• २ भदौ २०८३, मंगलबार
  • १९:०६:५२

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

निसीखोलामा लक्ष्य बढी राजस्व संकलन

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । निसीखोला गाउँपालिकाले गत आर्थिक वर्षमा ७४ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८७ लाख ६१ हजार दुई सय २९ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन पुनमगरले बताए ।

‘हामीले लक्ष्यभन्दा १८.४ प्रतिशत बढी राजस्व संकलन सफल भएका छौं । त्यसकारणले यस वर्ष हामीले राजस्व संकलनको लक्ष्य पनि बढाएका छौं आगमी वर्षका लागि ९० लाख राजस्व संकलन गर्ने हाम्रो लक्ष्य रहेको छ,’ उनले भने । गाउँपालिकाबाट गत आर्थिक वर्षमा २८ लाख ४९ हजार दुइ सय ३७ रुपैयाँ राजस्व संकलन भएको छ । बाँकी वडागत रुपमा संकलन भएका छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कुल ८६.२५ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ । पुँजीगत खर्चतर्फ ७८.८ प्रतिशत बजेट खर्च गर्न सफल भएको र यो पनि जिल्लामा राम्रो पुँजीगत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा १४ योजना टेन्डर मार्फत काम गरेकोमा १३ वटा योजना सम्पन्न भएका छन् ।

एउटा भेडाको पाठा खरिद गर्ने योजनामा पटक पटक इबिडिङ गर्दा कसैले पनि टेन्डर नहालेका कारण काम नभएको उनले बताए । उपभोक्ता समितिबाट १६२ योजनामध्ये १५६ योजना सम्पन्न भएका छन् । वडा नम्बर १ र ७ मा विनीयोजन भएको योजना सबै कार्यान्वयन भएका छन् । वडा नम्बर २ मा दुई वटा र अन्य वडामा एक एक वटा योजना कार्यान्वयन हुन नसकेको उनले बताए ।

निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाइको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत पुनले पछिल्लो समय आफुले बेरुजु घटाउने कार्यलाई प्राथमिकता दिएको समेत बताए । ‘पछिललो समयमा बेरुजु घटाउनका लागि विभिन्न उपायहरु अबलम्बन गरेका छौं,’ उनले भने,‘विगतका तुलनामा बेरुजु कम हुँदै गएको छ ।’

निसीखोला गाउँपालिकाको आयोजना र जीवन्त मिडिया प्रालीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले विभिन्न गुसो राखेका थिए । टंकप्रसाद शर्माले गाउँपालिका भित्रका सम्पादन हुने कामहरुको पारदर्शिता सार्वजनिक हुनुपर्ने, आधारभूत अस्पतालको भवन सञ्चालन हुनपर्ने, विद्यालयमा योग्यता अनुसारको प्रधानाध्यापक नियुक्त हुनुपर्ने, मोटरेवल पुल निर्माण हुुनुपर्ने ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएको, बाँद र दुम्सीबाट खेतीबाली जोगाउन हेरालो राख्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

गण्डकी प्रदेश सभामा पूव सदस्य खिमविक्रम शाहीले गाउँ शिक्षा समितिले महिनौं लगाएर विद्यालय अनुगमन गरेपछिको प्रतिवेदन कार्यान्वयन नभएको, गाउँपालिकाको नीति कार्यक्रमबाट प्रत्येक वडामा गौरवका योजना निर्माण गर्ने भनिएकोमा कतिपय वडाहरुमा गौरवका योजना नदेखिएको, विद्यालय कर्मचारीलाई प्रक्रिया नपु¥याई हटार नयाँ नियुक्त गरिएको, फोहोर व्यवस्थापनमा ध्यान नदिएको, बजार अनुगमन नभएको विषयमा ध्यानाकर्षण गराएका थिए । स्थानीय नागरिकले ठाउँ ठाउँमा सार्वजनिक जग्गा मिचिएको, सार्वजनिक सुनुवाईमा दिइएको सुझाव कार्यान्वयन नभएको विषयमा प्रश्न राखेका थिए ।

प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले गाउँपालिकाको समग्र विकासका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । ‘विगतको तुलनामा धेरै काम भएको छ, ठाउँ ठाउँमा स्वास्थ्य संस्थाहरु स्थापना गरेका छौं, मोटरबाटो निर्माण भएको छ,’ उनले भने,‘ काम नै नभएको भन्ने होईन । गाउँपालिकाको समग्र विकासका लागि सबैले हातेमालो गर्नुपर्छ ।’

आलोचना भन्दा रचनात्मक रुपमा सहयोग गर्न उनले आग्रह गरे । कानुन भन्दा माथि कोही नभएको भन्दै को कस्ले जग्गा मिचेको हो भन्ने स्पष्ट जानकारी सहित आएमा आफुहरुले कारबाही प्रक्रिया अगाडि बढाउने समेत बताए । शिक्षा समितिको प्रतिवेदन कार्यान्वयनको विषयमा थप छलफल आवश्यक देखिएकाले यो शैक्षिक शत्रबाट लागु गर्न नसकिएको उनी बताउँछन् ।

गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीले आन्तरिक स्रोत कम हुँदा सोचे अनुसार विकास गर्न नसकिएको बताए । ‘व्यवसायी नागरिकलाई कर तिर्नुस् भन्दा नागरिकलाई कर लगाउने भनेर कराउनुहुन्छ, विकासका लागि यहाँ बजेट चाहियो भन्नुहुन्छ, हामीले कहाँबाट लिएर दिने ?,’ उपाध्यक्ष घर्ती भन्छन्,‘ नागरिकले पनि स्थानीय सरकारलाई सहयोग गर्नुप¥यो । राजस्व तिर्नुप¥यो करको दायरामा आउनुप¥यो ।’

बजार अनुगमन लगायतका कार्यलाई प्रभावकारी बनाउने उनले प्रतिवद्धता जनाए । विषयगत रुपमा उठेका प्रश्नहरुको शाखा प्रमुखहरुले जवाफ दिएका थिए । निसीखोला गाउँपालिका सुशासन समितिका संयोजक सबराज छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार विजय रानाले टिप्पणी गरेका थिए । पत्रकार सिर्जना पन्तले नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन र खेमराज गौतम सुवासले सार्वजनिक सुनुवाई आचारसंहिता प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण पत्रकार संगम घर्तीमगरले गरेका थिए ।-आदर्श सञ्चार

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै