बागलुङमा ९२ प्रतिशत धान रोपाइँ
बागलुङ । जिल्लामा साउन महिनाको अन्तिमसम्म ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अधिकांश स्थानमा आकाशे पानीका भरमा खेती गर्दै आएका किसानले पर्याप्त मात्रामा वर्षा नहुँदा पूर्ण रूपमा धान रोप्न पाएका छैनन्। प्रत्येक वर्ष साउनको पहिलो सातासम्म रोपाइँ सकिने गरे पनि यस वर्ष पर्याप्त वर्षा नभएका कारण ढिलाइ भएको हो।
मनसुनमा ढिलाइ हुनुका साथै रोपाइँका लागि आवश्यक पानीका मूल फुट्ने गरी वर्षा नहुँदा समस्या भएको मालिकाका किसान नारायणप्रसाद सापकोटाले बताउनुभयो। नियमित वर्षा नहुँदा साउन पहिलो साता नै रोपिने खेतमा यसपालि ढिलाइ भएको र यसले उत्पादन घट्ने हो कि भन्ने चिन्ता बढाएको उहाँको भनाइ छ।
जिल्लामा हालसम्म ९२ प्रतिशत रोपाइँ भए पनि सिँचाइ सुविधा अभावका कारण आठ प्रतिशत किसानले अझै धान रोप्न सकेका छैनन्। यद्यपि भदौ पहिलो सातासम्ममा जिल्लाभर रोपाइँ सकिने कृषि ज्ञान केन्द्र बागलुङका निमित्त प्रमुख कुमार पुनले बताउनुभयो। निमित्त प्रमुख पुनका अनुसार बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही भागमा अझै रोपाइँ बाँकी छ।
रोपाइँमा ढिलाइ भए पनि उन्नत जातको बीउ प्रयोग गरिएकाले उत्पादनमा भने खासै कमी नआउने कार्यालयको दाबी छ। यहाँका किसानले स्थानीय जातका साथै यूएस ३१२ र शङ्कर जातका उन्नत धान रोप्ने गरेका छन्।
बागलुङमा कुल ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा पाँच हजार सात सय १० हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुँदै आएको छ। जिल्लामा वार्षिक करिब २० हजार सात सय मेट्रिक टन धान उत्पादन हुने गरेको छ।


प्रतिकृया दिनुहोस