए । 

स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै नगरपालिकाले एआईमा आधारित एकीकृत एक्स–रे मेसिनमार्फत क्षयरोग पहिचान शिविर र भिडियो एक्स–रे मार्फत गर्भवतीको घरदैलोमै जाँच सेवा पनि पालिकाले गत वर्ष गरेको छ । मोतियाबिन्दुको शल्यक्रिया गराएका बिरामीलाई ७ हजार आर्थिक सहयोग, अति विपन्नलाई उपचारका लागि यातायात तथा औषधि सहायता पनि गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

‘हाम्रो जीवन प्लस अस्पताल’को सहकार्यमा एचआईभी संक्रमितहरूलाई ART सेन्टरसम्म आवतजावत खर्चको व्यवस्था तथा स्वास्थ्य व्यवस्थापनलाई पारदर्शी र प्रविधिमैत्री बनाउन नगरका सबै स्वास्थ्य संस्थालाई EHMIS प्रणालीमा आबद्ध गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमले बताए । उनका अनुशार सर्वसुलभ औषधिको लागि नगरपालिकाको आफ्नै फार्मेसी पनि वामीटक्सारमा संचालन गरेको छ ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेलले पालिकाले भौतिक उपचारका साथै स्वास्थ्य जनचेतनामा पनि जोड दिएको बताए । विद्यालयहरूमा योग शिक्षा सञ्चालन, अस्वस्थकर खाना निषेध गर्ने, मावि विद्यालयमा भित्तेलेखन अभियान र बालविवाह रोकथामका लागि सडक नाटक समेत आयोजना गरिएको उनले बताए । 

“नगरका कुनै पनि नागरिक आर्थिक अभावको कमीले उपचारबाट वञ्चित हुनु नपरोस भन्ने हाम्रो उद्देश्य हो । प्रविधिको प्रयोग र प्रत्यक्ष राहत कार्यक्रममार्फत हामीले गाउँगाउँमै नगर सरकारको उपस्थिति महसुस गराउने प्रयास गरेका छौँ । ” नगर प्रमुख खरेलले भने । 

यसैविच आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्थालाई पनि पालिकाले सम्मान गरेको छ । जसमा वडागाउ स्वास्थ्य चौकी मुसिकोट ३ प्रथम, आपचौर स्वास्थ्य चौकी मुसिकोट ५ द्धितिय र पौदीअमराइ स्वास्थ्य चौकी मुसिकोट १ तृतिय भएका छन । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै