ढाेरपाटनका घोडा व्यवसायीका दिन फेरिए
बागलुङ । फरक विश्व जस्तो लाग्ने नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । ढोरपाटनमा पर्यटन प्रवर्धन बढेपछि अब घोडा व्यवसायीका दिन फिरेका छन् । हेलिकोप्टर चार्टर गरी सिकार खेल्न विदेशी पुग्ने ढोरपाटन सडक सञ्जालले जोडिएपछि बाह्रैमास पर्यटकको लर्काे लाग्न थालेको छ ।
हिजो सामग्री ढुवानीको मुख्य साधन बनेका घोडा, खच्चड विस्थापित हुँदा यहाँका व्यवसायी लाखौँ लगानी डुबेकोमा निराश थिए । सडक बनेपछि सवारीसाधनमार्फत अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटन उपत्यकाका घर घरमै खाद्यान्न पुग्न थालेको छ । स्थानीय सरकार गठनपछि ढोरपाटनलाई सडक सञ्जालसँग जोड्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसारको काम हुन थालेपछि पर्यटकको आगमन बढ्न थाल्यो ।
नाउर सिकारका लागि विदेशी पर्यटकको रोजाइमा पर्ने ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेपछि घोडा व्यवसायीको दैनिकी पनि फेरिएको छ । पहिले ढोरपाटनमा प्रशस्त उत्पादन हुने आलु र उवा ढुवानीका लागि मात्र घोडा सीमित थिए तर अहिले ती घोडा पर्यटकलाई उपत्यका र बुकीपाटनको सयर गराउन व्यस्त छन् ।
पर्यटकले रमाइलो गर्न घोडा चढेर फोटो खिच्ने, टिकटक बनाउन र बुकीपाटनसम्म घुम्ने चाहना राख्दा घोडचढी व्यवसाय मनग्गे आम्दानीको स्रोत बनेको हो । ढोरपाटन नगरपालिका–९ का ५१ वर्षीय भूमिराज विक ढोरपाटन घुम्न आउने पर्यटकलाई घोडामा सवार गराएर घरपरिवारको जीविपार्जन गर्न सहज भएको बताउनुहुन्छ ।
१९ वर्ष खाडी र भारतका विभिन्न सहरमा रोजगारी गर्दा पनि पैसा जोड्न नसकेका विक घोडचढी पेसाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बर्सौं विदेशमा गरेको दुःखभन्दा घोडचढीको काम धेरै सहज छ ।” घोडचढी पेसाले गाउँमै रमाउने बहाना बनाएको उहाँको भनाइ छ ।
“बर्सौं विदेशमा बसेर कमाएको घर फर्कंदा केही बचेन, बरु घरपरिवारसँगै बसेर घोडचढीको काम गर्दा खेतीपातीसँगै व्यवसाय पनि चलेको छ,” उहाँले भन्नुभयो । ढोरपाटन उपत्यकामा घोडा चढाएर पाहुना घुमाउने क्रममा उपल्लो क्षेत्र बुकी, गार्पा, निसेलढोर, जलजला र टीकाधारासम्म जाने पर्यटकले घोडा रोज्ने गरेको विकले बताउनुभयो ।
बुकीक्षेत्र पुग्न सबैले पैदल यात्रा गर्न नसक्ने हुँदा घोडाको माग बढेको उहाँको भनाइ छ । चार हजार मिटरदेखि माथि कतिपयलाई लेक लाग्ने भएकाले घोडाको सवारीबाट अधिकांश पाहुना बुकी जाने गर्छन् । बुकीपाटन पुगेको घोडचढीले चार हजार पाँच सय रुपियाँ भाडा निर्धारण गरेका छन् । उपत्यकावरिपरि घुम्न एक हजार रुपियाँ लाग्छ । निसेलढोर जानु पर्दा एक हजार पाँच सय लाग्छ ।
“पर्यटकले चाहेको स्थानमा लगिदिने र फोटो भिडियो खिचिदिने गर्छौ,” ढोरपाटन घोडचढी व्यवसायी सङ्घकी कोषाध्यक्ष आशा विकले भन्नुभयो । ढोरपाटनका ५० जनाभन्दा बढी घोडाचढीले समूह बनाएर आठ वर्षअघि नगरपालिकामा संस्था दर्ता गराएका छन् । बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक खुलेपछि पाटनकेन्द्रित पर्यटकका लागि समूहले काम गर्न थालेको विकले बताउनुभयो ।
पर्यटक घुमाउने गरी ५० घोडा नगरपालिकामा सूचीकृत छन् । वार्षिक पाँच सय रुपियाँ कर तिरेपछि सदस्यता अद्यावधिक हुने विकले बताउनुभयो ।


प्रतिकृया दिनुहोस