• २ भदौ २०८३, मंगलबार
  • १९:०६:१६

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

निर्माण कम्पनीकाे ढिलासुस्तीले जैमिनीका दुई सडक अलपत्र

बागलुङ । मिलनसार कन्सट्रक्सनले बागलुङको जैमिनीका दुई सडक स्तरोन्नतिका काममा ढिलाई गर्दा नागरिकले सास्ती भोग्न बाध्य भएका छन् । जैमिनी नगरपालिका वडा न. ७ जैदी न्वारदेखि धुल्लुसम्मको सडक स्तरोन्नतिको काममा ढिलाई गर्दा नागरिकले सास्ती भोग्न बाध्य भएका छन् । स्थानीय मिम बहादुर रानाले कम्पनीले काममा ढिलाई गर्दा आवातजावतमा समस्या भएको बताए ।

‘बर्खाको समयमा झन बाटो बिगारिदिएको छ, ढलानकोलागि रड बिच्छाएपछि सवार आवतजावतमा सास्ती भएको छ ।’ उनले भने–‘कम्पनीले समयमै काम नगर्दा यस क्षेत्रमा आवतजावत गर्न समस्या भएको छ ।’ गण्डकी प्रदेश सरकार र जैमिनी नगरपालिकाको १ करोड २० लाख रुपैयाँ लागतमा स्तरोन्नति गर्ने सम्झौता भएको थियो । २०८२ पौष ६ गते सम्झौता भए बमोजिम यो सडकको स्तरोन्नति असार १० गते सक्नु पर्ने थियो ।

निर्माण कम्पनीले काममा ढिलाई गर्दा अझै स्तरोन्नति हुन सकेको छैन । जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले हालसम्म करिब १८ प्रतिशत मात्र काम गरेको बताए । ‘कामको प्रगति निकै न्यून छ, अघिल्लै आर्थिक बर्षमा सकिनु पर्ने हो अझै सकिएको छैन ।’ उनले भने–‘हामीले पटक–पटक ताकेता गर्दापनि निर्माण कम्पनीले काममा ढिलाई गरिरहेको बताए ।’

निर्माण कम्पनीले जैमिनीमा अर्को सडक स्तरोन्नतिको काममापनि उस्तै ढिलासुस्ती गरेको बताए । जैमिनी नगरपालिका–१ कुश्मीसेरा हुँदै सर्कुवा–ब्याडथलासम्मको सडक स्तरोन्नतिको काममा ढिलाई गरिहेको उनको भनाई छ । ‘यो सडकपनि असार १० गते भित्रै सक्नु पर्ने थियो तर अझै सकेको छैन, हामीले ताकेता गरिरहेका छौँ ।’

उनले भने–‘निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नहुँदा बर्खाको समयमा यातायातमा असहज भएको छ ।’ निर्माण कम्पनीले यस सडक स्तरोन्नतिकोलागि २०८२ पौष ६ गते सम्झौता गरेको थियो । ६ महिनाभित्र सक्ने गरि सम्झौता गरिएपनि कामको प्रगति जम्मा ३० प्रतिशत रहेको छ । ‘यो सडक स्तरोन्नतिको काम पहिल्यै सक्नु पर्ने थियो अझै सकिएको छैन ।

कामको प्रगतिपनि निकै न्यून छ ।’ उनले भने–‘हालसम्मको प्रगति जम्मा ३० प्रतिशत जति छ ।’ यो सडक स्तरोन्नतिकोलागि १ करोड ८८ लाख रुपैयाँमा सम्झौता भएको थियो । यसबारेमा निर्माण कम्पनीका रविन जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै